२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

जसले सिङ्गै गाउँलाई पनिर चखाए

सम्भावना र अवसर नभएका ठाउँ कमै हुन्छन्। अवसरलाई ठम्याउनुपर्छ। कतिपयले देशमा अवसर छैन भनिरहे पनि यही महाअवसर फेला पार्नेहरूको पनि कमी छैन। वैदेशिक रोजगारीमा वर्षौंवर्ष बिताएपछि कैयौं नागरिक देशभित्रै सम्भावना देखेर फर्कने गरेका छन्। देशभित्रै पनिर बनाएर व्यवसाय गरिरहेका गुल्मी रुरु क्षेत्र–१ का रविलाल पन्थी यस्तै सम्भावना देख्नेमध्ये एक हुन्।

गाउँमा पनिर खाने त के चिन्दैनथे पनि। उनले १० वर्षअघि दक्षिण कोरियाबाट फर्केर आएपछि गाउँलेलाई पनिर चखाएका मात्र छैनन्, अहिले त्यो घरघरमा नभई नहुने भइसकेको छ। सुरुसुरुमा उनले गाउँलेलाई सित्तैमा पनिर बाँडेर पनि त्यसको स्वादमा बानी लगाएका थिए।

देश फर्किएपछि उनले स्थापना गरे गौरव दुग्ध डेरी उद्योग। गाउँमा दूध उत्पादन धेरै हुन्छ । त्यसैलाई सदुपयोग गर्ने गरी उनले यस्तो व्यवसाय सुरु गरेका हुन्। ‘जहाँ पाउ राख्नु हुन्छ, त्यहाँ हरेक पाइला–पाइलामा सम्भावना छ,’ उनले नागरिकसँग भने, ‘यो देशमा झन् धेरै सम्भावना छन्।’

जिन्दगीमा सिर्जनशील बन्न सक्यौं भने हरेक क्षण उत्सवमय हुने उनको अनुभव छ। ‘हरेक चुनौतीलाई अझ राम्रो र उन्नत तरिकाले समाधान गर्न सिर्जनशीलता चाहिन्छ,’ उनले भने, ‘सिर्जनशीलताले स्वाभिमानी बनाउँछ । धैर्य र मेहनतले समाजमात्र नभई राष्ट्रलाई भिन्न बनाउँछ।’

त्यही मेहनतले अहिले दुग्ध उद्यमी बनेका छन् पन्थी। पनिरको तरकारी पनि हुन्छ र ? भन्ने समाजलाई पनिर सित्तैमा बाँडेर पनि प्रचार गरे। गुल्मीका गाउँगाउँमा कृषि तथा पशु व्यवसाय गरे पनि आफूले गरेको उत्पादित बस्तुको कसरी सदुपयोग गर्ने भन्नेबारे ज्ञान नभएको उद्यमी पन्थीले बताए। ‘गाउँमा दूध उत्पादन त हुन्थ्यो। तर, त्यसको सही सदुपयोग भएको थिएन,’ उनले भने, ‘देशमा केही गर्नु छ भने आफ्नै घर, समाज र गाउँलाई नै सुधार गर्नुपर्छ।’

त्यसैले गाउँमै उत्पादन भएको दूध संकलन गरेर दूध डेरी खोले। उनका अनुसार गाउँमा न त दूध जान्थ्यो न त पनिर। विदेशबाट फर्किएर दुग्ध व्यवसाय सञ्चालन गर। तर आफूले सोचेझैं नभएपछि गुल्मीमा जहाँ–जहाँ विवाह, व्रतबन्ध, भोजभतेर, पूजापाठ र विभिन्न समारोह हुन्थ्यो त्यहीँ गएर पनिरको तरकारी पनि राख्दा राम्रो हुन्छ भनेर सिकाउन थाले । सुुरुसुरुमा कसैले यसमा वास्ता गरेनन्। त्यसपछि विभिन्न समारोहमा सित्तैमा पनिर बाँडेर पनिरको तरकारी बनाउनलाई सुझाव दिएका थिए।

