टर्कीको संसद्मा बुधबार ठुलो झडप भएको छ। सत्तारुढ दल र विपक्षी सांसदहरूबिच धकेलाधकेल र मुक्का हानाहान भएको भिडियो बाहिर आएको छ।
विपक्षी सांसदहरूले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्रीको शपथ ग्रहण लिनबाट रोक्न खोजे। राष्ट्रपति रजेप तैयप एर्दोगानले उनलाई मन्त्री नियुक्त गरेका हुन्।
गुर्लेकले इस्तानबुल प्रमुख अभियोजक हुँदा मुख्य विपक्षी दल सीएचपीका धेरै नेताहरूमाथि ठुला मुद्दा चलाएका थिए। विपक्षी दलले ती मुद्दालाई राजनीतिक प्रतिशोध भनेर आलोचना गर्दै आएको छ। इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई पनि गत वर्ष पक्राउ गरिएको थियो।
आक्रोश बढ्दै जाँदा सांसदहरूले एक अर्कालाई धकेले, केहीले मुक्का पनि हाने। पछि सत्तारुढ दलका सांसदहरूले घेरेपछि गुर्लेकले शपथ लिए।
एर्दोगानले एर्जुरुमका गभर्नर मुस्तफा सिफ्त्चीलाई आन्तरिक मामिलामन्त्री बनाएका छन्।
यो मन्त्रिपरिषद् हेरफेर पहिलो पटक सन् २०२३ को निर्वाचनपछि भएको हो। भ्रष्टाचार अनुसन्धानमा सीएचपी सञ्चालित धेरै नगरपालिकाका अधिकारी पक्राउ परेका छन्। सरकारले न्यायपालिका स्वतन्त्र रहेको दाबी गर्छ।
यसैबिच टर्कीमा संवैधानिक सुधार र पीकेकेसँग शान्ति पहलको बहस पनि चलिरहेको छ।
प्रकाशित: २९ माघ २०८२ १३:३० बिहीबार





