२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बाढीले क्षति गरेपछि कुसुम राप्तीपारीका आधा दर्जन गाउँ अन्धकार

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित लौकी–खोकरी खण्डमा राप्तीको बाढीले क्षति गरेको बिद्युत तार। तस्बिर: नागरिक

बाढीले क्षति गरेपछि बाँकेको कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ तीन दिनदेखि अन्धकार बनेका छन्। राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो विभिन्न स्थानमा बिद्युत तारमा क्षति पुर्‍याएको थियो। बिद्युत नहुँदा तीन दिनदेखि अन्धकारमा बस्नु परेको राप्ती सोनारी–१ खोकरीका स्थानीय इन्द्र ओलीले बताए।

‘तीन दिनदेखि गाउँमा बत्ती छैन, बर्खायामको बेलामा बाढीको जोखिम उत्तिकै छ, गाउँ पुरै अन्धकार छ,’ उनले भने। बिद्युत नहुँदा मोबाइल टावरले समेत काम गर्न छाडेको स्थानीयले बताएका छन्। अर्का स्थानीय कृष्ण चौधरीले बिद्युत नहुँदा मोबाइल टावरले नै काम गर्न नसकेको र सञ्चारमा समस्या हुन थालेको बताए। ‘गाउँमा मोबाइलको टावरले राम्ररी काम गरेको छैन, मोबाइल चार्ज गर्न पनि पाइएको छैन,’ चौधरीले भने।

बाढीले राप्ती नदीको बाघखोर–सुनखरे र लौकी–खोकरी खण्डमा रहेका बिद्युत तारमा क्षति पुर्‍याएको कुसुम सामुदायिक ग्रामीण बिद्युत सहकारी संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष देवबहादुर केसीले राप्तीको बाढीले बिद्युत तारमा क्षति पुर्‍याएपछि तीन दिनदेखि राप्ती पारीका आधा दर्जन गाउँमा सेवा अवरुद्ध हुन पुगेको बताएका छन्।

बाढीका कारण राप्ती सोनारी–१ अन्तर्गत पर्ने राप्तीपारीका गाउँहरू खोकरी, बसेरी, चुनाहा, दुबेरी, सुनखरे र बक्सहवा लगायत गाउँमा बिद्युत सेवा अवरुद्ध भएको छ। ‘बाढीले क्षति गरेपछि मर्मतको काममा जुटिरहेका छौं, आज पनि मर्मतको काम चलिरहेको छ,’ उनले भने ‘राप्ती वारीदेखी पारीसम्म विस्तार गरिएको बिद्युत तारलाई बाढीले कतै छिनालेको छ, कतै बेतारेको छ।’ सहकारी संस्था निरन्तर रूपले मर्मतको काममा जुटिरहेको अध्यक्ष केसीले सुनाए।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गतका नदी वारीका गाउँहरूमा पनि बिद्युत पोल तथा तारमा अविरल वर्षाले क्षति गरेको कुसुम सामुदायिक ग्रामीण बिद्युत सहकारी संस्थाले जनाएको छ। ‘राप्तीको बाढीले नदी पारीका गाउँमा पुर्‍याइएको बिद्युतका तारमा क्षति गरेको छ भने नदीवारीका गाउँमा अविरल वर्षाले धेरै ठाउँमा पोलहरू ढलेका छन्,’ उनले भने।

उक्त सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानीयापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न ६ स्थानबाट बिद्युत सेवा विस्तार गरेको छ। राप्ती नदीमा हरेक वर्ष आउने बाढीले यी स्थानका बिद्युत तार तथा पोलहरूमा बाढीले क्षति पुर्‍याउँदै आएको छ।

बिद्युत सेवामा राप्ती बाढीको क्षति रोक्न दीर्घकालीन रुपमा अग्ला टावर निर्माण गर्न आवश्यक रहेको यहाँका स्थानीय बताउँछन्। उक्त संरचना निर्माण गर्नका लागि सहकारी संस्थाको बजेटले धान्न नसक्ने अध्यक्ष केसी बताउँछन्। ‘कम्तीमा पनि यी ६ स्थानका ‘क्रसिङ’मा राप्तीवारी र राप्तीपारी दुबैतिर अग्ला टावर बनाएर बिद्युतका तार बिस्तार गर्न सकियो भने यो समस्या दीर्घकालीन रूपले समाधान हुने देखिन्छ,’ उनले भने ‘तर यसको लागि हाम्रो संस्थाको आर्थिक क्षमताले भ्याउँदैन।’

उक्त समस्याको दीर्घकालीन रूपले समाधान गरिदिन संस्थाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेको छ। वर्षे नि बाढीले क्षतिग्रस्त बिद्युत संरचना निर्माणमै संस्थाले लाखौँ रुपैयाँ आर्थिक भार खेप्नु परेको छ।

प्रकाशित: २४ असार २०८१ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App