१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

अस्पतालमा श्रीमतीको शव ‘बन्धक’, श्रीमानले गरे सहयोगको याचना

<div><br></div>

मृतक श्यामकुमारीका श्रीमान् उमेश रामले घटनाको जानकारी गराउँदै। तस्बिर: नागरिक

उपचारका क्रममा मृत्यु भएकी श्रीमतीको शव अस्पतालले नदिएपछि श्रीमानले सहयोगको याचना गरेका छन्।

विराटनगर महानगरपालिका–२ स्थिति विराट नर्सिङ होमले मृत्यु भएकी श्रीमतीको शव नदिएपछि आइतबार श्रीमान् उमेश रामले पत्रकार सम्मेलन गर्दै सहयोगको याचना गरेका हुन्।

ट्याक्टरले ठक्कर दिएर घाइते भएकी उनकी श्रीमती श्यामकुमारी रामलाई उपचारका लागि चैत ५ गते नर्सिङ होममा भर्ना गरिएको थियो। बेहोस अवस्थामा भर्ना गरिएको उनको उपचारकै क्रममा शुक्रबार राति अस्पतालले मृत घोषणा गर्‍यो।

उमेशले अस्पताललाई तिर्नुपर्ने रकमको केही प्रतिशत बुझाइसकेको तर सबै भुक्तानी एक साथ नदिँदा अस्पतालले श्रीमतीको शव नै नदिएको गुनासो गरे। उनले भने ‘उपचारका क्रममा लागेको औषधि र अस्पतालको शुल्क बुझाउन बाँकी छ। शुल्क नदिएसम्म शव नदिने भनेको छ। म सँग भएको सबै पैसा बुझाइसके। अहिले आर्थिक अवस्था पनि कमजोर छ। हजुरहरुसँग सहयोगको अपिल गर्छु।’

उनले उपचार गर्दा अस्पताललाई दिनुपर्ने १२ लाख २२ हजार २ सयमध्ये ३ लाख ५२ हजार बुझाइ सकेको बताए। ‘अब बाँकी रकम तिर्न मसँग कुनै स्रोत छैन। अस्पतालले मृत श्रीमतीको शव दिए दाहसंस्कार गर्ने थिए। अस्पतालको बाँकी रकम बरु बिस्तारै तिर्छु। औषधिको पनि ८ लाख रुपैयाँमध्ये ५ लाख बुझाइ सकेको छु, त्यो पनि बिस्तारै तिर्छु। तत्कालै तिर्न सक्ने अवस्था मेरो छैन।’

सप्तरी बलान–बिहुल गाउँपालिका–२ की ४० वर्षीय श्यामकुमारीलाई हाट बजार जाने क्रममा चैत ५ गते बोदेंबसाइन–१ मा ट्याक्टरले ठक्कर दिएको थियो। स १ त ३२८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो।

ठक्कर दिने ट्याक्टर चालक श्रवण सायदलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। उमेशका अनुसार ट्याक्टर चालकले हालसम्म एक लाख मात्र दिएको छ।

नर्सिङ होमका लेखा अधिकृत सुवास पोखरेलका अनुसार मृतक श्यामकुमारीको उपचार गर्दा लागेको १२ लाख २२ हजार २ सय रुपैयाँमध्ये ८ लाख ७० हजार तिर्न बाँकी रहेको बताए।

सुवास पोखरेलले भने, ‘बेहोस अवस्थाकी उनको टाउको शल्यक्रियापछि भेन्टिलेटरमा केही समय राख्दै जनरल वार्डमा सिफ्ट गरिएको थियो। जनरल वार्डमा सिफ्ट गर्दा कोमा मै थिइन्। केही हदसम्म बिरामी ठिक हुँदै गए पनि पछि बिरामीको ‘इम्युनिटी पावर’ कमजोर भएको हुँदा रिकभर गर्न सक्नु भएन।’

अस्पतालले लागेको शुल्क मात्रै उमेशसँग मागेको उनले बताए। ‘हामीहरुले बिरामीको आफन्तलाई सुरुमै अवस्था गम्भीर छ, उपचार गर्दा खर्च ठुलै हुन्छ भनेका थियौं। उहाँहरुले अस्पताललाई बुझाउनु पर्ने शुल्क तिर्नु पर्‍यो। थोरै भए अस्पतालले पनि हेर्न सक्थ्यो होला। तर, यहाँ रकम संख्या बढी छ।’

प्रकाशित: ६ जेष्ठ २०८१ १७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App