‘प्रायः हरेक विवाहबटुलोमा मैले बनाएको पनिर आफैंले पु¥याएर यसरी तरकारी बनाउनुस्, यो एकदमै स्वादिष्ट हुन्छ भने,’ उनी गाउँगाउँमा पनिर बाँड्न हिँडेको क्षण सम्झन्छन्, ‘सुरुमा पनिरको तरकारी धेरै खाएनन् तर पछि स–साना समारोहमा पनि सित्तैमा पनिर दिएर तरकारी बनाउनुस् भन्न थालेँ। करिब डेढ वर्षपछि मेरो पनिरको केही माग बढ्न थाल्यो । त्यसपछि कतिले पैसै तिरेर भए पनि हरेक भोजमा पनिर अनिवार्य गर्न थाले।’ त्यसलगत्तै दुग्ध व्यवसायको सुनौलो अवसर सुरु भएको उनी सुनाउँछन्।

उनको सुरुवाती चरण दुग्ध व्यवसायमा ठूलो उतारचढाव आएको थियो। तर, त्यो उतारचढावमा उनी कहिले थाकेनन्। बरु अन्य व्यवसायी उनलाई देखेर थाक्ने गर्थे । ‘जुनसुकै व्यवसाय पनि सुरु गरेको केही वर्ष घाटामा जान्छ। त्यसबारे राम्रोसँग ज्ञान पनि भएको हुँदैन। देशमा जे गरे पनि घाटा हुन्छ भनेर हारचाहिँ मान्नु हुँदैन। प्रायः धेरै व्यवसाय गर्ने व्यापारी, उद्यमीलगायत अन्य क्षेत्रमा संलग्न मानिस घाटामा गयो भनेरै हार मान्ने गर्छन्,’ उद्यमी पन्थीले भने।

त्यसरी डुबेको व्यवसायलाई उठाउनतिर लाग्नुभन्दा बढी विदेश गई कमाएर ऋण तिर्छु भन्दै विभिन्न देश पस्नाले स्वदेशको उन्नति नभएको उनी बताउँछन्। कोरियामा ५ वर्ष बिताएर स्वदेश फर्किएका उनी गाउँमा कृषकको उत्पादित दूधले ठाउँ नपाएको अवस्था पत्ता लगाई दुग्ध व्यवसाय सुरु गरेको बताउँछन। ‘गुल्मी धार्मिकस्थल भएकाले त्यहाँ धेरै दूध चाहिन्छ । आजभन्दा १० वर्षअघि जहाँ डेरी नै थिएन,’ उनले नागरिकसँग भने, ‘जब डेरी खोलेँ सामान नै गएन। डेरीको कसैले पनि दूध, दही र पनिर खाएनन्, पछिपछि गाउँलेलाई पनिर चखाउँदै आफ्नो व्यवसायमाथि उकासें।’

उनले दूध डेरी व्यवसाय सुरु गर्दा दुई महिनासम्मलाई बिक्री गर्ने दूध नै थिएन। गाउँका प्रत्येक किसानलाई उत्प्रेरणा दिँदै दुई महिनालाई पनि नपुग्ने दूध उनले अब १६ महिनालाई समेत पुग्ने गरी उत्पादन गरेको सुनाउँछन्। ‘१० वर्षपहिले यहाँका गाउँमा पनिरको प्रचलन थिएन। पनिरको तरकारी त नौ डाँडापारिको कुरा हो। तर, अहिले प्रत्येक साना समारोहदेखि ठूलाठूला भोजमा पनि पनिर चाहिन्छ। त्यसैले अहिले पनिर खाने धेरै बढे,’ पन्थीले भने।

