चितवनको भरतपुर महानगरपालिका–१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिक नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
अस्थायी प्रहरी पोष्ट शिवनगरका अनुसार आज करिब ८ बजे राधापुरबाट पुलिस स्कुलतर्फ जाँदै गरेको बा.प्र.०६–००६ प ७७१२ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६का करिब ४० वर्षीय बिनोद सुवेदी गम्भीर घाइते भएका थिए।
घाइते सुवेदीलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा राति करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रकाशित: १४ माघ २०८२ २२:०४ बुधबार





