६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

महानगरले गीत गाउने स्पिकर खाेसेपछि दृष्टि विहीनहरूको प्रदर्शन

काठमाडौं महानगरले गीत गाउने स्पिकर खोसेपछि दृष्टि विहीनहरूले प्रदर्शन गरेका छन्।

शुक्रबार दृष्टि विहीनहरूले काठमाडौँ महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। बिहीबार स्वयम्युको सडकमा गाउँदै गरेका दुई जना दृष्टिविहीनको म्युजिक स्पिकर महानगर प्रहरीले जफत गरेको थियो।

उक्त स्पिकर नदिएसम्म धर्ना जारी राख्ने दृष्टिविहिनहरुले जनाएका छन्। ‘स्पिकर नदिएसम्म धर्ना जारी रहन्छ’ नेपाल एकीकृत नेत्रहीन संघका सचिव विकराज परियाले भने। यस अघि महानगरले दृष्टि विहीनको स्पिकर खोसे पनि पछि दिने गरेकोमा यस पालि महानगर प्रहरीले नदिने भनेको परियारले बताए। ‘कसैलाई असर नपर्ने गरी गीत गाउँदा पनि महानगर प्रहरीले हाम्रो कमाइ खाने भाँडो खोसियो’ कीर्तिपुरका रमेश गिरीले भने।

विकल्प नदिइकन महानगरको कदमले हामीलाई अन्याय भएको दाङका पूर्ण बहादुर रोक्काले बताए। ‘स्पिकर नदिए हामी आन्दोलनमा जान्छौँ’ उनले भने।  काठमाडौँ महानगरले केही महिनादेखि यता नगरपालिकाभित्र सार्वजनिक स्थलमा गाउन बसेका दृष्टि विहीनहरूको स्पिकर खोस्न सुरु गरेको थियो। यो कदमले दृष्टि विहीनलाई मारमा परेपछि तीन बुँदे माग सहित प्रधानमन्त्री, काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाइसकेको उनीहरुले जनाएका छन्। 

दृष्टि विहीनहरूलाई सरकारले दिएको मासिक २१ सय भत्ता अहिलेको महँगीमा अपुग भएकोले सडकमा गीत गाएर जीविका चलाउन बाध्य भएको सचिव परियारले बताए। ज्ञापनपत्रमा कि सरकारले दृष्टि विहीनको परिवार चल्ने गरी व्यवस्थापन गर्ने, कि सक्ने खालका रोजगारी दिनु पर्ने या सडकमा गीत गाउन दिनु पर्ने उनीहरूको माग छ। देशभरिमा करिब ३ सय जना दृष्टिविहीन रहेको उनीहरूको दाबी छ। उनीहरु उपत्यका बाहिर पनि सडकमा गीत गाएर जीविका चलाउँदै आएका छन्। 

प्रकाशित: ९ चैत्र २०८० १७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App