५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

धनुषा-३ : प्रतिस्पर्धामा पुराना-नयाँ अनुहार

स्थलगत रिपोर्टिङ

धनुषा निर्वाचन क्षेत्र–३ राजनीतिक रुपमा मात्र नभई सांस्कृतिक र शैक्षिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ।

राजर्षि जनक विश्वविद्यालय, एसियाली विकास बैंकको सहरी विकास आयोजना, जनकपुर–जटही–अयोध्या ६ लेन सडक र जनकपुर–जयनगर रेलमार्ग जस्ता राष्ट्रिय महत्त्वका योजना यसै क्षेत्रमा छन्। राजनीतिक रुपमा यो क्षेत्रमा नेपाली कांग्रेसको बलियो पकड भएको मानिन्छ।

धनुषम–३ मा मा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १६ वटा, नगराइन नगरपालिका, विदेह नगरपालिकाका ९ वटा वडा, मुखियापट्टी मुसहरनिया र धनौजी गाउँपालिका पर्छन्। यहाँ वैश्य समुदायको बाहुल्य छ। यो समुदायमा तेली, सुडी, कानु, कलवार, रौनियार, कसेरा, कथवनिया, सुनार, लहेरी, ठठेरीलगायत पर्छन्।

धनुषा–३ मा पूर्वमन्त्रीद्वय विमलेन्द्र निधि र जुलीकुमारी महतो पनि चुनावी मैदानमा उत्रिएका छन्। दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० मा पनि निधि र महतो उम्मेदवार थिए। त्यसबेला निधिले १ हजार ४९२ मतअन्तरले महतोलाई पछाडि पारेका थिए। निधि १५ हजार ३१ मतसहित विजयी हुँदा जुली १३ हजार ५३९ मतमा रोकिइन्।

निधि र महतो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकै क्षेत्रबाट उम्मेदवार बनेपछि नतिजा कसको पक्षमा जाला भन्ने अनुमान लगाउन कठिन छ।

मधेस राजनीतिमा सधैं चर्चामा रहने यो क्षेत्रमा पुराना र अनुभवी नेताहरूसँगै नयाँ अनुहार पनि उम्मेदवार छन्। नयाँ दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएपछि चुनावी अंकगणित थप रोमाञ्चक बन्ने देखिएको छ।

पुराना दलका कांग्रेस र एमालेका प्रभावशाली नेताहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका उम्मेदवारहरू चुनौती बन्न सक्छन्। कांग्रेस र एमालेका उम्मेदवार पार्टीको बलियो संगठन र आफ्नो व्यक्तिगत प्रभावका आधारमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्रिय छन्।

यो क्षेत्रमा रास्वपाले मनिष झालाई उम्मेदवार बनाएको छ। पुराना दल र नेताहरूप्रति बढेको वितृष्णाको फाइदा उठाएर रास्वपा यो क्षेत्रमा जित निकाल्न चाहन्छ। रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले माघ ५ गते जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गरेपछि त्यसको सकारात्मक प्रभाव स्थानीय बासिन्दा बताउँछन्।

रास्वपाका झा यहीं क्षेत्रका बासिन्दा हुन्। उनले ‘बालेन फ्याक्टर’ र नयाँ राजनीतिक तरंगलाई आधार बनाएर पुराना दलका अनुभवी उम्मेदवारहरूलाई चुनौती दिने मतदाता बताउँछन्। भौगोलिक र जनसांख्यिक हिसाबले पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ।

निर्वाचन कार्यालयको तथ्यांकअनुसार धनुषा–३ मा १ लाख २५ हजार हाराहारी मतदाता छन्। यहाँ मतदानका लागि १५५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

मुलुकमा २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भएपछिका चुनावको नतिजा हेर्दा यहाँका मतदाताले सबैभन्दा धेरै पटक कांग्रेसका उम्मेदवारलाई जिताएका छन्। सात वटा निर्वाचनमा पाँच पटक कांग्रेसका उम्मेदवार विजयी भएका छन्। एक पटक राष्ट्रिय जनता पार्टी (राजपा) र एक पटक नेकपा एमालेका उम्मेदवारले जितेका छन्।

प्रतिनिधिसभा सदस्यका लागि २०४८ सालमा भएको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना १४ हजार ३११ मतसहित विजयी भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा पनि कांग्रेसबाट उनै ढुंगाना १७ हजार ४२९ मत पाएर विजयी भएका थिए। त्यसबेला नेकपा एमालेका भोलाप्रसाद साहले १५ हजार १३३, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमबहादुर मल्लले १२ हजार ९३७ मत पाएका थिए।

