१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पक्राउ परेका बंगलादेशी सांसदको हत्या आरोपीलाई लिएर प्रहरी अलमलमा!

बंगलादेशका सांसदको हत्या आरोपमा एकजना नेपालमा पक्राउ

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगालदेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो।

उनलाई नेपाल प्रहरीले विमानस्थलबाट पक्राउ गरेको भनिए पनि स्थानबारे अझै केही खुलेको छैन। यो विषयमा प्रहरीले आधिकारिक रूपमा केही नबोले पनि स्रोतले भने बंगलादेशका सांसदको हत्या आरोपित बंगलादेशी नागरिक नेपालको सीमा क्षेत्रबाट पक्राउ परेको दाबी गरेको छ। प्रहरी स्रोतले भन्यो, ‘उनी (बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेन) पक्राउ परेको सत्य हो। उनी सीमा क्षेत्रबाट पक्राउ परेका हुन्।’ हुसेन सांसद हत्या आरोपित रहेको थाहा पाएपछि उनलाई विशेष निगरानी साथ प्रहरी हिरासतमा राखिएको स्रोतले बतायो।

हुसेनलाई लिन ढाका प्रहरीको टोली काठमाडौं आएको छ। तर नेपाल प्रहरीले दिन मानेको छैन। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले सो विषयमा जानकारी नभएको बताए। ‘मलाई यो विषयमा जानकारी छैन, नोटिस नै छैन,’ उनले शनिबार नागरिकसँग भने। बंगलादेश र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण पक्राउ परेका संदिग्ध हुसेनको विषय प्रहरीले गुपचुप राखेको हो। विगतमा यस्ता व्यक्तिहरू पक्राउ पर्दा गुपचुपमा पठाइने गरिएको थियो। अहिले भारत र बंगलादेश दुवैले संदिग्ध हुसेनलाई आआफ्नो देश फर्काइदिन आग्रह गरेकाले नेपाल प्रहरी अलमलमा परेको हो।

ढाका प्रहरीको तीन सदस्यीय टोली हुसेनलाई लिन शुक्रबार नेपाल आएको हो। ढाका महानगरीय प्रहरीको टोली शनिबार साँझसम्म नेपाल प्रहरीका उच्च अधिकारीसँगको संवादमा छन्। ‘नेपाल प्रहरीले पक्राउ गरेका मोहम्मद सियाम हुसेनलाई बंगलादेश पठाउन मानेको छैन। सायद उनलाई ढाका प्रहरीको जिम्मा लगाइँदैन,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।

ढाकाबाट प्रकाशित हुने ‘ढाका ट्रिबुन’ को अनलाइन संस्करणमा नेपालमा हुसेन पक्राउ परेको लेखिएको छ।

ढाका महानगरीय प्रहरीका अतिरिक्त आयुक्त हारुनोरो रसिदले नेपालमा एक संदिग्ध बंगलादेशी पक्राउ परेको भन्दै ढाका ट्रिबुन अनलाइन संस्करणलाई जानकारी दिएका छन्। उनकै भनाइ उद्धृत गर्दै ढाका ट्रिबुन अनलाइन संस्करणले हुसेन नेपालमा पक्राउ परेको जनाएको छ।

बंगलादेशका सांसद अनारको २२ मे मा भारतको कोलकातामा हत्या भएको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा भारतीय प्रहरीले केहीलाई पक्राउ गरिएको र केही संदिग्ध व्यक्ति फरार रहेको जनाएको थियो । हत्या आरोपमा तीनजना बंगलादेशी र एक भारतीय पक्राउ परेको भारतीय समाचार संस्थाले जनाएका छन्। तर हत्यामा संलग्न भनिएका हुसेनसहित अन्य चारजना फरार रहेको भारतीय समाचार संस्थाले जनाएका छन्। त्यसमध्ये हुसेन नेपालमा पक्राउ परेको प्रहरी स्रोतको दाबी छ।

बंगलादेशका सांसद अनारको हत्या आरोपित केही व्यक्ति भारतमै पक्राउ परेको र केही नेपाल पसेको भारतीय गुप्तचर संस्थाहरूले जनाएका थिए। त्यसकै आधारमा नेपाल प्रहरीले संदिग्ध व्यक्तिहरूमाथि निगरानी बढाएको थियो। हत्या आरोपमा भारतमा पक्राउ परेका जिहाद हवलदारले शव टुक्राटुक्रा पारेर फालेको बयान भारतीय प्रहरीलाई दिएका थिए।

बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन्। उनीहरूले दुवईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे। गत वर्ष अनार र अख्तरुज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो। त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो। अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन्। बंगलादेश प्रहरीले अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ। अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको थियो।

समाचार एजेन्सी पिटिआईका अनुसार बंगलादेशी प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारीहरू घटनाको अनुसन्धान गर्न कोलकाता गएका थिए। त्यहाँ उनीहरूले हत्या आरोपमा पक्राउ परेका हवलदारसँग सोधपुछ गरेका थिए। यसअघि शनिबार सिआइडीले गिरफ्तार अभियुक्त हवलदारलाई उद्धृत गर्दै सांसद अनारको फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो। उनलाई बेहोस बनाउन क्लोरोफर्म प्रयोग गरिएको थियो। यसपछि उनको सिरानीको सहाराले हत्या गरिएको हवलदारले बयानमा बताएका थिए। अनारको शवलाई चक्कु र ब्लेडको सहायताले टुक्राट्क्रा पारेको बयान पनि हवलदारले दिएका थिए। हत्याराले शवका टुक्राहरूलाई प्लास्टिकको झोलाले बेरेर सुटकेसमा राखेर लगेको सिआइडीले जनाएको छ।

सांसद अनार मे १७ मा बेपत्ता भएका थिए। त्यही क्रममा बंगलादेश सरकारले उनको हत्या भएको घोषणा गरेको थियो। मे २२ मा फरेन्सिक टोली कोलकातामा उनको फ्ल्याटमा पुगेको थियो। त्यहाँ जुत्ताको छेउमा र ड्रइङ रुममा रगतको दाग भेटिएपछि उनको हत्या पुष्टि भएको थियो। त्यसक्रममा फ्ल्याटबाहिरको सिसिटिभी फुटेज पनि हेरिएको थियो। सिसिटिभी पुटेजमा हवलदारसहित दुईजना प्लास्टिकको झोला र सुटकेस बोकेको अवस्थामा देखिए। अनार उपचारका लागि मे १२ मा कोलकाता आएका थिए। भोलिपल्ट उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताएका थिए। त्यसयता उनी सम्पर्कमा थिएनन्। प्रहरीले यस विषयमा हनी ट्र्याप कोणबाट पनि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १९ जेष्ठ २०८१ १८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App