२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

उज्यालोमा हिड्न पनि चाँगुबासीले कर तिर्नुपर्ने !

उज्यालो नगरपालिका भए बापत भक्तपुरको चाँगुनारायण नगपालिकाबासीले कर तिर्नुपर्ने भएको छ। नगरबासीले प्रति रोपनी ५० रुपैयाँ कर तिर्नुपर्ने बनाएको हो।

उज्यालोको लागि प्रति रोपनीको ५० रुपैयाँ मालपोत कर तिर्नुपर्ने बनाएपछि नगरपालिकाका नगर सभाषद्हरुबाटै विरोध भएको छ। आर्थिक वर्ष २०८१।०८२ को बजेट मार्फत नगरपालिकाले उज्यालो कर लिने घोषणा गरेको हो।

नगरपालिकाले व्यवस्था गरे अनुसार बाटो नभएको जग्गाहरूको दुई सय, गोरेटो बाटो जोडिएका जग्गाहरूको दुई सय २५, कच्ची मोटर बाटोमा जोडिएका जग्गाहरूको दुई सय ५० र पक्की मोटरबाटोमा जोडिएका जग्गाहरूको सबैभन्दा बढी तीन सय ५० रुपैयाँ मालपोत (भूमिकर) लिने व्यवस्था गरेको हो । एक रोपनी भन्दा बढी क्षेत्रफल भएको जग्गामा प्रतिआना थप रु १० मालपोत (भूमिकर) लाग्ने व्यवस्था नगरपालिकाको बजेटले गरेको छ ।

चाँगुनारायण नगरपालिकाको एउटा वडाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यले नगरपालिकाले जनतामाथि उज्यालोमा हिडन पनि कर तिर्नुपर्ने बनाएको भन्दै विरोध जनाए। आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै उनले भने, भन्ने बेला नगरपालिका रे तर उज्यालोको लागि पनि नगरबासीले कर तिर्नुपर्ने भयो।

भक्तपुरको चाँगुनारायण नगरपालिका पछिल्लो घोषित नगरपालिका हो। यसअघिका विभिन्न गाउँ विकास समितिहरू मिलाएर यो नयाँ नगरपालिका घोषणा भएको थियो । यस कारण यो नगरपालिका क्षेत्रमा धेरै खुल्ला क्षेत्रहरू छन्, जहाँ किसानले बालीनाली लगाउने गर्दछन् । यस नगरपालिकामा ९ वटा वडाहरू छन्।

सार्वजनिक बजेटमा जग्गा किनबेच बापत आर्थिक वर्ष २०७९।८० मा  ३५% रजिस्टेशन कर बढाएको थियो । मालपोत कर प्रति रोपनी ४० थियो भने ८१/८२ मा मालपोत कर ७५% बढाएको छ।

सवारीसाधन बापत चाँगुबासीले तिरेको कर मात्र आठ करोड आउने गरेको छ भने जग्गा किनबेच बापत ४२ करोड आम्दानी हुने गरेको तथ्याङ्क छ। यति धेरै कर उठ्ने नगरपालिकामा हामीले  शिक्षा , स्वास्थ्य र रोजगारी उद्यमशीलतामा के पायौं? अर्का कार्यपालिका सदस्यले भने।

नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोतका रुपमा सिफारिस दर, व्यवसाय रजिस्ट्रेसन शुल्क, पानी ठेक्का, घर–नक्सा पास दस्तुर रहेको नगरपालिकाले जनाएको छ। आ.व. २०८१/८२ को लागि कुल रु. ३२ करोड ५५ लाख २० हजार यही क्षेत्रबाट आम्दानी हुने प्रक्षेपित आन्तरिक आय अनुमान गरेको छु ।

यसका अलावा वित्तीय समानीकरण अनुदानतर्फ सङ्घीय सरकारबाट रु. १६ करोड ७६ लाख, राजश्व वाडँफाडबाट रु. ११ करोड २३ लाख तथा सशर्त (चालू) कार्यक्रम मार्फत रु. ३६ करोड ८१ लाख ५३ हजार र सशर्त पुँजीगततर्फ रु. ६ करोड १७ लाख प्राप्त भएको नगरपालिकाले जनाएको छ। त्यस्तै समपूरक अनुदान मार्फत सङ्घीय सरकारबाट रु. १ करोड ५० लाख र विशेष अनुदानमार्फत रु. ४ करोड ५० लाख प्राप्त भएको जनाएको ।

बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण मार्फत रु. १ करोड ७२ लाख ४८ हजार र सशर्त (चालू) कार्यक्रम मार्फत रु. २ करोड ३२ लाख ८५ हजार प्राप्त भएको छ। त्यस्तै समपूरक अनुदानमार्फत प्रदेश  सरकारबाट रु. ३ करोड र विशेष अनुदानमार्फत रु. ७० लाख प्राप्त भएको छ।

सवारी साधनको राजस्व बाँडफाँटबाट रु. ८ करोड १३ लाख ३४ हजार र घर–जग्गा रजिस्ट्रेसनबाट रु. ६० करोड गरी कूल जम्मा रु. ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान बजेटमा गरेको छ। नगरपालिका सञ्चित कोषमा मौज्दात रकम रु २१ करोड ४४ लाख ९२ हजार २ सय मात्र अनुमान गरेको छ।

प्रकाशित: ११ असार २०८१ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App