२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सिक्टा ब्यारेजका ४ ढोका अझै खुलेन, नजिकका गाउँ डुबानको जोखिम

बाँकेको अगैयामा रहेको सिक्टा सिचाई आयोजनाको ब्यारेज। तस्बिर सौजन्य: वसन्त ओली

राप्ती नदीमा पानीको सतह ह्वात्तै बढेपनि सिक्टा सिचाई आयोजनाले बाँकेको अगैयास्थित ब्यारेजका १४ वटा मात्रै ढोका खोलेको छ।

ब्यारेजका कुल १८ वटा ढोका मध्ये ४ वटा ढोका अझै बन्द छ। ब्यारेजका सबै ढोका नखोल्दा अगैयाभन्दा माथिका केही गाउँहरूमा बाढी पसेको र गाउँ नै डुबानमा पर्ने जोखिम बढेको स्थानीय बासिन्दाले बताएका छन्।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्‍याइसकेको इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज दोर्णबहादुर खड्काले जानकारी दिए।

राप्तीको बाढीले बाघखोरका स्थानीय बासिन्दा खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा क्षति पुर्‍याएको बताइएको छ।

स्थानीय बासिन्दा माधव रावतका अनुसार राप्तीको बाढी सोही गाउँका राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर पनि पस्न लागेको छ। बाढी राप्ती सोनारी–१ अन्तर्गत पर्ने कुसुम क्षेत्रका अन्य गाउँमा पनि पसेको बताइएको छ।

राप्ती सोनारी–२ अगैयाका स्थानीय बासिन्दा वसन्त ओलीले सिक्टा सिचाई आयोजना कार्यालयले ब्यारेजका सबै ढोका एकैसाथ नखोल्दा नदीमा पानीको सतह बढिरहेको बताए।

‘सिक्टा सिचाई आयोजनाका १८ वटा ढोका मध्ये ४ वटा ढोका अझै पूर्ण रुपमा बन्द अवस्थामा छन्,’ उनले भने ‘यी ढोका नखोल्दा थप क्षति हुने डर छ।’

उनका अनुसार आयोजना कार्यालयले शनिबार दिउँसो ३ः३० बजेसम्म ब्यारेजका १४ वटा मात्रै ढोका खोलेको छ। ब्यारेजका ढोका नम्बर १, ५, १७ र १८ बन्द नै रहेको उनले बताए।

बाढीले अगैयास्थित राप्ती नदीमा रहेको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको स्थानीय बासिन्दा ओलीले बताए। यस्तै, अगैयास्थित मसानघाटमा रहेको प्रतीक्षालय पनि बगाउन लागेको उनले जानकारी दिए।

‘राप्तीको बाढीले बगाएर ल्याएको रुख झोलुङ्गे पुलमुनि आएर अड्किएको छ, यसले गर्दा पुल नै बग्ने अवस्थामा पुगेको छ,’ उनले भने ‘मसानघाटमा रहेको प्रतीक्षालय पनि बगाउने अवस्थामा छ।’

यता सिक्टा सिचाई आयोजनाका निर्देशक देवराज निरौलाले ब्यारेजका सबै ढोका खोलिसकेको जिकिर गरेका छन्। ‘हामीले ब्यारेजका सबै ढोका खोलिसकेका छौं,’ उनले भने।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर ७० सेन्टिमिटर पुगेको ईप्रका कुसुमका इन्चार्ज खड्काले बताए।

प्रकाशित: २२ असार २०८१ १६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App