२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएपछि पानीको बहाव घट्दो, उच्च सतर्कता जारी

कोसी ब्यारेजमा आइतबार ५६ वटै ढोका खुल्ला गरिए पछिको अवस्था। तस्बिर: नागरिक

सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढेर खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको छ। शनिबार बिहान १० बजेदेखि सबै ढोका खुल्ला गरिएको हाे।

पानीको बहावमा कमी नआएसम्म भारतीय पक्षलाई निरन्तर सबै ढोकाहरु खुल्ला राख्न लगाउने स्थानीयले प्रशासनले जनाएको छ।

आइतबार बिहान १० बजेको मापन अनुसार तीन लाख ७० हजार १५० क्यूसेक पुगेपछि सबै ढोका खुल्ला गरिएको थियो। साँझ ५ बजे पानीको बहाव तीन लाख ९३ हजार ७१५ पुगेकोमा ६ बजे भने तीन लाख ८५ हजार ६५० क्यूसेकेमा झरेको छ।

पहाडी जिल्लामा निरन्तर पानी परि रहेकाले सप्तकोसीमा पानीको बहाव बढिरहेको छ। जस कारण सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा समितिले आइतबार कोसी ब्यारेज क्षेत्रसँगै प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार कोसीमा निरन्तर पानीको बहाव बढेपछि कोसी ब्यारेजदेखि चतरा पुलसम्म अनुगमन गर्दा कुनै खतरा भने देखिएको छैन। उनले कोसीको बीचमा रहेको श्रीलंका टापुका बासिन्दालाई पनि अहिलेसम्म कोसीले असर नपुर्‍याएको प्रहरीबाट सूचना प्राप्त भएको बताए।

सप्तरीतर्फ पनि कोसीले प्रभाव पार्ने क्षेत्र हनुमाननगर कंकालिनी र त्रिलाठी कोइलाठीका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीमार्फत सूचना सकुर्लर गरिएको प्रमुख जिल्ला अधिकारी मघेबहादुर मगरातीले बताए।

‘अहिलेसम्म क्षति नै चाहिँ भएको छैन,’ उनले भने, ‘यद्यपि, प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा ल्याएर राख्न पूर्व तयारी गरिएको छ।’

कोसी ब्यारेजमा साँझ छ बजेको मापन अनुसार केही हदसम्म पानीको बहाव घटेको छ। सप्तकोसी चतरा जल मापन केन्द्रले दिउँसो ४ बजे एक लाख ७२ हजार पाँच सय क्युसेक मापन गरेको कोसी योजना आयोग विराटनगरका सम्पर्क भू आर्जन अधिकृत प्रमोद पौडेलले जानकारी दिए। यस आधारमा पहाडी जिल्लामा वर्षा मथ्थर भए सप्तकोसीमा पानीको बहाव घटने निश्चित छ। तर, पहाडी जिल्लामा वर्षा निरन्तर भएमा अझ बढ्नेछ।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख काट्ने बितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

कोसी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो।

यस्तै, पानीको बहाव बढी पुग्ने क्रममा सन् १९८७ मा पाँच लाख एक हजार ७७१ क्युसेक, सन १९८९ सेप्टेम्बर १९ मा चार लाख ७२ हजार १९३ क्युसेक, सन् २००४ जुलाई ११ मा तीन लाख ९८ हजार ६६९ क्युसेक र २०१९ जुलाई १३ मा तीन लाख ७१ हजार ११० क्युसेक पानीको बहाव थियो।

यस्तै, सन् २०२० मा तीन लाख ३४ हजार नौ सय, सन २०२१ मा दुई लाख ७४ हजार, सन् २०२२ मा दुई लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा चार लाख ६२ हजार ३४५ क्युसेक पानीको बहाव मापन गरिएको थियो।  

सन २०११ साल वैशाख १५ गते नेपाल र भारत बिच कोशी योजना सम्बन्धी सम्झौता सम्झौता पश्चात् कोशी ब्यारेज बनेको थियो।  

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

प्रकाशित: २३ असार २०८१ १९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App