सम्भावित खतराको अवस्थामा उद्धार एवं चुनौतीको सामना गर्न नेपालका सुरक्षा निकायले दक्ष जनशक्ति निर्माणमा ‘साहसिक अभ्यास’ थालेका छन्।
बढ्दो साहसिक पर्यटनका साथै बाढी, पहिरो तथा भइपरी आउने विपद्जन्य घटना एवं अन्य सुरक्षा चुनौती सामना गर्न सक्ने गरी जनशक्ति निर्माणमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलागायतले आफ्नो फौज तयार पारिरहेका छन्।्
केही दिनअघि मात्रै सशस्त्र प्रहरी बलले पशुपति बाहिनीले केबलकारमा हुन सक्ने सम्भावित जोखिमको विपद् उद्धार अभ्यास गरी केबलकारमा हुन सक्ने विपद् उद्धारका लागि जनशक्ति तयार पारेको सशस्त्र प्रहरी नायम महानिरीक्षक पुरुषोत्तम थापाले बताए।
सशस्त्रले पानीमा हुने विपद् उद्धारका लागि आवश्यक जनशक्ति निर्माणमा विगतदेखि नै दक्ष जनशक्ति तयार पारिसकेको छ। कुरिनटारमा विपद् व्यवस्थापन तालिम केन्द्र नै छ। नेपाली सेनाले पनि आफ्नो अभ्यास गराउँदै आएको छ।
नेपाल प्रहरीले विपद् व्यवस्थापन महाशाखा र युक्ति तालिम महाविद्यालयबाट आफ्नो फौजहरु तयार पारिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।
उनका अनुसार अहिले महाविद्यालयबाट प्रहरी विशेष कला तथा कारबाही (कमान्डो) तालिमअन्तर्गत विभिन्न सीप प्रदान भइरहेको छ। सोही क्रममा बञ्जीको साहसिक सीप प्रदान गरी आत्मविश्वासी बनाउन नवौं समूहका एक सय १४ जना प्रहरी पर्वतको कुस्मास्थित द क्लिफमा पुगेका छन्।
कालीगण्डकी नदीको खोंचमाथि पर्वत र बाग्लुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बञ्जीजम्प सञ्चालनमा रहेकाले प्रहरीलाई साहसिक बनाउन त्यहाँ लगिएको प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए।
‘कमान्डो तालिममा धेरै खालको सीप सिकाइन्छ। प्रहरीको यो कडा खालको तालिम पनि हो। आत्मविश्वासी बनाउनका लागि कुनै पनि किसिमको खतरासँग लड्न र विपद् उद्धार एवं भीर, उच्चस्थान र पानीमा कारबाही गर्न सक्ने गरी जनशक्ति तयार पारिने छ’, उनले भने।
यसपछि उनीहरुलाई त्रिशूलीमा वाटर रेस्क्यु र तनहुँमा रक क्लाइम्बिङको अभ्यास पनि गराइने तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार यो प्रशिक्षण ९० दिनसम्म सञ्चालन हुने छ। –रासस
प्रकाशित: १८ फाल्गुन २०८० १३:०३ शुक्रबार