२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

जलमग्न सुदूरपश्चिम, प्रभावित जनजीवन

लगातारको वर्षातले सुदूरपश्चिम जलमग्न हुनुका साथै जनजीवन प्रभावित बनेको छ।

गाउँबस्तीमा बाढी र पहिरोको जोखिम बढ्नुका साथै विभिन्न राजमार्ग तथा सहायक मार्गहरु अवरुद्ध भएका छन्। सुदूरपश्चिममा विगत २४ घण्टामा भारी वर्षा भएको छ। जसले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बनाएकाे छ।

विगत २४ घण्टामा सबैभन्दा बढी वर्षात् २४१ मिलिमिटर वर्षात् कञ्चनपुरको दोधारा चाँदनीमा भएको छ। यो अत्याधिक भारी वर्षा हो।

यस्तै, कञ्चनपुरको बेलौरीमा १८५ मिलिमिटर, धनगढीको एयरपोर्टमा १२७ मिलिमिटर, डडेल्धुराको शाहूखर्कमा १६८ र डडेल्धुरा सदरमुकाममा १४० मिलिमिटर वर्षात् भएको छ।

२४ घण्टामा औषत १४० मिलिमिटर भन्दा बढी वर्षात् भएमा भारी वर्षा मानिन्छ। यो अनुपात हेर्दा सुदूरपश्चिममा विगत २४ घण्टामै भारी वर्षा भएको देखिन्छ।

जलवायू तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार सुदूरपश्चिममा विगत २४ घण्टादेखि भारी वर्षा भइरहेको छ। जसले सुदूरपश्चिमको तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई जलपीडा भोग्नु पर्ने बाध्यता रहेको उनले सुनाए।

उनले भने, ‘भारी वर्षा भइरहेको छ। यो अझै सोमबार दिउँसोसम्म चल्ने छ, त्यसकारण सुदूरपश्चिममा बाढी र पहिरोको जोखिम बढी छ।’

उनले भारी वर्षा भइरहेका कारण सुदूरपश्चिमका नागरिकलाई चनाखो हुन सचेत गराए। उनले भने, ‘जतिसुकै बेला पनि बाढी र पहिरोको जोखिम छ, सबैले यो बेला सचेत हुन जरुरी छ।’

वर्षातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लाका ग्रामीण भेगका कच्ची सडक अवरुद्ध भएका छन्। जसले गर्दा गाउँ र सदरमुकामको सम्बन्ध विच्छेद भएको छ। डोटीको बीपीनगर–बोगटान जोड्ने सडक पनि अवरुद्ध छ।

यस्तै, डडेल्धुराको आलिताल गाउँपालिका–८, सुनखोलामा पहिरो खस्दा बुडर–जोगबुढा सडक अवरुद्ध भएको छ। यस्तै, वर्षातकै कारण गौरीगंगा नगरपालिका–७, कटैनी खोलामा आएको बाढीको सतह बढ्दा बस्ती जोगाउन बनाइएको ड्याम भत्किँदा कम्दा, महादेवा टोलको बस्तीमा बाढी पसेको छ।

प्रकाशित: २३ असार २०८१ २०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App