नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन्।
जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरूसँग भेटघाटको कार्यक्रम तय गरिएको छ। अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए। वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन्।
कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदिका बारेमा कार्यकर्तालाई जानकारी गराउने छन्। अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उक्त आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १,७ र २ नं वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी गरिएको थियो।
अध्यक्ष ओलीले हिजो र अस्ती दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरूसँग अलग-अलग छलफल गरेका थिए। यस पटक हरेक वडा कमिटीहरूले अलग-अलग अध्यक्षसँग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए।
प्रकाशित: ८ माघ २०८२ ०८:२८ बिहीबार





