२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

घर-खेतमा विद्युतीय धराप

करेन्ट लागेर ज्यान गुमाउनेको तथ्यांक डरलाग्दो

सिरहाको औरही गाउँपालिका– ४, कमलपुर टोलका ४८ वर्षीय मल्ला यादव सधैं झैं बिहीबार बिहान धान रोप्न खेतमा गएका थिए। रोपाइँका लागि बिउ उखेल्न खेतमा पानी पर्याप्त थिएन। मोटरबाट खेतमा पानी लगाउँछु भन्दै उनी आलीतिर गए। मोटर चलाउने क्रममा मोटरको तारमा खुट्टा टेक्न पुग्दा करेन्ट लागेर उनी आलीबाट ढले। नजिकका किसान हारगुहार माग्दामाग्दै उनको प्राण उड्यो।

भारत मधुवनी जिल्ला पूर्वकमरखोत ग्राम पञ्चायत– ५ का स्थायी वासिन्दा यादव कमलपुरस्थित ससुरा धुथर यादवको घरमा बस्दै आएका थिए। खेतीकिसानीदेखि घर–व्यवहारमा एक्लो सहारा ज्वाइँको अनाहकमै ज्यान जाँदा धुथरको परिवारमा शोक छाएको छ।

बिहीबार बिहान सिरहाको गोलबजार नगरपालिका– ८ पुरानो चोहर्वामा इन्टरनेट लाइन जडान गर्ने क्रममा बिजुलीको तारमा करेन्ट लागेर २७ वर्षीय किशोरसिंह महतोको मृत्यु भयो। इन्टरनेट जडान गर्ने क्रममा बिजुलीको नांगो तारसँग सम्पर्क हुँदा करेन्ट लागेर उनी भुइँमा ढलेका थिए।

असार १७ गते लहान नगरपालिका– २० हरिनगरका टोलकी ५२ वर्षीया राधावतीदेवी सुडी घरको चापाकलमा जडान भएको मोटर चलाएर पानी भर्ने क्रममा करेन्ट लागेर भुइँमै ढलिन्। श्रीमान् राम सेवकले हतारहतार उनलाई लहान अस्पताल पुर्‍याए। अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरिदिए। राधावतीको मृत्युसँगै रामसेवकको जीवनमा अँध्यारो छायो।

असार २२ गते सिरहाको बरियारपट्टी गाउँपालिका– ४ तेनुवापट्टी टोलका श्यामसुन्दर यादव धान खेतमा पानी लगाएर आउँछु भनेर घरबाट निस्केका थिए। मोटर जडान गर्ने क्रममा नांगो तारमा छुँदा उनी खेतको आलीमै ढलेका थिए। नजिकैका किसान दौडेर आउँदासम्म यादवले प्राण त्यागिसकेका थिए।

असार २२ मा दिउँसो आफ्नै घरको चापाकलमा जडान गरिएको मोटर चलाएर पानी लिने क्रममा गोलबजार नगरपालिका– ५ निपाने टोलका ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर मृत्यु भयो।

असार १० गते सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिका– १ का ७५ वर्षीय मेहन्द्र प्रसाद यादव चापाकलमा मोटर जडान गरी धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर प्राण त्यागे।

वैशाख २७ गते धनुषाको बटेश्वर गाउँपालिका– २ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। वन्यजन्तुबाट बालीनाली सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धरापमा परेर महतोको मृत्यु भएको प्रहरीले बताए।

मधेस प्रदेशमा विद्युत् प्रयोग गर्दा भएका असावधान, लापरबाही वा हेलचक्र्याइँले अकालमै ज्यान गुमाउने जनसाधारणको संख्या बढ्दो छ। यसमा जनसाधारणको असावधानी नभएको होइन, तर यी घटनामा नेपाल विद्युत् प्राधिकरणको लापरबाही पनि उत्तिकै जिम्मेवार पाइएको छ।

प्राधिकरण जिम्मेवार भएको मधेस प्रदेशमा ३५ घटना रेकर्ड भएका छन्। करेन्ट लागेर मृत्युवरण गरेका मध्ये मधेस प्रदेशका विभिन्न जिल्लाका ३५ जना मृतक परिवारलाई प्राधिकरणले जनही पाँच लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ। चालु आर्थिक वर्षमा करिब आधा जति घटनामा विद्युत् प्राधिकरण जिम्मेवार देखिएको छ। करेन्ट लागेर मृत्यु भएका ८२ जनामध्ये ३५ जनालाई प्राधिकरणले दिएको क्षतिपूर्तिबाट घटनामा प्राधिकरण जिम्मेवार रहेको प्रस्ट्याउँछ।

प्राधिकरणको लापरबाहीका कारण भएका घटनामा मृतक परिवारले राहतस्वरूप पाँच लाख क्षतिपूर्ति पाएपछि अन्य घटनामा पीडितले क्षतिपूर्ति पाउँदैनन्। करेन्ट लागेर हुने मृत्युका घटनामा प्रहरीले पीडितबाट भवितव्यको जाहेरी दर्ता गर्दै आएको छ। विद्युतीकरण, ग्रामीण विद्युतीकरण, कृषि विद्युतीकरणजस्ता योजनाले सहरदेखि दूरदेहातका घरआँगनमा विद्युत्को उज्यालो आएको छ, तर यससँगै आइपरेको अँध्यारो भोग्न बाध्य थुप्रै पात्र छन् मधेसमा।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ असार २० सम्म प्रदेशका आठवटै जिल्लामा करेन्ट लागेर ८२ जनाले ज्यान गुमाइसकेका छन्। यसमा  ५७ पुरुष, २० महिला र पाँचजना बालबालिका छन्। यस अवधिमा करेन्ट लागेर एक सय ३१ जना घाइते भएका छन्, जसमा ५८ पुरुष  ५४ महिला र १९ बालबालिका छन्।

