२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कस्तुरीको विनासहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय हुम्लाले कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको छ।

सदरमुकाम सिमिकोटबाट कन्जोक तामाङलाई कस्तुरीको बिनासहित पक्राउ गरिएको प्रहरीले जनाएको हो।

डिएसपी रविन्ख्र खनालले विशेष सुराकीका आधारमा मंगलबार बेलुका कस्तुरीको विनासहित तामाङलाई पक्राउ गरिएको बताए। ‘सुराकीका आधारमा तामाङ बस्ने घर खानतलासी गर्दा अठार वटा बिना बरामद गरेका छौँ,’ उनले भने, ‘विनासँगै तामाङलाई पनि पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौँ।’ तामाङले कस्तुरीको विना भारतको राजधानी दिल्लीबाट ल्याएको बयान दिएका छन्।

प्रहरीका अनुसार तामाङ असार २७ गते भारतको दिल्ली हुँदै साउन एक गते सदरमुकाम सिमिकोट पुगेका थिए। ‘सात लाख भारतीय रुपैयाँमा दिल्लीमा खरिद गरेको बयान दिएका छन्,’ उनले भने, ‘भारतबाट खरिद गरेको भनिएको विना चीनमा विक्री गर्ने योजना बनाएको पनि खुलेको छ।’

पक्राउ परेका तामाङले भारतबाट ल्याइएको विना चीनको ताक्लाकोटमा बिक्री गर्ने योजना बनाएका थिए। ताक्लाकोटमा एक ग्राम बिना ४० हजारदेखि ४५ हजार नेपाली रुपैयाँमा बिक्री हुन्छ। तामाङ नाम्खा गाउँपालिका–२ केर्मीका स्थायी बासिन्दा हुन्। प्रहरीले कस्तुरीको विनासँगै दुई थान मोबाइल, झोला, एटिएम कार्ड, राहदानी, नागरिकता, तराजुलगायत पनि बरामद गरेको छ।

प्रकाशित: ३ श्रावण २०८१ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App