२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनापति गाउँपालिका अब ‘थाङ्का कला हब’

मौलिकता जगेर्ना गर्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु–थाङ्का हब घोषणा गरिएको छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सुनापति गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानको आयोजनामा गाउँपालिकालाई ‘सुनापति थाङ्कु–थाङ्का कला हब’ घोषणा गरिएको हो। पालिकाको वडा नम्बर ४ मा आयोजित एक औपचारिक कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले घोषणा गरेका हुन्। घोषणासँगै पालिकामा तीन महिने थाङ्का कला प्रशिक्षण सुरु भएको छ।  

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रदेशसभा सदस्य चौलागाईंले थाङ्का हब घोषणालाई लिएर पालिकाका सबै जनताले गौरव गर्नुपर्ने धारणा राखे। उनले मौलिक कलालाई जर्गेना गर्दै रोजगारीसँग जोड्नु सराहनीय कार्य भएको सुनाए।

उनले भने, ‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रम सुरु भएको छ। यसलाई बचाउन र विकास गर्न जरुरी छ। मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु।’

प्रदेश सांसद चौलागाईंले थाङ्का कला पहिचान र अर्थतन्त्रसँग जोडिएको बताउँदै यसले अर्थतन्त्रमा विशिष्ट योगदान दिने बताए। उनले यस्ता कला र सम्पदा केन्द्रित कार्यक्रम अन्य पालिकाले पनि सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उनीहरूको ज्ञान नयाँ पुस्तामा लैजानु पनि भएको बताए।

उनले प्रतिष्ठानले मौलिकता जोगाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने उद्देश्य राखेर हबको अवधारणा अघि सारेको जानकारी दिए। उनले भने, ‘यसले पर्यटनसँगै देशको अर्थतन्त्रलाई समेत योगदान दिनेछ।’

यस्तै, पलिकाका वडा नम्बर ४ का अध्यक्ष डुन्डुप लामाले सुनापतिलाई थाङ्काको छुट्टै ब्रान्ड बनाउनुपर्ने बताए। वडाका प्रायः व्यक्तिहरू अग्रज थाङ्का कलाकारहरू भएको बताउँदै उनले भने, ‘यहाँ सिकेर बस्नुभएकाले पनि यसलाई निरन्तरता दिनुपर्छ। थाङ्का व्यवसायीसँग छलफल गर्नुपर्छ र यसको निरन्तरता हुनुपर्छ।’

गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामाले नेपालमा गणतन्त्र प्राप्त भइसकेपछि सिप सिकाएर देशको उन्नतिमा लाग्नुपर्ने धारणा राखे।  गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले यस कार्यक्रमलाई पालिकाको पाँचवटै वडामा लैजाने बताए।

उनले भने, ‘यहाँका महिला पुरुष सबैले थाङ्का लेखिरहेका छन्। सबैले सिकिरहेका छन्। यसलाई अझै व्यापक बनाउँदै थाङ्का हबलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ।’

प्रकाशित: २९ चैत्र २०८० ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App