१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

धितो एक अर्ब, ऋण दुई अर्ब!

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकर) पक्राउ परेका छन्। मिलेमतोमा धितोको अधिक मूल्यांकन गरी दोब्बर ऋण प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सिआइबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसमेत १० जना कर्मचारीको मिलेमतोमा एक अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार सात सय रुपैयाँ ऋण प्रवाह गरेको अनुसन्धानबाट देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ।

‘धितोको अधिक मूल्यांकन गरेर ऋण प्रवाह गरेको पाइयो, यस विषयमा थप अनुसन्धानका लागि उहाँहरूलाई पक्राउ गरिएको हो,’ सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट धितोको अधिक मूल्यांकन गरी ऋण प्रवाह गरेको खुलेको छ। पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी बैंकका सिइओ तुलसीराम गौतम, कर्मचारीहरू मनोज न्यौपाने, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलीप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ छन्।

तत्कालीन सेञ्चुरी बैंकका सिइओसहित कर्मचारीले धितोको अधिक मूल्यांकन गरी प्रवाह गरेको ऋण असुल हुन नसकेपछि अहिले उनीहरू अनुसन्धानमा तानिएका हुन्।

सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएपछि अहिले प्रभु बैंकको नामबाट कारोबार भइरहेको छ।

प्रभु बैंकले उक्त कर्जा बुझाउन ऋणीलाई पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि धितो लिलामका लागि सूचना जारी गरेको थियो। तर कर्जाभन्दा धितो कम भएकाले लिलामबाट समेत असुली हुन नसकेपछि प्रभु बैंकले अनुसन्धान गर्न राष्ट्र बैंकसँग सहयोग मागेको थियो। त्यसपछि राष्ट्र बैंकले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिएको हो।

सिआइबीका अनुसार तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण दिएको थियो। बैंकले चौलागाईं र उनको परिवारको लगानीका चारवटा कम्पनीलाई उक्त ऋण दिएको थियो।

कमसल धितोमा अधिक ऋण प्रवाह गरेको देखिएपछि एक महिनाअघि नेपाल राष्ट्र बैंकले प्रभु बैंकको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा राष्ट्र बैंकले धितोको मूल्यांकन गरेको थियो। कमजोर धितोमा अधिक ऋण दिएको पाइएपछि राष्ट्र बैंकको सिफारिसमा सिआइबीले १० जना बैंकरलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

प्रभु बैंकले तीनपटक धितो लिलामीको सूचना जारी गर्दा पनि बिक्री नभएको जनाएको छ। चौलागाईं सहकारीमा बचतकर्ताले राखेको अर्बौं रकम हिनामिना गरेको आरोपमा यसअघि नै पक्राउ परिसकेका छन्।

देउराली बहुउद्देश्यीय सहकारीका बचतकर्ताको तीन अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका चौलागाईंले विभिन्न बैंकसँग साढे तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन्। उनले आफ्ना विभिन्न कम्पनीका लागि अन्य तीनवटा वाणिज्य बैंकबाट तीन अर्ब ६८ करोड रुपैयाँ ऋण लिएको पाइएपछि अन्य बैंकका कर्मचारी पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ।

‘देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटो, ललितपुरसँग आबद्ध सञ्चालक समितिका पदाधिकारी, निजहरूसँग सम्बन्धित कम्पनीको विवरण र ती कम्पनीले लिएको कर्जाको विषयमा अनुसन्धान गर्दा तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट कर्जा लिने रवीन्द्र चौलागाईंसमेत आबद्ध कम्पनीहरू पुजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिसमेतलाई कर्जा प्रवाह गर्दा बैंकमा कर्जा सुरक्षणबापत राखिने धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह भएको देखिन्छ’, सिआइबी प्रवक्ता बोगटीले भने। उनका अनुसार धितो मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार सात सय ७२ रूपैयाँ बढी ऋण प्रवाह भएको छ। अन्य तीनवटा बैंकबाट पनि यस्तै ऋण प्रवाह भएको छ।

‘सिआइबीले अन्य तीनवटा बैंकका कर्मचारीलाई पनि निगरानीमा राखेको छ’, उनले भने। यसअघि पनि बैंकिङ ठगीमा मुद्दा चलेको थियो। गोर्खा बैंक, किष्ट बैंक घोटाला प्रकरणमा पनि उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०८० ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App