२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

एसएलआर, कटुवा बन्दुकसहित लुटपाट, ३ जना प्रहरी नियन्त्रणमा

मुगुको कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँमा जेठ १२ गते भएको लुटपाट घटनामा संलग्नमध्ये तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–३ का आक्रोश प्रर्से भनिने गणेश भण्डारी, सोही वडाका पूर्णप्रसाद भण्डारी र गाउँपालिका–४ का कमल थापा रहेका छन्। उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत आइतवार सार्वजनिक गरेको हो।

स्थानीयहरू यार्सा संकलन गर्न गएको मौका छोपी हातहतियारसहित गाउँमा पसेर २४ घर र एक गुम्बामा उनीहरूले लुटपाट गरेका थिए।

घटनामा संलग्नहरूबाट जुम्लाको पातारासी गाउँपालिका–३ चुनेकाँध भन्ने स्थानमा ओडारभित्र लुकाई राखेको एसएलआर थान १ यसको म्यागजिन दुई थान, यसमा लाग्ने गोली २५ राउण्ड, कटुवा पेस्तोल १ थान, झोला १ थान, कम्ब्याट रंगको रेनकोट ५ जोडी कालो रंगको सल १ थान, हैण्ड सेट ३ थान र बाइनाकुलर १ थान र गोलीका खोका ३ वटा र मिस फाएर भएको गोली १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार ३५ तोला सुन, ९ सय ९४.५ तोला चाँदी, बुद्धका मूर्ति २, रिणमोक्ष मूर्ति १ मुगाको माला ९५ तोला यार्सा मोबाइल नगद ५० लाख २५ हजार रुपैयाँसहित अन्य धनमालहरू लुटपाट गरेको पीडितहरूले जाहेरी दिएका थिए।

जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मुगु, जुम्ला र कर्णाली प्रदेश प्रहरीले विभिन्न ७ वटा स्थानमा प्रहरी टोली खटाई घटना भएको १ महिनापछि घटनामा संलग्नहरू ८ जनामध्ये तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

प्रहरी घटनामा संलग्नहरूलाई जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान बिक्री गरेर पश्चात जुम्ला प्रहरीमार्फत बरामद गरेको छ। प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुटपाट गर्दै आएको थिए।

प्रकाशित: २४ असार २०८१ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App