नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मधेसमा सुरक्षा चुनौती बढ्दै गएको बताएका छन् ।
बिहीबार नेपाल प्रहरी श्रीमती संघले बाराको महागढीमाई नगरपालिकाको गन्जभवानीपुरमा आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले समूह समूहबीच बढ्दो विवादले चुनौती बढ्दै गएको बताएका हुन् ।
सामाजिक सद्भाव उच्च रहेको सामाजमा हिंसा र झडपले अशान्ति ल्याउने उनको भनाइ थियो । सामाजिक सद्भाव भड्काउन सक्रिय रहेका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही हुने प्रतिवद्धता व्यक्त गर्दै महानिरीक्षक कार्कीले धार्मिक सद्भाव कायम राख्न हरेक घरपरिवार संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्कीले चिसो मौसमको प्रभाव नेपालमा सबैभन्दा बढी मधेसमा पर्ने गरेकोले यहाँ भएको गरीब, निमुखालाई न्यानो कपडा वितरण गरेको बताइन् ।
कार्यक्रममा दुई सय २० जनालाई न्यानो कपडा वितरण गरिएको कार्यक्रमको सहजीकरण गरेका समाजसेवी तथा वरिष्ठ अधिवक्ता अरुणकुमार ज्ञावालीले बताएका छ्न।
कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया, बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवर, पर्सा प्रहरी प्रमुख सुदीप पाठकको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित: १ माघ २०८२ १७:०० बिहीबार





