२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पोखरासँग हवाई र स्थलमार्गको सम्पर्क टुट्यो

बिस्तार हुँदै गरेको राजमार्गमा झरेको लेदोले झनै सकस

अविरल वर्षापछिको भेलको मारमा परेको तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्ती बजार। तस्बिर सौजन्यः भीमलाल श्रेष्ठ

अविरल वर्षापछिको पहिरोले पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ। मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भएको प्रहरीले बताएको छ।  

स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानैदेखि बन्द रहेको छ। विमानस्थलमा भिजिविलिटी अपुग भएको विमानस्थलले बताएको छ। अरुबेला बिहान ६ बजे नै खुल्ने विमानस्थलबाट शनिबार कुनैपनि उडान हुन नसकेको विमानस्थलले बताएको छ।  

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीका अनुसार गण्डकी प्रदेशको मुकाम पोखरा सबैतिरको यातायात सञ्जालबाट बिच्छेद भएको छ। हवाई यातायात पनि हुन नसकेको उनले बताए। सिद्धार्थ र पृथ्वी राजमार्गमा बढी समस्या भएको उनले बताए।  

उनका अनुसार बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको तनहुँस्थित आँबुखैरेनी गाउँपालिका–२ मा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। स्थानीय प्रशासनले राजमार्गका विभिन्न ठाउँमा पहिरो झरेकोले वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ। त्यस्तै तनहुँकै म्याग्दे गाउँपालिका–६ मौरीमा पनि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। मौरीमै सडकको हिलोमा फँसेका सवारीका कारण राजमार्गमा यातायात अवरुद्ध भएको थियो।

‘पहिरोले आवागमन रोक्ने नै भयो, बिस्तारको क्रममा रहेको राजमार्गमा माथिबाट लेदो बगेर आउँदा झनै समस्या थपिएको छ,’ रेग्मीले भने, ‘पहिरो गएको ठाउँमा खुलाउने प्रयास जारी छ। तर, एकैपटक धेरैतिर पहिरो खसेकोले राजमार्ग सुचारु गर्न सहज छैन। बगेर आउने लेदो रोक्ने उपाय छैन।’ लेदोमा फँसेका गाडीका कारण राजमार्ग सुचारु गर्न अझै समस्या भएको उनले बताए।  

‘ठाउँठाउँमा पहिरो खसेको छ। जिल्लामा भएभरको सुरक्षा जनशक्ति परिचालन भएको छ,’ उनले भने। उनका अनुसार पृथ्वी राजमार्गको तनहुँको सदरमुकाम दमौलीबाट भित्री बाटो हुँदै साना सवारी पोखरातर्फ गएपनि राजमार्गमा रोकिएका ठुला सवारीका यात्रु भने अलपत्र परेका छन।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीमा रोकिएका नागरिक संवाददाता बसन्त ढुंगानाका अनुसार पहिरो र लेदोले गर्दा गाडी गुड्न सक्ने अवस्था छैन। ‘बिहान ९ बजेदेखि नै राजमार्ग अवरुद्ध भएको छ। साना सवारी तनहुँ सदरमुकाम दमौलीबाट भित्री बाटो हुँदै पोखरातर्फ लागेपनि ठुला सवारी भने मुख्य राजमार्गमा रोकिएका छन,’ ढुंगानाले भने, ‘लामो समय राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र परेका छन ।’ राजमार्ग बन्द हुँदा ठूलो संख्यामा यात्रुले सकस खेपेको उनले सुनाए।

प्रदेश प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोला पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ  त्यस्तै पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुंगा–बेनी सडकमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै बेनी–जोमसोम सडक खण्डको म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।  

वर्षाका कारण भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि खुल्न सकेको छैन। विमानस्थलका सूचना अधिकारी प्रमोद नेपालका अनुसार अरुबेला बिहान ६ बजे खुल्ने विमानस्थल शनिबार बिहानैदेखि बन्द रहेको छ। ‘अविरल वर्षाले गर्दा भिजिविलिटी पुगेन। त्यही भएर विमानस्थल बन्द भएको होे। शनिबार कुनैपनि उडान हुन सकेनन,’ उनले भने।  

उनका अनुसार यो बेला बुद्धले पोखरा–काठमाडौं दिनमा १७ वटा उडान गर्दै आएको छ। बुद्धको पोखरा–भैरहवा र पोखरा–भरतपुर उडान पनि हुन सकेका छैनन। त्यस्तै यती एयरलाइन्सका काठमाडौंं–पोखरा १० वटा उडान थिए। त्यस्तै श्री एयरलाइन्सका उडान पनि रोकिएका छन। सबै हवाई उडान नहुँदा पोखरा विमानस्थलमा यात्रुको भीडभाड रहेको उनले बताए । ‘विमानस्थल खुल्ने समय यकिन गर्न सकिन्न। किनकी वर्षा भईरहेकोले कतिबेला खुल्छ भन्न सकिन्न,’ उनले भने।  

प्रकाशित: २२ असार २०८१ १६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App