१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

अपीका सञ्चालक नै जाली : पत्नीका नाममा ‘इन्साइडर ट्रेडिङ’

४८ नम्बरको सेयर ब्रोकर कम्पनीबाट अपिका सञ्चालक इन्द्रमणि त्रितालले गरेको कारोबार।

साना लगानीकर्ता मर्कामा परेको अवस्थामा राम्रो लाभांश दिने कम्पनीहरूको सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ गरेको खुलेको छ। अपी पावर कम्पनी लिमिटेडका सञ्चालक इन्द्रमणि त्रितालले पत्नी सीता घिमिरे त्रितालका नामबाट इन्साइडर ट्रेडिङ गरी धितोपत्र ऐन र धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ उल्लंघन गरेको पाइएको हो।

धितोपत्रसम्बन्धी ऐन–२०६३ को परिच्छेद ९ को दफा ९१ देखि १०० सम्म इन्साइडर ट्रेडिङको व्याख्या र कानुनी प्रावधानको व्यवस्था छ। ती दफामा धितोपत्रको भित्री कारोबार र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था छ। त्यस्तै धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा परिवार वा सदस्य वा कम्पनीसँग सम्बन्धित व्यक्तिका नाममा शेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ।

‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारका सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिदबिक्री गर्न, गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन’, धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ३८ को १ (क) मा लेखिएको छ।

कम्पनीमा रहेका ठुला लगानीकर्ताले कम्पनीको सेयर थोरै मूल्यमा किन्ने गर्छन्। र, लाभांश दिने निर्णय सार्वजनिक भएपछि साना लगानीकर्ताले सो कम्पनीको सेयर बढी मूल्यमा किन्नुपर्ने अवस्था आउँछ। सञ्चालक त्रितालले त्यही अवस्था सिर्जना गरेर सेयर खरिदबिक्री गरेको देखिन्छ।  

कम्पनीको मूल्य बढ्नेबित्तिकै पुनः सो कम्पनीको सेयर धेरै मूल्यमा बिक्री गरी नाफा बुक गरिहाल्ने प्रवृत्ति बढ्दै जाँदा साना लगानीकर्ता इन्साइडर ट्रेडिङ गर्नेहरूबाट ठगिँदै आएका छन्।  

त्रितालले २०७७ कात्तिक २५ गते पत्नी सीताको नाममा ४८ नम्बरको सेयर ब्रोकर कम्पनीबाट कारोबार सुरु गरेको देखिएको छ। स्रोतले उपलब्ध गराएका कागजातअनुसार २०७८ कात्तिक २ गते उनले ९६ पटक कारोबार गरी बन्द गरेको देखिन्छ। त्यस अवधिमा उनले पत्नीका नामबाट ११ हजार ६ सय कित्ता सेयर खरिद गरेका थिए।

खरिद गर्दा उनको ३७ लाख ८७ हजार ९ सय ३० रूपैयाँ लगानी भएको देखिन्छ। त्यसपछि उनले ३१ हजार ६ सय २६ कित्ता सेयर बिक्री गरेका थिए। जसबाट १ करोड २१ लाख ६६ हजार ७ सय ८ रूपैयाँ नाफा कमाएको कागजातबाट खुलेको छ।

अपी पावर कम्पनीले तत्कालीन समयमा कायम एक कित्ता सेयरबराबर नयाँ ०.३९ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशनको तयारी गरेको थियो।

प्राप्त विवरणअनुसार कम्पनीले एक सय रूपैयाँअंकित दरका १ अर्ब ८ करोड ६० लाख रूपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्ने सूचना बाहिर आएपछि सञ्चालक त्रितालले पत्नी सीताको नामबाट इन्साइडर ट्रेडिङ गरेको स्रोतको दाबी छ। ‘उनले कारोबार गरेको समयमा सेयरमा निकै उत्तारचढाव आएको देखिन्छ,’ स्रोतले भन्यो। कागजातअनुसार उनले त्यतिबेला पत्नीका नामबाट प्रतिकित्ता सेयरको कारोबार ५ सय २७ रूपैयाँसम्ममा गरेको देखिन्छ।