 गत वर्ष अर्थात् आव २०७९/८० मा करेन्ट लागेर यस प्रदेशमा एक सय नौ जनाले ज्यान गुमाएका थिए, जसमा ७२ जना पुरुष, २१ जना महिला र १६ जना बालबालिका छन्। यस अवधिमा एक सय २७ जना घाइते भएका थिए।

आव २०७८/७९ मा यस प्रदेशमा करेन्ट लागेर ८३ जनाले ज्यान गुमाएका थिए, जसमा ५१ जना पुरुष, २० जना महिला र १२ जना बालबालिका थिए। यस अवधिमा करेन्ट लागेर एक सय तीनजना घाइते भएका थिए।

मधेसमा भएका अधिकांश घटना मृतकको लापरबाहीकै कारण हुने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। धेरैजसो स्थानमा विद्युत्का तार तलैसम्म लत्रेको हुन्छ, तर प्राधिकरणले व्यवस्थित गर्दैन। स्थानीय तह, प्रशासन, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायबाट विद्युत्बाट कसरी सुरक्षित रहने भन्ने विषयमा अहिलेसम्म ग्रामीण भेगमा कार्यक्रम नगरिएको इटहर्वाका सियाराम यादवले बताए।

प्राधिकरणको लापरबाही र सेवाग्राहीकै कमजोरीका कारण करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुने क्रम बढिरहेको छ। अधिकांश घटना चापाकल र खेतमा जडान गरिएको मोटरमा विद्युत् सर्ट भई हुने गरेको छ। मधेस प्रदेश प्रहरीका अनुसार २०७९ सालयता मात्रै मधेस प्रदेशमा करेन्ट लागेर दुई सय ७४ जनाको मृत्यु भइसकेको छ।

नेपाल विद्युत् प्राधिकरण लहान शाखाका प्रमुख सुरेन्द्र साहका अनुसार मानिसहरू सचेत हुन सकेका छैनन्। ‘लापरबाहीका कारण धेरैको ज्यान गएको छ। ’सुख्खा मौसमभन्दा बर्खामा बढी घटना हुने गरेको पाइन्छ’ उनले भने, ‘यो बेला जमिन पनि भिजेको हुँदा खतरा बढी हुन्छ।’

हुकिङ गरेर मोटर चलाउने, नांगो तार जमिनमा ओछ्याउने, मोटर खुला ठाउँमा राख्ने, तार ओछ्याउँदा काटिएको छ/छैन जाँचपडताल नगर्ने जस्ता कारणले दुर्घटना हुने गरेको साहले बताए। ‘यसमा सबभन्दा बढता प्रभावकारी हुने भनेकै जागरुकता फैलाउनु हो’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिमार्फत घरघरमा विद्युत्को सुरक्षित प्रयोगबारे जागरुकता फैलाउन सकिन्छ। जागरुकता र सावधानी नै दुर्घटना न्यूनीकरणको प्रभावकारी साधन हुने उनको भनाइ छ।

नियमतः सिँचाइ मिटरका लागि सुरक्षित घर बनाउने पर्छ, जसमा मोटर, मिटर र अन्य विद्युतीय उपकरण सुरक्षित राख्नुपर्छ, तर मधेसमा पूर्णरूपमा नियम पालना भएको पाइँदैन। नियम पालना गराउने हो भने अधिकांश किसान सिँचाइबाट वञ्चित हुने देखेर व्यावहारिकतामा मिटर वितरण गरिएको प्राधिकरणका अधिकारी बताउँछन्।

 सिरहाका प्रहरी प्रवक्ता मुक्तिनाथ सापकोटा भन्छन्, ‘घरदेखि खेतसम्म विद्युत् फैलिएको छ, तर यसको सुरक्षित प्रयोगबारे जानकारी फैलाइएको छैन’, उनले भने, ‘सुरक्षित विद्युत् प्रयोगबारे जानकारी व्यापक बनाउनुपर्ने आवश्यकता छ।’

प्राधिकरणको लापरबाहीले मृत्यु भएको खण्डमा पीडितको निवेदन दर्तापछि प्राधिकरणले छानबिन समिति गठन गर्छ। जिल्ला प्रशासन र स्थानीय तहका प्रतिनिधिसहितको समितिले घरमा पुगेर वास्तविक पत्ता लगाउँछ। प्राधिकरणको लापरबाही हो भन्ने यकिन भएपछि मात्र पाँच लाख रूपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको प्राधिकरण मधेस प्रदेश कार्यालयले जनाएको छ। पोल ढलेर, तार झरेर वा हेलचक्रयाइँले मानिसको ज्यान गएको हो भने प्राधिकरणले क्षतिपूर्ति दिने प्रावधान छ।

प्रकाशित: २८ असार २०८१ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App