२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

धराप थापेजस्ता छन् कालीकोटका झोलुंगे पुल

कर्णालीका जीर्ण झोलुंगे पुल र जीर्ण पुलमा अड्किएका खच्चड। तस्बिर: ललित/नागरिक

अछामको पञ्चदेवल विनायक-५ र दैलेखको आठबिस नगरपालिका– ४ जोड्ने खिड्कीजिउलास्थित कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातिरको लठ्ठा चुडिँदा १४ वटा खच्चड पुलमै अड्किए।

पुलबाट खच्चडको उद्धार गर्न पाँच घन्टा समय लाग्यो। स्थानीय जोरे रोकामगर र राजेन्द्र बोहोराका १४ मध्ये दुई खच्चड उद्धारका क्रममा मरे भने १२ वटा घाइते खच्चडलाई कर्णाली नदीमा खसालेर बचाइयो।

खच्चड धनी राजेन्द्रले पुलका लट्ठा खिया लागेर जोखिम निम्तिएको बताए। ‘२१ वर्ष पुरानो जीर्ण पुल मर्मतमा न त स्थानीय सरकारले ध्यान दिए, न संघीय सरकारकै आँखा गयो। पुलका लट्ठा खिया लागेर जोखिमपूर्ण अवस्थामा छन्’, उनले भने, ‘एकैपटक धेरै तौलका खच्चडलाई सँगै पुलमा हिडाउँदा दुर्घटना हुन गयो।’

कालीकोटको तिला नदीमाथिको राराघाट झोलुंगे पुलमा स्थानीय जग दमाईको भैंसीको खुट्टा छिर्दा भाँचियो। ७५ हजारमा खरिद गरेर ल्याएको भैंसीको खुट्टा भाँचिएपछि तीन महिनासम्म नदी किनारामा बाँधेर खुट्टा टेक्न मिल्ने भएपछि घर ल्याएको जग दमाईंको गुनासो छ।

२०५८ को संकटकालमा मान्मबाट गएको सेनाको गस्ती टोलीले गाउँँमा दुःख दिएको बताउँदै माओवादीले रसायन प्रयोग गरी काटेर क्षतिग्रस्त बनाएको राराघाट झोलुंगे पुल २०६२/०६३ को जनआन्दोलनपछि दलीय भागबन्डाअनुसार बनेको उपभोक्ता समितिले नयाँ पुल निर्माणको जिम्मा लिए पनि गतिलो नबन्दा राराघाट पुल जीर्ण छ।

त्यतिबेलै लठ्ठा नपुगेर बीचमा गाँसेर पुल बनाइएको हो। शुभकालिका-४ का कर्णप्रसाद चौलागाईंले भने, ‘पुल निकै जीर्ण छ, जतिखेर पनि चुडिँने अवस्थामा छ।’

सदरमुकाम मान्मबाट सुर्खेत, दैलेख जाने मुख्य पैदलमार्गबाट राराघाट पुल तरेर जानुपथ्र्यो भने यो पुल बनेयता शुभकालिका र खाँडाचक्रका बासिन्दा ओहोरदोहोर गर्छन्। खिड्कीजिउला र राराघाट मात्र होइन, कर्णाली र तिला नदीसहितका आसपासका खोलामा बनेका वर्षौं पुराना झोलुंगे पुल मर्मतसम्भारमा ध्यान नपुग्दा स्थानीयले जोखिमपूर्ण रूपमा दैनिकी चलाइरहेका छन्।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले नदी र खोलामा बनाइएका झोलुंगे पुलभन्दा सडक पुलमा बढी जोड दिएकाले पनि झोलुंगे पुलको नियमित मर्मतसम्भार हुन नसकेको पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताए।

‘झोलुंगे पुल मर्मत–सम्भारसहितको काम स्थानीय तहले गर्ने भन्ने कार्यविधि छ’, उनले भने, ‘त्यसतर्फ ध्यान दिइएको पाइँदैन।’ उनले २०७९ मा बाढीले हानेर जीर्ण भएको जितेगडाको पुल पूर्वाधार कार्यालयले २० लाख खर्च गरेर मर्मत गरे पनि अन्य पुलको अवस्थाबारे पनि कार्यालयमा रेकर्ड नभएको सुनाए। जितेगडाको पुलमा ६ महिनासम्म स्थानीयले पुलको बीचमा काठको भर्‍याङ जोडेर आवतजावत गर्ने बनाएका थिए।

