त्रियुगा नगरपालिका १६ सिरुवानीमा बिहीबार बिहान आगलागी हुँदा घर, गोठसहित जलेर लाखौँको धनमाल नष्ट भएको छ । बिहान लगभग ३:३० वजे जस्तो समयमा एक्कासी उब्जेको आगाले स्थानीय रामबहादुर विश्वकर्माको घर, घरसँगै रहेको बाख्रा खोर र खोरभि रहेका बाख्रा खसी जलेर नष्ट भएको हो ।
घर आँगनामा सुकाइएको सिन्कौली (तेजपात)मा उब्जेको आगो घरमा सङ्क्रमण भएर आगलागी भएको अनुमान गरिएको पीडित परिवारलाई उद्धृत गर्दै वडाध्यक्ष मानबहादुर राईले बताए । आगोले घर र घरभित्र भएका सम्पूर्ण धनमाल, लत्ताकपडा, भाँडाकुँडा र नगदसमेत जलाएर ध्वस्त पारे पनि मानवीय क्षति भने केही नभएको उनले बताए ।
४ जनाको सङ्ख्यामा रहेका विश्वकर्मा परिवारको जस्ता पाताले छाएको काठको दुईतले घर, टिनकै छाना भएको गोठ र बाख्रा खोर जल्दा खोरभित्र रहेका ३५ वटा बाख्रा खसी सबै जलेर खरानी भएको राईले बताए । बिहीबारै घट्नास्थल पुगेका वडाध्यक्ष राईका अनुसार विश्वकर्माको घर, गोठ भौतिक संरचना र चौपाया पूर्णरूपले क्षति भएको खरानीमा परिणत भएको छ ।
पीडित परिवारले दुई बालबालिकाको किताब कापी राखेको स्कुल व्याग, विद्यालय पोशाक, सबै लुगाफाटा तथा महत्वपूर्ण कागजात, केही नगद तथा सुनचाँदीका गहनासमेत जलेको जनाएको छ । बिहान ओछ्यानबाट व्युँझिदा आगो दनदन बलिरहेको पाएपछि गाउँलेहरुलाई बोलाएर प्रहरीसमेतको सहयोगले आगो निभाइएको थियो ।
वडाध्यक्ष राई, स्थानीयबासी र प्रहरी चौकी सुकौराबाट गएको टोलीको संयुक्त सहयोगमा ६/७ घण्टा लगाएर बिहान १०:०० बजेतिर मात्र आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट १३ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ । प्रहरी र जनप्रतिनिधिको टोलीले घट्नाको सर्जमिन मुचुल्का गरि आवश्यक राहत र पुनर्वासका लागि जिल्ला प्रहरी तथा प्रशासन कार्यालयमा सिफारिस गरिएको छ ।
पीडित परिवारलाई वडा कार्यालयको तर्फबाट प्रारम्भिक राहतस्वरुप चामल, दाल, तरकारी, नुन, तेल, भाँडाकुँडा र लत्ताकपडा सहयोग गरेको वडाध्यक्ष राईले बताए । थप राहतका लागि वडाले सम्बन्धित नगरपालिका, जिल्ला प्रशासन र प्रहरीमार्फत रेडक्रस सोसाईटीलाई पत्राचार गरिएको उनले ताएका छन् । आगो लाग्नुको कारण अहिले नै पत्ता नलागिसकेकाले खोज अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १ माघ २०८२ १७:२४ बिहीबार





