८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

मुर्कुची–पुँवारे सडकमा कालोपत्रे सुरु

मुर्कुची–पुँवारे खण्डको सडकमा रिटेनिङ वाल लगाउँदै ।

उदयपुरको पहाडी क्षेत्रमा लाईफलाईन बन्दै गएको मुर्कुची–पुँवारे खण्ड सडक कालोपत्रे गर्ने क्रम सुरु भएको छ । सदरमुकाम गाईघाटदेखि रौतामाई ७ मुर्कुची, पुँवारे हुँदै गाउँपालिका केन्द्र भुट्टार र छिमेकी लिमचुङबुङ मुकाम बाराहा जोड्ने मुख्य नाका रहेको सो सडक यस वर्ष ३ किलोमिटर कालोपत्रे हुन लागेको हो ।  

चालु आर्थिकवर्ष गाउँपालिकाले १.५ किलोमिटर कालोपत्रे गर्ने काम थालिसकेको छ भने सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय लाहानले १.४ किलोमिटर कालोपत्रे गर्दैछ । रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सो सडक समपूरक बजेटबाट ३ करोड २३ लाख लागतमा निर्माण कार्य थालिएको हो ।  

त्यसैगरि डिभिजन सडक लाहानले चालुवर्षकै योजनाअन्तर्गत ३ करोड लागतमा कालोपत्रेको काम थालेको हो । केही महिनाअघि मात्र सम्झौता भएका दुवै योजनाको काम धमाधम सञ्चालन भईरहेको छ । आगामी ०८३ जेठ मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता अनुसार दुवै योजना ठेक्का लागेर द्रुतगतीमा भईरहेको अध्यक्ष मगरले बताए ।  

गाउँपालिका र सडक डिभिजन दुवै खण्डमा गरि मुर्कुचीदेखि कोल्टेसम्मको ३ किलोमिटर सडक यो वर्ष कालोपत्रे थपिने अध्यक्ष मगरले बताएका छन् । उनका अनुसार गतगर्ष डिभिजनकै बजेटबाट सोही खण्डको मुर्कुचीदेखि झण्डै १ किलोमिटर कालोपत्रे भईसकेको छ । मुर्कुची–पुँवारे खण्ड १२ किलो तथा पुँवारे–भुट्टार १२ गरि मुर्कुचीदेखि रौतामाई मुकाम भुट्टार खण्ड २४ किलोमिटर रहेको छ ।  

सो सडक रौतामाईकै ७ र ८ नं. वडाबासीलाई र समरदुकाम गाईघाटदेखि लिमचुङबुङ मुकाम बाराहासम्म आउजाउ गर्न अत्यावश्यक भएकाले छिट्टै स्तरोन्नति मर्मत गर्न स्थानीयले माग गर्दै आएका छन् । सो सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न सङ्घीय सरकारले आर्थिकवर्ष ०७८÷७९ मा ५० करोड बजेट विनियोजन गरेको थियो । तर, गाउँपालिका जनप्रतिनिधिको लापरबाहीका कारण समयमा सम्झौता प्रक्रिया अघि नबढाउँदा फिर्ता (फ्रिज) भएको थियो ।  

मुर्कुचीबाट माझखर्क, बाराहा, बाँसबोटे हुँदै खोटाङ सीमाना कुनाईघाटसम्मका लागि विनियोजित बजेट रौतामई र लिमचुङबुङ गाउँपालिका अध्यक्षबीच आपसी बिबादका कारण फ्रिज भएकोमा स्थानीयले अत्यन्त दुःख मनाउ गरिरहेका छन् । तत्कालीन प्रतिनिधिसभा साँसद तथा माओबादी नेता सुरेशकुमार राई (हिमाल)को पहलमा विनियोजित उक्त बजेट ०७९ मा विर्नाचित नयाँ साँसद अम्मर रायमाझी तथा गाउँपालिका अध्यक्षद्वयका कारण फ्रिज भएको स्थानीयको गुनासो छ ।  

जनप्रतिनिधिले सरकारबाट विनियोजित बजेट बिबादरहित भएर विकास निर्माणको काम थाल्नुपर्नेमा पार्टीगत पूर्वाग्रह राख्नुका साथै भूगोल र स्थानको विषयलाई लिएर बिबाद गर्नाले दुवै गाउँपालिकाबासीलाई अपुरणीय क्षति भएको गम्भीर आरोप स्थानीयले लगाएका छन् ।  

प्रकाशित: २३ पुस २०८२ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App