पूर्वाधार विकास कार्यालयमा पुराना बनेका पुलको तथ्यांक नभए पनि यस वर्ष पलाँता, तिलागुफाको भैंसेगौंडा, नरहरिनाथको बड्डाखोला र पचालझरनाको भुराबगरमा गरी चारवटा नयाँ पुल निर्माण भइरहेका छन्।

झोलुंगे पुलको लागत ठाउँअनुसार फरक हुने भए पनि प्रतिमिटर ५० हजारदेखि एक लाख २० हजारका दरले लम्बाइ र लोकेसनअनुसार खर्च हुने गरेको छ। माओवादीले शाही नेपाली सेना गाउँ आएर दुःख दिन्छ भनेर काटेर क्षतिग्रस्त बनाएका तिलानदीका राराघाट, सेरिघाट, कर्णाली नदीका रेगिंल, लालीघाट, भात्तडी र जारकोटसहितका ६ वटा झोलुंगे पुल २०६४/०६५ मा निर्माण भए पनि निर्माण भएको १५ वर्षयता लठ्ठामा लागेको खिया हटाउने, मर्मत–सम्भार गर्ने काम नभएकाले सबै जीर्ण रहेको खाँडाचक्र नगरपालिकाका इन्जिनियर कम्मरबहादुर बमले बताए।

उनका अनुसार कालीकोटका तिला, कर्णाली नदीसहित विभिन्न खोलामा वर्षौंअघि निर्माण भएका पुल मर्मत–सम्भारको अभावमा धराप थापेजस्ता छन्। कालीकोटका मात्र दुई दर्जन बढी पुल धराप थापेजस्ता छन्।

उनले भने, ‘जतिबेला पनि चुँडिएर दुर्घटना हुन सक्छ। एकदशक जिल्ला प्राविधिक कार्यालयमा काम गरेका बमका अनुसार शान्नित्रिवेणीको सान्नीघाट, काप्री खोला, पलाँताको दुर्सी, तिपगाड, घाटचौर, उखाडी, नरहरिनाथको भेरे खोला, रहगाड पुल जोखिममा छन्।

त्यस्तै, खाँडाचक्र र शान्नित्रिवेणी जोड्ने रेंगिल, खाँडाचक्रको सेरावाडा, खाँडाचक्र र शुभकालिका जोड्ने राराघाट, मुग्राहा र दाहा जोड्ने तिसेली, महाबैको गेला र खाडाचक्रको पिली जोड्ने पान्तडी, महाबैको पादमघाट, तिलागुफाको धनाडा र भात्तडी जोड्ने दानाजिउला, चिल्खायाको कतमपुरलगायतका पुल जीर्ण छन्। उनले नयाँ बनाउनेतिर स्थानीय तहको जोड भए पनि पुरानाको मर्मत–सम्भारमा बेवास्ता गर्दा दुर्घटना हुन सक्ने बताए।

२०६३ देखि ०६७ सम्म जिल्लाका विभिन्न १२ ठाउँमा बाबियाको लठ्ठाबाट बनाइएका तुइनको सट्टा फलामे लठ्ठा र डिब्बाजडित सुधारिएको तुइनबाट पनि मानवीय क्षति भएको नागरिक समाजका अगुवा वीरेन्द्रबहादुर बुढाले बताए। उनका अनुसार हाल जिल्लाका सबै तुइन विस्थापित भएर झोलुंगे पुल निर्माण भइसकेका छन्।

सशस्त्र द्वन्द्वको अन्त्यसँगै पुल बनाउन थालिए पनि उपभोक्ता र ठेकेदारको ढिलासुस्तीले झन्डै डेढ दशक कालीकोटबासीले तुइन युग झेल्नुपर्‍यो। आठ वर्षअघि केपी ओली प्रधानमन्त्री बनेपछि तुइनमुक्त अभियानसँगै कालीकोटमा धमाधम झोलुंगे पुल बनेका थिए। नयाँ पुल थपिए पनि पुरानाको मर्मत–सम्भारमा स्थानीय तहलगायतको ध्यान नगएको पुलको क्षेत्रमा काम गर्ने हुरेन्डेकका उपाध्यक्षसमेत रहेका बुढाले जानकारी दिए।

प्रकाशित: ३ श्रावण २०८१ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App