३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

लागुऔषध नियन्त्रण गर्न तीन महिने अभियान

चितवनमा लागुऔषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु भएको छ। लागुऔषधको केन्द्रबिन्दुको रूपमा रहेको चितवनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबारबाट तीन महिने महाअभियान सुरु गरेको हो।

अभियानको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन्। महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागुऔषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताइन्।

उनले सडक मानवमुक्त पहिलो महानगरजस्तै लागुऔषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा जोड दिइन्। अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ सहयोग र सहकार्य हुने प्रमुख दाहालले प्रतिबद्धता व्यक्त गरिन्।

जिल्लामा सबैभन्दा धेरै लागुऔषधको प्रयोगकर्ताको रूपमा युवा समूहहरू समावेश भएको तथ्यांक वृद्धि भएसँगै अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जनाकारी दिए।

पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि जिल्लामा नै पहिलोपटक सातवटै पालिकालाई लक्षितगरी लागुऔषधविरुद्धको महाअभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

 जिल्लाका सातवटै स्थानीय सरकारले तीन महिने अभियानका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ।

चितवनमा लागुऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरू पक्राउ पर्ने गरेका छन्। लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि चितवन प्रशासन आफैं सक्रियतापूर्वक लागेको यो पहिलो कार्यक्रम हो।

पछिल्लो तीन वर्षको तथ्यांकअनुसार जिल्लामा १८ देखि २५ वर्ष उमेरका सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको देखिएको छ। त्यस्तै २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत रहेका छन्। यसमध्ये सबैभन्दा बढी ६० प्रतिशत ज्याला मजदुरी गर्ने लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जानकारी दिएको छ। चितवनको पहाडी जिल्लामा गाँजाको समेत खेती हुने गर्छ।

प्रकाशित: १६ वैशाख २०८१ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App