त्यस्तै, २०५६ सालमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा पनि कांग्रेसकै ढुंगाना १५ हजार २६ मतसहित विजयी भएका थिए। उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) बाट हेमबहादुर मल्लले १३ हजार ७३६, नेकपा एमालेका आनन्द यादवले १० हजार २५६ र नेकपा मालेका रघुवीर महासेठले ९ हजा ९७४ मत पाएका थिए।

संविधानसभा निर्वाचन, २०६४ मा यो क्षेत्रबाट कांग्रेसका विमलेन्द्र निधि १५ हजार ५८२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिदेव मण्डलले ९ हजार ९३६ र तराई मधेस लोकतान्त्रिक पार्टी (लोसपा) का अमरेशनारायण झाले ६ हजार ९०९ मत पाएका थिए।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा पनि यो क्षेत्रबाट कांग्रेसकै निधि १५ हजार ३१ मत ल्याएर निर्वाचित भएका थिए। निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी जुलीकुमारी महतोले १३ हजार ५३९ मत पाइन्। त्यसबेला एकीकृत नेकपा (माओवादी) का हरिदेव मण्डलले २ हजार ५२३ मत पाएका थिए।

संविधानसभाबाट २०७२ सालमा संविधान जारी भएपछि २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा–३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका थिए। महतो ३० हजार ७५० मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका निधि २७ हजार ८४७ मतमा रोकिए।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा धनुषा–३ बाट एमालेकी जुलीकुमारी महतो ३३ हजार ३८८ मतसहित निर्वाचित भएकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अनिलकुमार झाले २३ हजार ६८६ मत पाएका थिए।

स्थानीय तह निर्वाचन, २०७९ मा यो क्षेत्रमा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता सामाजवादी पार्टी (जसपा) नेपालका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन्।

उक्त चुनावमा अध्यक्षका लागि कांग्रेसका उम्मेदवार रामबाबु यादवले २ हजार ४५५ र एमालेका सुशीलकुमार यादवले १ हजार ७६८ मत पाएका थिए। ६ वटा वडा रहेको यस पालिकामा ४ वटामा जसपा, एउटामा कांग्रेस र एउटामा तत्कालीन नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष निर्वाचित भएका छन्।

नगराइन नगरपालिकामा विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर मेयर निर्वाचित भएका छन्। उक्त चुनावमा मेयरका उम्मेदवार एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४, लोसपाका राजेश चौधरीले २ हजार ७५८ र जसपाका महेश मण्डलले ४४३ मत ल्याएका थिए। ९ वटा वडा रहेको यस नगरमा ४ वटामा कांग्रेस, ४ वटामा एमाले र एउटामा लोसपाका वडाध्यक्ष निर्वाचित भएका छन्।

धनौजी गाउँपालिकामा कांग्रेसका राजकुमार साह २ हजार २६२ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनीभन्दा पछाडि रहेका लोसपाका जिवेन्द्र झाले २ हजार १६३ मत, र एमालेका रामबाबु साहले १ हजार ४९५ मत पाएका थिए। पाँचवटा वडा रहेको यस गाउँपालिकामा ४ वटामा कांग्रेसका अध्यक्ष एउटामा लोसपाका अध्यक्ष निर्वाचित भएका छन्।

जनकपुरधाम उपमहानगरपालिकामा कांग्रसका मनोजकुमार साह मेयर छन्। चुनावमा कांग्रेसले जसपासँग गठबन्धन गरेको थियो। सहमतिअनुसार जसपाले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवार बनाएका थिए।

कांग्रेस निर्णयविरुद्ध मनोजकुमारले बागी उम्मेदवारी दिएका थिए। मनोजकुमार १३ हजार ४६५ मत पाएर विजयी भएका थिए। लालकिशोरले ५ हजार १९४ मत पाएका थिए।

त्यस्तै, मेयरका उम्मेदवार लोसपाका मनोज चौधरीले ५ हजार ३६० र एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत ल्याएका थिए। यो उपमहानगरपालिकामा १६ वटा वडा छन्। ७ वटा वडामा कांग्रेस, ५ वटा वडामा एमाले, ३ वटा वडामा स्वतन्त्र र एउटा वडामा लोसपाका वडाध्यक्ष निर्वाचित भएका छन्।

पछिल्लो प्रतिनिधिसभा र स्थानीय तह निर्वाचन मत परिणामले फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा एमाले र कांग्रेसबिच कडा टक्कर हुने देखाउँछ। तर मुलुकमा भएको राजनीतिक परिवर्तनपछि हुन लागेको चुनावमा मतदाताले पनि नयाँ खोजेको देखिन्छ।

प्रकाशित: १४ माघ २०८२ २१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App