जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि अर्को स्थानमा निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ ।
इटहरीको रंगशाला पछाडि रहेको जेष्ठ नागरिकको भवनमा प्रहरी कार्यालय पुनःस्थापना गरि निर्माण गरिएको भवन हस्तान्तरण गरिएको हो । इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ताको सक्रियतामा प्रहरी कार्यालयको भवन पुनःस्थापना गरि हस्तान्तरण गरिएको हो ।
सुरक्षा चुनौती मानिएको इटहरीमा जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय प्रहरी चौकी तरहराको नयाँ भवनमा सरेको थियो । त्यसपछि इटहरी उपमहानगरपालिकाको अग्रसरतामा इटहरी रंगशाला पछाडि स्थानान्तरण गरिएको थियो । यसका लागि इटहरी वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा छ सदस्यीय समिति बनाइएको थियो भने स्थानीय उपभोक्ता समितिका तर्फबाट इटहरी नागरिक समाजका पूर्व अध्यक्ष सन्त डुम्जनलाई संयोजक बनाइएको थियो ।
स्थानीय उपभोक्ता समितिका संयोजक डुम्जनका अनुसार पहिलाको जेष्ठ नागरिक समाजको भवनमा प्रहरीलाई आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि कुल ५३ लाख ३५ हजार ८०० रुपैयाँ खर्चिएको छ । जसमा उपमहानगरपालिकाका तर्फबाट ४४ लाख ३७ हजार ५२ रुपैयाँ र अरु बाँकी स्थानीय उपभोक्ताबाट लगानी भएको छ । स्थानीय उपभोक्तामध्ये खानेपानी तथा सरसफाईं कार्यालयले कुल पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
जेन–जी आन्दोलनको पहिलो दिन भदौं २३ गते इटहरीमा दुई जनाको मृत्यु भएपछि त्यसको भोलिपल्ट आक्रोसित भएको समूहले विभिन्न सरकारी कार्यालय, सार्वजनिक पद धारण गरेका व्यक्ति र प्रहरी कार्यालयलाई निसाना बनाएर आगजनी तथा तोडफोड गरेको थियो । जसमा प्रहरी कार्यालयतर्फ इलाका प्रहरी कार्यालय इटहरीसँगै हलगडा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पकली आगजनी गरेका थिए । हलगढा र इलाका प्रहरी कार्यालय पकली जेनजी आन्दोलनको दुई सातापछि पुर्नस्थापित भएको थियो । जेनजी पुस्ताको आन्दोलनका कारण खनार प्रहरी र जनता बस्तीको प्रहरी चौकीमा आशिंक क्षती भएको थियो । तरहराको प्रहरी चौकी जलाउन गएको समूहलाई भने स्थानीयले प्रतिकार गरेपछि जोगिएको थियो ।
इटहरीमा डिएसपीको दरबन्दीमा इलाका प्रहरी कार्यालय छ । त्यस्तै, इटहरीको जनसंख्या वृद्धिसँगै इलाका प्रहरी कार्यालय पकलीले पनि चारवटा वडा वडा नं. १५, १६, १७ र १८ को शान्ति सुरक्षालाई आफ्नो क्षेत्राधिकारभित्र राखेर हेर्ने गरेको छ । इटहरीको तरहरामा नयाँ र पुरानो गरेर दुईवटा, खनार र वडा बालग्राममा स्थायी प्रहरी चौकी रहेको छ । यस्तै, तालतलैया, हवाई चोक, पूर्वी गैसार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बुढी खोला र शान्ति झोडामा अस्थायी प्रहरी चौकी रहेको छ । यहाँ सिआरभी प्रहरीको बिट पनि रहेको छ । अहिले इटहरी मातहात १६१ प्रहरीको दरवन्दी छ । इलाका प्रहरी कार्यालयमा भने अलगै इनिस्पेक्टरको नेतृत्वमा प्रहरीको दरबन्दी छ ।
प्रकाशित: २३ पुस २०८२ १८:५९ बुधबार





