२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

साकेलाले कृषिमा अनुदान कटौती गर्दै सहुलियत ऋण दिने

कृषि सामग्री प्रदान गर्दै साकेला गाउँपालिका अध्यक्ष राई। तस्विरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाले कृषकलाई दिँदै आएको अनुदान कटौती गर्दै ऋण दिने कार्यक्रम अघि सारेको छ।

गाउँपालिकाभित्रका किसानले कृषि उद्यम व्यवसाय गर्दै दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने उद्देश्यले अनुदानको साटो सहुलियत दरमा ऋण दिने योजना अघि बढाइएको अध्यक्ष रबिप्रकाश राईले बताए।

गाउँघरमै बसेर कृषि उद्यम व्यवसाय तथा पशुपालन गरी स्वरोजगार बन्ने तथा रोजगारी सिर्जना गरेर बसाइसराइ र विदेश पलायन रोक्न यस्तो योजना अघि सारेको अध्यक्ष राईले बताए। कृषि उद्यम र पशुपालन व्यवसायमार्फत आयआर्जनमा सुधार ल्याउनुका साथै आर्थिकोन्नति गरेर जीवनस्तर उकास्ने लक्ष्य गाउँपालिकाले लिएको उनको भनाई छ।

अहिले व्यवसायिक कृषि खेतीप्रति किसानलाई आकर्षण दिँदै आयआर्जन बढाउन गाउँपालिकाले लागत साझेदारीमा विभिन्न खालका कृषिजन्य यन्त्र उपकरण तथा सामग्रीहरू अनुदानमा दिँदै आएको छ। तर, गाउँपालिकाले दिएको अनुदानको लगानीको उपलब्धि लगभग शून्य देखिएकाले त्यसको साटो सहुलियत ऋण दिने नीति लिएको हो।

परिणाम नदेखिने अनुदान दिनुभन्दा सहुलियत दरको ऋण दिँदा कृषि व्यवसाय बलियो र प्रभावकारी हुने तथा लगानी पनि उपलब्धिमूलक हुने अपेक्षा गर्दै यस्तो नीति अघि सारिएको अध्यक्ष राईले बताएका छन्। अहिलेसम्म गाउँमै कृषकले ताजा तरकारी र फलफूल उत्पादन गरुन्, रोजगारी सिर्जना होस् र आयआर्जन पनि बढोस् भनेर गाउँपालिकाले दिँदै आएको अनुदान उपलब्धिविहीन देखिएपछि अनुदान कटौती गर्नु परेको अध्यक्ष राईको भनाई छ।

‘यसअघि गाउँपालिकाबाट जे जति अनुदान दिइयो, त्यस अनुसार कृषि क्षेत्रको विकास र उपलब्धि भएको कतै देखिएन’ अध्यक्ष राईले भने ‘यसरी बालुवामा पानी हालेसरह हुने बजेट अनुदान खेर गएको पाइएकाले अव त्यसको बद्ला सहुलियत दरमा ऋण प्रदान गर्ने नीति लिइएको हो।’

अध्यक्ष राईका अनुसार अघिल्लो सरकारले कृषि क्षेत्रमा गरेको निकै ठूलो लगानीको उपलब्धि देखिएको छैन। ‘लगानी शीर्षक देखेर अनुगमन गर्न जाँदा बाख्राको खोरमा बाख्रा छैन, खोर मात्र, माछा पोखरीमा माछा होस् न भैँसी गोठमा भैँसी। बरु गोठ पनि भत्किसकेको अवस्थामा पाइयो।’ अनुदान रकमको यस्तो हुर्मत लिने भएपछि कृषि विकास र समृद्धि धेरै टाढाको कुरा भएको उनले बताए। कृषि विकासको नाममा राज्य कोष यस्तो दुरुपयोग रोक्न आवश्यक देखेको अध्यक्ष राईले बताए।

कृषि क्षेत्रमा गर्ने अनुदान लगानी कटौती गर्दै सहुलियतपूर्ण ऋण दिए त्यसले.सकारात्मक परिणाम दिने अपेक्षा उनको छ। त्यसैले आगामी आर्थिक वर्षदेखि अनुदान कटौती गर्दै ऋण दिने नीति अघि सारिएको हो। त्यसका लागि चालु अधिवेशनमा आवश्यक बजेटसमेत विनियोजन गरिसकेको राईले बताए।

