मोरङको क्षेत्र नं ४ का अन्यतर्फका उम्मेदवार नुमा लिम्बुले समावेशी लोकतन्त्रका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्। ठूला राजनीतिक दलहरूले यौनिक अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित नगरेका कारण नयाँ पार्टी खोलेर समानता, न्याय र समावेशी लोकतन्त्रको सुनिश्चितताका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको विराटनगरमा पत्रकार सम्मेलन गरी उनले जानकारी दिइन्।
लिम्बुले समावेशी समाजवादी पार्टीबाट मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। लिम्बुले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिएर तेस्रो लिङ्गी उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिन्।
पार्टीले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। समावेशी समाजवादी पार्टीले कोशी प्रदेशको दुई वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको छ।
प्रकाशित: ८ माघ २०८२ ०८:३३ बिहीबार





