२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

यातना दिएर यौन कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ, ६ जनाको उद्धार

विराटनगरको एक घरको फ्ल्याट भाडामा (बहाल) लिएर युवतीहरुलाई यातना दिँदै जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।

साथै यौन व्यवसायमा लगाइएका ६ जना युवतीहरुका‍े उद्धार गरिएकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

यौन धन्दामा लगाउनकै लागि घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने गरेको पाइएको हो। प्रहरीका अनुसार उद्धार गरिएका युवतीहरुलाई आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारेर यौन व्यवसायमा लगाइएको थियो।

विभिन्न स्थानबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै सम्पर्कमा आएका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने र नमानेमा चरम यातना दिने गरिएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय विराटनगर (क) का डिएसपी बुद्ध श्रेष्ठ नेतृत्वको टोलीले त्यहाँ शुक्रबार छापा मारेको र त्यस क्रममा २१ देखि २३ वर्ष उमेर समूहका ६ जना युवतीको उद्धार गरेको डिएसपी बस्नेतले बताए।

काठमाडौं, काभ्रेपलान्चोक, स्याङ्जा र उदयपुरका १/१ जना तथा झापाका २ जनालाई उद्धार गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

उनका अनुसार सुनसरीको इनरुवा घर भएका ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीय सन्ध्या चुँडालले विराटनगर महानगरपालिका–११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने गरेको पाइएको छ। त्यहाँ राखेर यौन व्यवसायमा लगाउने गरिएको उनको भनाइ छ।

साह र चुँडालले यौन व्यवसायमा लगाउनकै लागि मोहन सिटौलाको २ तले घरको भुईँ तलाको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राख्ने गरेको बताउँदै, एसपी कार्कीले भने, ‘२ महिना अघिदेखि भाडामा लिएर युवतीहरुलाई राख्ने गरेका रहेछन्। आकर्षक रोजगारीको प्रलोभनमा पारेर काठमाडौंलगायत विभिन्न ठाउँबाट युवतीलाई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको पाइएको छ। फ्ल्याट लिएर युवती राखिएको भए पनि यौन व्यवसायमा लगाउन सम्पर्कमा रहेका व्यक्तिमार्फत अन्यत्र पठाउने गरेका रहेछन्।’

साह र चुँडालले यौन व्यवसायमा लगाउने नाममा युवतीहरुलाई चरम यातनासमेत दिने गरेको उद्धार गरिएका युवतीको शरीरभरि नीलडाम र चोटपटकबाट देखिने प्रहरीले जनाएको छ।

उनीहरुको हातलगायत शरीरका विभिन्न भागमा चुरोटका ठुटाले पोलेको घाउ थिए। आफूहरुले भनेको नमानेमा साह र चुँडाल मिलेर युवतीलाई कुटपिट गर्दै यातना दिने गरेको बताउँदै, एसपी कार्कीले भने, ‘चरम यातना दिने र यौन शोषण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यातना दिँदै यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाल पक्राउ परेकी छन् भने साह फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको छ।

चुँडालविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको र उद्धार गरिएका युवतीलाई महिला अधिकारवादी संस्थामार्फत घर फिर्ताका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०८१ १६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App