२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटकीय गन्तव्य बन्दै गुफापाताल

इलामको सूर्याेदय नगरपालिका–४ स्थित पर्यटकीय गुफापाताल आएका आगन्तुक। तस्बिर : भीम/नागरिक

इलामको सूर्याेदय नगरपालिका–४, गुफापाताल पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदैछ।

भारतीय सीमासँग जोडिएको उच्च भू–भाग भएकाले दिनहुँ धेरै संख्यामा भारतीय पर्यटक यहाँ आउन थालेका छन्। वरिपरि मनमोहक, हरियाली डाँडाकाँडा, धुपीसल्लाका आकर्षक कोणधारी रुख, फूल र वनजंगलले गुफापाताललाई आकर्षण थपेका छन्। 

यहाँबाट इलाम, झापालगायत पहाडदेखि तराईसम्मका जिल्लाका विभिन्न भू–भाग र कञ्चनजंघासमेतका हिमाल–हिमशृंखला देख्न सकिन्छ। भारत सिलिगुडीबाट आएका पर्यटन विजय शर्माले गुफापातालको सौन्दर्यमा आफू मख्ख परेको सुनाए।

‘मैले यो ठाउँको नाम त सुनेको थिएँ तर आउन पाएको थिइनँ,’ उनले भने, ‘निकै आकर्षक ठाउँ रहेछ, यो नेपाल र इन्डियाका धेरै ठाउँ देखिँदोरहेछ।’ चिसो ठाउँ भएकाले गर्मी मौसममा यहाँ बंगालका पर्यटक हुलका हुल आइरहेका छन्।

बालबालिका, किशाेर–किशाेरी, प्रेमजोडी, प्रौढ, वृद्धवृद्धा सबै उमेर समूहका पर्यटकले गुफापाताललाई गन्तव्य बनाइरहेका छन्।

समुद्री सतहबाट करिब दुई हजार २४ मिटर उचाईमा पर्छ गुफापाताल। हिउँदमा पशुपतिनगर, बौद्धधाम र अन्तुबाट गाडीमा सहजै यहाँ पुग्न सकिन्छ। बर्खामा यी ठाउँबाट पैदलै र पशुपतिनगरबाट गाडीमा जाँदा करिब सात किलोमिटर भारतीय भूमिको बाटो जानुपर्छ।

यहाँ दृश्यावलोकनका लागि भ्युटावर बनाइएको छ। सँगै दोकानसहितको पाहुनाघर पनि छ। नजिकै ‘आई लभ नेपाल’ अक्षर लेखिएको स्तम्भ राखिएको छ। यहाँ आइपुग्ने पर्यटक सबैजसो भारतीय नै हुने भएकाले उनीहरूलाई तस्बिर, भिडियो खिच्ने पृष्ठभूमिका रूपमा यो स्तम्भ राखिएको गुफापाताल पर्यटन समितिले जनाएको छ।

केचना–कञ्चनजंघा पर्यटन विकास समितिले करिब पाँच लाख रुपैयाँ लगानीमा यो स्तम्भ निर्माण गरेको हो। गुफापाताल पर्यटन समिति अध्यक्ष मीरा राईले अहिले यहाँ दिनहुँ धेरै संख्याका पर्यटक आइरहेको बताइन्। बर्खाको मौसममा पनि यहाँ पर्यटक आइरहेको उनको भनाइ छ।

समितिका पूर्व अध्यक्ष हर्कधन तामाङले यहाँको टावर पुनर्निर्माण गरी थप आकर्षक बनाउनुपर्ने बताए। ‘गेस्ट हाउस, टावर जीर्ण भएका छन्, मर्मत र थप आकर्षक बनाउनुपर्छ,’ उनले भने, ‘खानेपानी, शौचालयको समस्या छ। हामी वर्षौंदेखि यो क्षेत्रको पर्यटन विकासमा लागेका छौं तर अझै केही स्रोत आयो भने यहाँको पूर्वाधार विकास गर्न सकिने थियो।’

यहाँ आउने पर्यटकका लागि चिया, खाजा खानेसम्मको सामान्य व्यवस्था रहेपनि बास बस्ने होमस्टे छैनन्। तर, केही व्यवसायीले होटल र लजसमेत खोलेकाले यहाँ आउने पर्यटकलाई बसोबास गर्न खास समस्या चाहिँ नभएको व्यवसायी बताउँछन्।

‘धेरै पर्यटक आउँदा चाहिँ उनीहरूलाई बास बसाउन निकै हम्मे पर्छ,’ स्थानीय व्यवसायी रविन राईले भने, ‘म होटल बनाउँदै छु, निर्माणाधीन नै भएपनि पर्यटक आउने, बस्ने गरिरहेका छन्, टाढा–टाढाका पर्यटकले यहाँ आउन पहिल्यै सम्पर्क गरी बुक गरिरहेका छन्।’

आफ्नो होटलमा आउने पर्यटकले प्रतिव्यक्ति एक हजार दुई सय भारतीय रुपैयाँमा दुई छाक खाना, खाजा, चिया र एक रात बास बस्न सक्ने उनले सुनाए। ‘अहिले (असार) सिजन होइन तर पनि दिनहुँ पाँच–सात पर्यटक बास बस्न टुटेको छैन मेरो होटलमा। कतिपयले पछिलाई बुक गरिसकेका छन्।’

केचना–कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले गुफापाताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको बताए। ‘यहाँको पूर्वाधार विकासमा हामीले पनि केही लगानी गरेका छौं,’ उनले भने, ‘अझै पूर्वाधारका केही काम बाँकी छन्।’

धौरालीले पर्यटकीय पूर्वाधार विकासमा गरिएको लगानीको प्रतिफल स्थानीय समुदायले प्राप्त गर्नुपर्ने बताए। ‘यहाँ होमस्टे व्यवस्थित बनाउनुपर्छ, पर्यटकलाई धेरै दिन टिकाउने प्रोडक्ट उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘पर्यटकका माध्यमबाट स्थानीय समुदाय आर्थिक रूपमा लाभान्वित भयो, यहाँका बासिन्दाको जीवनस्तर सुधार भयो भनेमात्रै सरकारी लगानीको अर्थ रहन्छ। त्यसमा प्रयत्न गर्नुपर्छ।’

समितिका सल्लाहकार प्रकाश अधिकारीले गुफापाताल र आसपास क्षेत्रको पर्यटकीय विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए।

‘पर्यटन प्रवर्द्धनका लागि स्थानीय समुदाय जागरूक बन्नुपर्छ,’ उनले भने, ‘प्रकृतिले यो ठाउँलाई ज्यादै आकर्षक बनाएको छ, यो ठाउँको प्रचारमा लाग्न सके बर्सेनि हजारौं पर्यटक गुफापाताल आउन सक्छन्।’

प्रकाशित: २३ असार २०८१ १९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App