अपी पावर कम्पनीले हकप्रद सेयर निष्काशनका लागि २०७८ चैत १४ मा सेयर दाखिला खारेजी (बुक क्लोज) गरेको थियो। यसअनुसार २०७८ चैत १३ सम्म नेप्सेमा कारोबार भई कायम त्यस कम्पनीका शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउँथे। त्यसअघि नै सञ्चालक त्रितालले पत्नीका नाममा इन्साइडर ट्रेडिङ गरेर कात्तिकमा कारोबार टुंग्याएको कागजपत्रबाट देखिन्छ। चैत २५ देखि सर्वसाधारणले हकप्रद सेयर लिएका थिए। त्यही सेयर बेचेर उनले हकप्रद सेयरसमेत लिएका थिए।

यस विषयमा जिज्ञासा राख्दा धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले कस्तो खालको कारोबार गरेको हो त्यसैअनुसार कारबाही हुने बताए। उनले धितोपत्र बोर्ड ऐन उल्लंघन गरेको भए त्यसैअनुसार त्रिताललाई कारबाही हुने बताए।

‘यो विषय तपाईंले भनेपछि मात्र थाहा भयो, हामीले हेरेका छैनाैँ तर ऐन उल्लंघन भएको हो वा नियमावली, नियम उल्लंघन भएको हो, त्यो अनुसन्धानबाट थाह हुन्छ, धितोपत्र नियमावलीले सञ्चालक भएको एकाघरका परिवारको सदस्यलाई पनि कारोबार गर्न रोक लगाएको छ,’ श्रेष्ठले भने।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले पनि कानुन उल्लंघन गरेको अवस्थामा कारबाही भएका दृष्टान्त दिँदै गल्ती गर्नेले कारबाही भोग्नुपर्ने बताए। ‘इन्साइडर ट्रेडिङ हो कि होइन, त्यो अनुसन्धानबाट पत्ता लाग्छ। जो कोहीले पनि ऐन, नियम उल्लंघन गर्न पाउँदैनन्’, उनले भने।

अपी पावर कम्पनी २०६० सालमा स्थापना भएको हो। २०७० सालमा अपी पब्लिक कम्पनी लिमिटेडमा परिणत भएपछि त्रिताल कम्पनी सचिव भएका हुन्। त्यसयता उनी निरन्तर कम्पनी सचिव, सञ्चालक समिति सदस्य छन्। उनी दुई कार्यकाल सर्वसाधारणको तहबाट सञ्चालक सदस्य चुनिए।

पत्नी सीताको नामबाट सेयर खरिदबिक्री गर्दा उनी सञ्चालक समिति सदस्य थिए। अपी पावरले २०७८ सालमा जारी गरेको एक कागजातअनुसार उनी २०७२ सालदेखि सञ्चालक समिति सदस्य भएको खुल्छ। अहिले पनि उनी सञ्चालक सदस्य छन्।

यतिमात्र होइन, त्रिताल यस्तै प्रकृतिको अर्को कम्पनीको पनि सञ्चालक छन। इन्हवा हाइड्रोपावर कम्पनीमा उनको ५० हजार कित्ता र पत्नी सीताको नाममा ७० हजार कित्ता सेयर छ। दोस्रो बजारबाट पनि सेयर खरिद गरी उनी सर्वसाधारणको तर्फबाट सञ्चालक समिति सदस्य बनेका हुन्। यो कुरा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता कागजातामा उल्लेख छ। उर्लावारी मोरङ स्थायी घर भएका त्रिताल अपी पावर कम्पनीमा आउनुअघि पिपुल्स इन्भेस्टमेन्ट कम्पनी र ग्रामीण विकास बैंकमा कार्यरत थिए।