दैनिक आठ सय लिटर दूध बेचेर पनि १६ महिनालाई पुग्ने दूध उत्पादन गर्ने गरेका पन्थीले आफ्नो पूरै परिवारलाई रोजगारी दिएका छन्। ‘विदेशमा हुँदा पैसालाई मात्र अँगाल्न पाइन्थ्यो। स्वदेशमा कम पैसामा सबै चिज पाइन्छ,’ उनले भने, ‘देशमा १० वटा हजार नै किन नकमाओस्, त्योभन्दा ठूलो परिवार साथमा हुनु हो । यहाँ सानै आम्दानीमा धेरै कुरा पाएका हुन्छौं। त्यो कसैले महसुस गरेका हुँदैनन्। विदेशमा पैसा ठुलो हुन्छ। तर, त्यहाँ करोडौंको साथ छुटेको हुन्छ।’

पाँच लाख रूपैयाँबाट सुरु गरेको दुग्ध व्यवसाय अहिले ७० लाख रूपैयाँभन्दा बढीको लगानी रहेको र त्यससँग सम्बन्धित धेरै तालिम लिएको उनी बताउँछन्। उद्यमी पन्थीले प्रत्यक्ष पाँचजना कामदारलाई रोजगार दिएका छन् भने अप्रत्यक्ष ३० जनाभन्दा बढी बेरोजगारलाई रोजगार दिएका छन्। ‘नजाऊ अब खाडीमा, पैसासँग खुसी खोजौं हाम्रै पाँखा हामै्र बारीमा’ यो मूल नारा विदेशबाट फर्किएर स्वदेशमै काम गरौं भन्ने उद्देश्यका साथ सुरु गरेको पन्थी बताउँछन् । 

उनले थालनी गरेको दुग्ध व्यवसायबाट वार्षिक डेढ करोड रूपैयाँ आम्दानी हुने गरेको छ। ‘सहरी क्षेत्रको पैसालाई ग्रामीण भूभागमा प्रवाह गर्दैगर्दा म वार्षिक डेढ करोड रूपैयाँ आम्दानी भिœयाउँछु। म दूध, दही, मोही, पनिर, केक, आइसक्रिम, घिउ र छुर्पीलगायत दुग्धजन्य अन्य परिकार बेच्ने गर्छु। जसले गर्दा समाज धरै खुसी छ,’ उनले भने।

छोराछोरी ठूला भएर कहिले कमाएर ल्याउँछन् र ? अनि खान पाउँछौं भन्ने पुरानो चलनलाई गुल्मीका कृषकहरूले तोडेका छन्। त्यहाँका बूढाबूढीले दूध बेचेर उल्टै काठमाडौंमा रहेका छोराबुहारीलाई समेत हेर्ने गरेको उद्यमी पन्थी भन्छन्, ‘बूढाबूढीले कृषि व्यवसाय गरेर छोराबुहारीको समेत खर्च पुर्‍याएका छन्। त्यति मात्रै नभएर नातानातिनीको विद्यालयको शुल्कसमेत गाउँमै कृषि गरेर तिर्ने गरेका छन्। अहिले गाउँको सबै दूध मैले डेरीमा ल्याउने गरेको छु। उनीहरूलाई प्रत्येक महिना दूधको पैसा दिन्छु। त्यसैले छोराबुहारीलाई उल्टै आर्थिक सहयोग पुगेको छ। जसले गर्दा खुःसीसँगै समाजमा समृद्धि आएको छ।’

उद्यमी पन्थीले दुग्ध व्यवसायले सामाजिक क्षेत्रको योगदान, रोजगारी क्षेत्रमा योगदान, उद्यमी क्षेत्रमा पुर्‍याएको योगदानले गर्दा नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट केही समयअघि उत्कृष्ट कृषकको सम्मानका साथै राष्ट्रिय पुरस्कार पाएका थिए। श्रम मन्त्रालयबाट पन्थीसहित आठ जनाले उत्कृष्ट कृषकका रूपमा राष्ट्रिय पुरस्कार पाएका थिए।

प्रकाशित: २ श्रावण २०८१ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App