२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सुनसान सडकमा रातो गाडी, गाडी भित्र गाँजाको भारी

मोरङको बुढीगंगाबाट प्रहरीले आइतबार साँझ चालक बिनाको कारभित्रबाट १ सय १५ किलोग्राम गाँजा बरामद गरेको छ।

बुढीगंगा गाउँपालिका–१ आदर्श टोलस्थित सडकमा रोकेर राखिएको रातो रंगको कारबाट १ सय १५ केजी लागु औषध गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार नहर नजिकै भित्री सडकमा रोकेर राखिएको बा ७ च ९५९५ नम्बरको कार शंका लागि चेक गर्ने क्रममा उक्त सङ्ख्यामा गाँजा भेटिएको हो।  

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायब निरीक्षक (सई) प्रवीण खड्का नेतृत्वको टोलीले गाँजा लोड गरिएको कार नियन्त्रणमा लिएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘कारको पछाडि र भित्रको बीच भागमा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको हो। बरामद भएको गाँजासहित कारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ। कार भएको स्थानमा कोही पनि व्यक्ति थिएनन्।’

कार कसको हो र चालक को थिए तथा गाँजा कसले ल्याएको र कहाँ लगिएको हो भन्नेबारे केही खुलेको छैन। कारमा भएको नम्बर पनि सक्कली हो वा नक्कली, कार धनी को हुन् र चालकका साथ कारमा को को थिए भन्नेबारे खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

थप अनुसन्धान थालिएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘गाँजा ओसारपसार गर्नेले प्रहरी आएको थाहा पाएर कार छाडेर फरार भएको हुन सक्छन्।’

प्रकाशित: २४ असार २०८१ १४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App