२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोमा परी चारजना गुमाएका परिवारलाई सात लाख राहत

पहिरोमा पुरिएर चारजना गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत वितरण गरेको छ। पोखरा–१९ तल्लाकोटमा असार २७ गते बिहीबार राति आएको पहिरोले घर पुरिँदा ज्यान गुमाएका कुलबहादुर परियारको परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोष र गण्डकी प्रदेश सरकारले संयुक्त रूपमा राहतस्वरूप सात लाख रूपैयाँ प्रदान गरेको हो।

पहिरोले घर पुर्दा घरधनी कुलबहादुर परियारसहित सातजनाको मृत्यु भएको थियो। पहिरोले कुलबहादुरकी आमा लक्षिमा परियार, श्रीमती मनकुमारी परियार र छोरी प्रसना परियारको मृत्यु भएको थियो। सो पहिरोमा कुलबहादुरकी छोरी प्रभा परियार र ज्वाइँ अस्मित परियार तथा छिमेकी राधिका परियारको पनि मृत्यु भएको थियो। पहिरोमा परी नाबालक छोरा पवन परियार बाँच्न सफल भएका थिए।

मृतक परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँच लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट दुई लाख गरी सात लाख रूपैयाँको चेक प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। परिवारमा नाबालक छोरा मात्र बाँच्न सफल भएकाले राहत रकम अरू कसैले दुरूपयोग नगरोस् भनेर नाबालकका नाममा खाता खोलेर रकम जम्मा गर्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएको जिल्ला विपद व्यवस्थापन समिति कास्कीका प्रमुखसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए। त्यस्तै कुलबहादुरका विवाहित छोरी–ज्वाइँका परिवार पनि सम्पर्कमा आएपछि राहत उपलब्ध गराइने उनले बताए। ‘हामी सबैलाई राहत प्रदान गर्छौं। पहिलो चरणमा कुलबहादुरको परिवारलाई राहत उपलब्ध गराएका हौं’, उनले भने।

प्रजिअ पाण्डेले परियारको घरसमेत पुनर्निर्माण गरिने बताए। ‘पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ। त्यसैले घर पुनर्निर्माण गरिन्छ। त्यसका लागि आवास पुनर्निर्माण प्रक्रिया सम्बन्धित स्थानीय तहका रूपमा वडाले अगाडि बढाओस्’, उनले भने।

यसैबीच पहिरोले ज्यान गुमाएका पोखरा २७ सहेलापाटाका भीमबहादुर थापाको परिवारलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले राहत प्रदान गरेको छ। थापाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषका तर्फबाट दुई लाख रूपैयाँ राहत प्रदान गरिएको प्रजिअ पाण्डेले जानकारी दिए।

प्रकाशित: १ श्रावण २०८१ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App