२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा खोलाले बगाउँदा २ जनाको मृत्यु, आधादर्जन घरमा क्षति

केही दिनयताको अविरल वर्षाले उदयपुरमा ठूलो जनधनको क्षति भएको छ। वर्षासँगैको  बाढीमा परी गत ७२ घण्टामा १ बालकसहित २ जनाको मृत्यु भएको छ भने आधादर्जन घरमा क्षति पुगेको छ।

गत शुक्रवारदेखि परेको अविरल वर्षाका कारण रौतामाई गाउँपालिकामा ५ वर्षीय बालक र बेलका नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

स्थानीय अमृत खोलामा आएको बाढीले बगाउँदा शनिवार रौतामाई गाउँपालिका ५ आँपटारका ५ वर्षीय राज राईको निधन भएको प्रहरीले जनाएको छ।

त्यसैगरी जिल्लाको बेलका नगरपालिका ३ सातपत्रेस्थित गिनेरी खोलाले बगाउँदा ५० वर्षीय इन्द्र बुढाथोकीको निधन भएको प्रहरीले जनाएको छ। गिनेरीमा आएको बाढीले २२ गते नै बगाएर बेपत्ता भएका बुढाथोकी सोमवार बिहान मात्रै शव फेला परेको हो।

गाउँदेखि घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएका बुढाथोकीको परिवारजन, स्थानीय र इलाका प्रहरी कार्यालय रामपुरबाट खोजी भईरहेको थियो। खोजीकै क्रममा बेपत्ता भएको ३ दिनपछि उनको शव गिनेरी खोला किनारमा फेला परेको हो।

दुवै मृतकहरुको शव स्थलगत प्रहरी सर्जमिन मुचुल्का गरी पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।  

यसैगरी बाढी गाउँ पसेपछि उद्धारमा खटिएका त्रियुगा नगरपालिका २ लुहाले पूर्वटोलका बद्री राई घाईते भएका छन्। पूर्वटोल विकास संस्थाका अध्यक्षसमेत रहेका राई आईतबार लुहाले खोलाको बाढी बस्ती पसेपछि उद्धारमा खट्ने क्रममा लडेर गम्भीर घाईते भएका थिए।

जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएका राईको बाँया खुट्टा भाँचिएकाले अप्रेसन गरी स्टील राखेर उपचार भईरहेको वडाध्यक्ष घमानसिंह खत्रीले बताए।

एसपी थापाका अनुसार वर्षाका कारण अन्य विभिन्न ठाउँमा घर भत्काउनुका साथै खेत कटान तथा बालीनाली नष्ट गरेको खवर आईरहेको छ। वर्षाका कारण सोमवार मात्र लिमचुङबुङ गाउँपालिका १ बाँसबोटेका अम्बर राई र सोही ठाउँका अर्का स्थानीय मायाशेर राईको घर पनि भत्काएको छ।

ढुंगा माटो र खरको छाना भएका राईद्वयको घर पानी चुहेर गारो भत्केर क्षति भएको प्रहरीले जनाएको छ। अम्बरको घर भत्कदा १ लाख ५० हजार बराबरको क्षति भएको छ भने मायाशेरको ५० हजारबजाबरको क्षति भएको इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहालाई उद्धृत गर्दै एसपी थापाले बताएका छन्।

त्यसैगरी त्रियुगा नगरपालिका १६ ढाडखर्कस्थित रमेश तामाङको ढुंगा माटोले बनेको फुसको छानो भएको घर पनि दक्षिणतर्फ भत्केको छ। अविरल वर्षाका कारण घरछेउमै पहिरो जाँदा तामाङको घरको गारो भत्केर १ लाख ५० हजार बराबरको क्षति भएको त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

उता जिल्लाको उदयपुरगढी गाउँपालिका ३ सुकुलटारमा पन िनरबहादुर पुलामी मगरको घर पहिरोले भत्काएको छ। घर छेउमै पहिरो गएर पुर्दा मगरको ढुंगा माटोले बनेको फुसको छानो वाला २ तले घरको गारो भत्केर १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा अरु पनि क्षति भईरहेको अनुमान गरिएको भए पनि सबै विवरण भने आईनसकेको प्रहरीले जनाएको छ। पहाडी भेगमा पहिरो र समथर भागमा नदी कटान तथा डुबानको समस्या उदयपुरमा वसैनि हुँदै आएको छ। सदरमुकाम त्रियुगामा त्रियुगा, बरुवा, लुहाले, ठाडी, शाही, सरस्वति, बगाहालगायत खोलाले डुबान र कटान गरेर स्थानीयलाई दुःख दिने गरेका छन्।

त्यस्तै अन्य स्थानीय तहहरु कटारी, बेलका र चौदण्डीगढी नगरपालिका तथा रौतामाई, ताप्ली, उदयपुरगढी र लिमचुङबुङमा स्थानीय खोला खहरेहरु वर्षायाममा उर्लेर मान्छे बगाउनुका साथै पहिरो गएर दुःख दिने गरेको स्थानीयहरु बताउँछन्। 

प्रकाशित: २५ असार २०८१ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App