सहुलियत ऋण दिन छिट्टै गाउँपालिकाले कार्यविधि बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि  अध्यक्ष राईले जनाएका छन्। त्यसबाट वास्तविक किसानको पहिचान हुनुका साथै बजेट लगानीको उपलब्धि हात लाग्ने अपेक्षा गाउँपालिकाले लिएको छ। कृषक धनी भए  गाउँपालिका स्वतः धनी हुने र समृद्धि छिट्टै हात लाग्ने उनको अपेक्षा छ। त्यससँगै अनुदानको नाममा भइरहेको राज्य कोषको चरम दुरुपयोग रोक्न पनि यसले मद्दत पुग्ने उनी बताउँछन्।

अध्यक्ष राईले साकेलाको सबै वडाका भूगोलमा उत्पादन हुने अन्नबाली, फलफूल र पशुपालनको व्यावसायिक खेती गर्न सम्भाव्यता अध्ययनसमेत भईसकेको बताएका छन्। कुन ठाउँमा कुन खालको अन्नबाली फल्छ, कुन पशुपालन गरे फाइदा हुन्छ भन्ने कुराको अध्ययन भईसकेको उनले बताए। त्यसका लागि माटो परीक्षण र पशुपालनको अध्ययन अवलोकन गरिसकेको भन्दै सोही अनुसार किसानलाई लगानी गर्न गाउँपालिकाले आव्हान गरेको छ। 

किसानलाई कृषि सामग्री 

यसैबिच चालु वर्षको कार्यक्रम अनुसार गाउँपालिकाले किसानलाई विभिन्न कृषिजन्य सामग्री हस्तान्तरण गरेको छ। बिहीबार ३ नं. वडा खिदिमामा आयोजित कार्यक्रममा जन विकास बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध किसानका लागि कृषि सामग्री प्रदान गरेको हो।

गाउँपालिका कृषि विकास शाखाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘तरकारी खेती प्रवर्द्धन’ शीर्षकबाट खरिद गरिएका सामग्री सहकारी संस्थालाई दिइएको हो। कृषि विकास शाखाका अनुसार गाउँपालिकाको ९ लाख ७५ हजार र समूहको साझेदारीबापत २ लाख १० हजार ४ सय ४० गरी जम्मा ११ लाख ८५ लाख ४ सय ४० रुपैयाँ मूल्यका सामग्री सहकारीले पाएको छ।

प्राप्त कृषि सामग्रीमा १ सय २० थान टनेल, २ थान हाते ट्याक्टर र ४ थान स्पेयर (विषादी छर्किने) मेसिन रहेका छन्। ती सामग्री समूहमा आबद्ध १ सय २० घर परिवार कृषकले उपभोग गर्न पाउने कृषि शाखाले जनाएको छ।

सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले सहकारी संस्थामार्फत गाउँका कृषकले कृषि खेती र व्यवसायमार्फत स्वरोजगार बन्दै आयआर्जन गरी आत्मनिर्भर र स्वावलम्बी बन्न सहयोग पुगोस् भनेर यस्ता सामग्री हस्तान्तरण गरिएको बताए। 

कृषकलाई जति छिटो धनी बनाउन सक्यो उत्ति छिटो गाउँपालिका समृद्ध र विकसित हुने भन्दै अध्यक्ष राईले त्यसका लागि सबै कृषकहरू कुनै न कुनै कृषि वा पशुपालन व्यवसायमा लागेर आयआर्जन गर्न आग्रह गरे। गाउँघरमै बसेर कृषि व्यवसायमार्फत आयआर्जन गर्न सकिने भन्दै उनले धनी र सफल हुनका लागि गाउँ छाड्नुपर्ने वा विदेश नै जानुपर्ने मानसिकता त्याग्न आग्रह गरे। 

सहकारीका अध्यक्ष दुधराज तामाङका अनुसार प्राप्त सामग्री सहकारीले खिदिमाको १५ रोपनी जग्गामा साग, सिमी, मूला, टमाटर, अकबरे खुर्सानी, काँक्रा, फर्सीलगायत तरकारी खेती लगाउन प्रयोग गर्ने बताए। उनका अनुसार खिदिमाका कृषकहरू सहकारीमा आबद्ध भएर व्यवसायिक कृषि उद्यममा लाग्दै आएको र सोही अनुसार गाउँपालिकाबाट सहयोग पाएका हुन्। 

प्रकाशित: २७ असार २०८१ १७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App