विषाक्त आहारका कारण गिद्द संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्द मर्ने क्रम बढ्दै गएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहारका कारण एक वर्षभित्रमा २३ गिद्द मरेका छन्। विषाक्त आहारका कारण बिरामी भएका गिद्दको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरी बताए।
‘गिद्द जोगाउन ठूलो चुनौती देखिएको छ’, उनले भने, ‘विषादी प्रयोग गरेर कुखुराको मासु कुकुर र स्याललाई मार्न खुवाउने गरिएको छ। विषयुक्त मासु खाएर मरेका कुकुर र स्यालको सिनो खाँदा गिद्द मरेका हुन्।’
यसअघि गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाए पनि लुकिछिपी बिक्री हुने गरेको छ।
सो औषधिका कारण पनि गिद्द संरक्षणमा चुनौती थपिएको चराविद् बताउँछन्। डाइक्लोफेनेक औषधि प्रयोग गरी उपचार गराइएका पशुको सिनो गिद्दले खाएमा मिर्गौलामा असर भई गिद्द मर्ने गरेको चराविज्ञ डा. हेमसागर बरालले बताए।
पछिल्लो समय मरेका कुकुर, स्याललगायतको सिनोमा डाइक्लोफेनेकभन्दा कडा विषादी प्रयोग गरिँदा गिद्द मर्ने गरेको पाइएको चराविज्ञ बरालले बताए। ‘विषादी किनबेच गर्न विज्ञको सिफारिस अनिवार्य चाहिने व्यवस्था गर्नुपर्छ’, उनले भने। –रासस
प्रकाशित: ८ चैत्र २०८० १३:३७ बिहीबार





-600x400.jpg)