नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपाली जनताको हितमा काम गर्ने सरकार हुनुपर्नेमा जोड दिँदै विदेशीको इशारामा चल्ने ‘पपेट’ (कठपुतली) सरकार स्वीकार्य नहुने बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सत्ता सञ्चालनको शैलीप्रति आक्रोश पोखेका हुन्।
अध्यक्ष ओलीले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएको उल्लेख गर्दै यहाँको सरकार सञ्चालनको साँचो नेपालीकै हातमा हुनुपर्ने बताए।
उनले भने, ‘नेपालमा नेपालीको सरकार हुनुपर्छ। विदेशीको आदेश तामेल गर्ने, विदेशीको ‘पपेट’ सरकार होइन।’ ओलीले नेपालीपन र राष्ट्रियताको पक्षमा उभिनेहरूको मनोबल गिराउन र नेपालीको सरकार हुनुपर्छ भन्ने आवाजलाई दबाउन योजनाबद्ध रूपमा प्रहार भइरहेको दाबी गरे।
‘नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन आज व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैतिर आगो लगाउने काम भइरहेको छ,’ ओलीले भने।
ओलीले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई सुनियोजित रूपमा ध्वस्त पारेर नेपाललाई पूर्ण रूपमा परनिर्भर बनाउने खेल भइरहेको आरोप लगाए।
नेपालमै उद्योग धन्दा खोल्ने र रोजगारी सिर्जना गर्ने वातावरण बिगारेर व्यापारी तथा उद्योगीहरू देश छोडेर भाग्नुपर्ने अवस्था सिर्जना गरिएको उनको भनाइ थियो।
विदेशीको इशारामा चल्ने सरकारले विधि र कानुनलाई पनि आफ्नो स्वार्थ अनुसार प्रयोग गरेको ओलीको जिकिर छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले लिएको पछिल्लो निर्णयतर्फ सङ्केत गर्दै यो नाटक भएको बताए।
‘हिजो विनाकारण मुद्दा लगाउने, आज फिर्ता लिएर वा संशोधन गरेर चुनावमा ‘हिरो’ बनाउन खोज्ने ?’ ओलीले प्रश्न गरे, ‘यो सब किन गरिँदैछ भने मान्छेलाई अलमल्याउन सकियोस्। जसको सम्पत्ति खाए पनि खान पाइने, विधि र थिति नचाहिने अवस्था सिर्जना गरिएको छ।’
उनले यस्ता गतिविधिले देशमा दण्डहीनता बढाएको र बाह्य शक्तिलाई खेल्ने मौका दिएको बताए। कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको अभद्र व्यवहारको पनि निन्दा गर्दै यसलाई अराजकताको पराकाष्ठा भनेका छन्।
प्रकाशित: १ माघ २०८२ १७:१७ बिहीबार