यस विषयमा त्रितालले सीता घिमिरे त्रिताल आफ्नी पत्नी भएको र उनका नामबाट सेयरसम्बन्धी कुनै कारोबार नगरेको बताए। ‘यस्तो काम गर्न मिल्दैन हजुर, कारोबार भएको छैन’, उनले भने। उनले आफू लामो समयदेखि अपीमा सञ्चालक समिति सदस्य रहेको पनि स्वीकार गरे। ‘म १० वर्ष भयो सञ्चालक समितिको सदस्य रहेको, यस्तो कारोबार गर्न मिल्दैन हजुर, गरेको छैन’, उनले भने। ४८ नम्बरको ब्रोकर कम्पनीबाट ९६ पटक कारोबार भएको बताउँदा पनि उनले अस्वीकार गरे।

अपी पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानले सञ्चालक समितिको पदाधिकारीले त्यस्तो कार्य गरेको विषयमा आफूलाई जानकारी नभएको बताए। ‘उहाँले त्यस्तो गर्नुभएको छजस्तो लाग्दैन, कानुनतः त्यस्तो गर्न मिल्दैन। यो विषयमा उहाँलाई म सोध्छु’, न्यौपानले भने।

धितोपत्रसम्बन्धी ऐनबमोजिम लगानीकर्ताहरू समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ।

यसअघि रिडी हाइड्रोपावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेले त्यही कम्पनीको सेयर किनबेच गरेका थिए। न्यौपानले रिडी हाइड्रोपावर कम्पनीको अध्यक्ष रहँदा २०७७ चैत १९ देखि २०७८ भदौ ४ गतेसम्म सोही कम्पनीको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता बेचेका थिए। यस विषयमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतले केही महिनाअघि १ वर्षको जेल सजाय तोकेको छ। 

यसअघि न्यौपानेलाई धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ नगद जरिवाना गरेको थियो। धितोपत्रसम्बन्धी ऐन, २०६३ दफा १०८ अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्षको अवधि पुरा नभएसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने व्यवस्था छ। सोहीअनुरूप धितोपत्र बोर्डले उनलाई ७५ हजार जरिवाना र १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सोसरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको थियो।

के हो इन्साइडर ट्रेडिङ  

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूका आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको मानिने धितोपत्र ऐनमा उल्लेख छ।

संगठित संस्थाका सञ्चालक, कर्मचारी वा सेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, सो संगठित संस्थालाई पेसागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति भित्री कारोबारमा संलग्न हुन सक्छन्।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ को दफा ९१ देखि १०० सम्म यसबारे उल्लेख गरी कानुनले इन्साइडर ट्रेडिङको व्याख्या र कानुनी प्रावधानबारे तोकेको छ। सो परिच्छेदमा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था पनि छ।

ऐनमा इन्साइडर ट्रेडिङ गर्नेलाई बिगोबराबरको जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकोमा संशोधनका लागि प्रस्तावित विधेयकमा बिगो नखुलेमा एक लाखको ठाउँमा १० लाख र एक वर्षसम्म कैद सजायको ठाउँमा तीन वर्ष तोकिएको छ।

विधेयकमा बिगो खुलेको अवस्थामा भने बिगो बमोजिमको जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ। त्यस्तै विधेयकमा मूल्यमा उतार चढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा र जालसाजीयुक्त कारोबार गरेमा ५० हजार रूपैयाँदेखि एक लाख पचास हजार रूपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायको सट्टा बिगो नखुलेमा एक लाख ५० हजार रूपैयाँदेखि चार लाख ५० हजार रूपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजायको भागीदार हुने प्रस्ताव गरिएको छ।

धितोपत्र बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्नेमाथि कठोर सजायको प्रावधानसहित ऐन संशोधन विधेयक तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दर्ता गराए पनि अहिलेसम्म पारित भएको छैन।

प्रकाशित: ३ जेष्ठ २०८१ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App