२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

मुख्यमन्त्रीको विश्वासको मतका लागि साउन ६ गते दिउँसो १ बजे बैठक आह्वान

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनार्थ यही साउन ६ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने भएको छ।

बागमतीका सभामुख भुवनकुमार पाठकले ६ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आव्हान गरेका हुन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए।

केन्द्रमा दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको समिकरण बनेसँगै बागमती प्रदेशमा समेत एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए।

एमालेबाट प्रदेश सरकारमा सहभागी ५ मन्त्रीले असार २४ गते राजीनामा दिँदै समर्थन समेत फिर्ता लिएपछि जम्कट्टेलले विश्वासको मत फेस गर्न लागेका हुन्।

सत्ता साझेदार दलहरुसँगको छलफल पश्चात साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेका थिए। ६ गतेबाट जम्कट्टेलको मुख्यमन्त्री पद गुम्ने लगभग पक्का छ।

एमाले सरकारबाट बाहिरिएसँगै उनको पक्षमा अहिले जम्मा ३० जना मात्रै सांसद् छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा जम्कट्टेलकै पार्टी नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ३० जना सांसद्को साथ रहेको हो।

एमाले सरकारबाट बाहिरिएपनि एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले अहिलेसम्म सरकारमै रहेर जम्कट्टेललाई साथ दिइरहेको छ। जम्कट्टेललाई सरकारमा रहेको यही ३ दलले मात्रै विश्वासको मत दिने देखिन्छ।

केन्द्रमा पुष्पकमल दाहाललाई विश्वासको मत दिएको समाजवादीले बागमती प्रदेशमा पनि अन्तिमसम्म जम्कट्टेललाई साथ दिने पक्षमा रहेको छ। यहाँ दुई ठूला दल एमाले र कांग्रेस मिल्दा सहज बहुमत रहेको छ।

बागमती प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ गरी ६४ सांसद् रहेको छ। सरकार गठनका लागि ५६ सांसद् भए पुग्ने अवस्था रहेको छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेपाल मजदुर किसान पार्टीको ३ सांसद् रहेको छ।

२०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री जम्कट्टेलले ३ पटक विश्वासको मत लिएर सरकार जोगाएपनि नयाँ समिकरण बनेसँगै यसपटक मुख्यमन्त्रीबाट प्रमुख प्रतिपक्षी दलको नेतामा पुग्ने अवस्थामा पुगेका हुन्।

प्रकाशित: २ श्रावण २०८१ १८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App