१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

विभागीयलाई पनि उत्तिकै संघर्ष

एन्फा महिला लिगमा १० खेल मात्रै सकिएको छ। अर्थात् तेस्रो चरण सुरु हुन बाँकी नै छ। तर, यस अघिका लिगमा ९/१० गोल वर्षाउने कुनै विभागीय टोली शीर्ष स्थानमा अटाउन सकेका छैन। यसपल्ट उनीहरूलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ त कोसी प्रदेश। सबैले समान दुई खेल खेल्दा शतप्रतिशत जित हासिल गर्ने एक मात्रै टोली कोसी नै हो। 

कोसीलाई समान चार अंक जोडेको साबिक विजेता एपिएफ र उपविजेता नेपाल पुलिस क्लबले पछ्याइरहेका छन्। आर्मी, बागमती युथ क्लब र वालिङ नगरपालिकाको भने समान तीन अंक छन्। चन्द्रपुर नगरपालिकाको दुई र कर्णालीले एक अंक जोड्दा सुदूरपश्चिम प्रदेशले भने खाता खोल्न बाँकी नै छ।

अंक जोड्नै गाह्रो हुनुले यसपल्ट लिगमा प्रतिस्पर्धा बढेको महसुस गराएको एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे बताउँछन्। ‘पहिला एपिएफ फाइनलमै खेल्दा पनि ८/९ गोल नै हुन्थ्यो। तर, अहिले यस्तो स्थिति छैन। फुटबलमा नगरपालिका र क्लबहरूले पनि लगानी गरेका छन्। त्यसैले अहिले सबै गेम टफ भइरहेको छ,’ उनले सुनाए।

गत संस्करणमा एपिएफ पहिलो चरणमा अपराजित रहँदै शतप्रतिशत जित निकाल्न सफल भएको थियो। त्यतिखेर उसले चार गोल मात्रै बेहोर्‍यो। तर, यसपल्टको भने एपिएफलाई त्यति सहज छैन। पुलिससँगको पहिलो खेलमा एपिएफले बल पोसेसनमा राम्रो गरेको थियो। तर, स्कोरिङमा भने एपिएफ असफल रह्यो। शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीविरुद्ध २–१ को जित निकाल्न पनि उसलाई उस्तै संघर्ष गर्नुपर्‍यो।

यही लिगमार्फत प्रशिक्षणमा डेब्यु गरेका चुनबहादुर थापा र टेकबहादुर बूढाथोकीको रक्षात्मक रणनीति बुझ्न एपिएफलाई मुस्किल पर्‍यो। पहिलो हाफसम्म एपिएफले कुनै उत्कृष्ट अवसर बनाउनै सकेन। तर, इन्जुरी समयमा एपिएफले कर्नर प्रहारबाट अवसरम बनायो र त्यो नै गोलमा परिणत भयो।

अनुभवी फरवार्ड तथा एपिएफकी कप्तान अनिता बस्नेतको क्रसमा आएको बललाई आर्मीका डिफेन्डरले हेडर गर्दै बचाउने प्रयास गरेका थिए । तर, कुनै पनि खेलाडीले ‘टच’ गर्न नसक्दा अनमार्क सविता रानामगरले सहजमै गोलमा परिणत गर्दै पहिलो हाफको थप समयको तेस्रो मिनेटमा सुरुआती अग्रता दिलाइन्। यो नै जारी लिगमा एपिएफले गरेको पहिलो गोल हो । सरु लिम्बूलाई दोस्रो हाफको सुरुमै रश्मिकुमारी घिसिङको स्थानमा मैदान पठाएपछि एपिएफले आक्रमणमा तीव्रता दियो।

 एपिएफ बारम्बार चुक्दा आर्मीले खेलमा फर्किने अवसर पायो। विमला थापाले ५७औं मिनेटमा लामो क्रसमार्फत उपलब्ध गराइदिएको बललाई विमला चौधरीले जाली चुमाउँदै आर्मीलाई खेलमा फर्काइन्। त्यसपछि खेल थप रोमाञ्चक हुने आंकलन गरिएको थियो । तर, एपिएफलाई तीन अंक खोस्न भने पेनाल्टीकै साहरा लिन पर्‍यो। ६८औं मिनेटमा अनिता केसीलाई आर्मीकी गोलकिपर अञ्जना रानामगरले पेनाल्टी बक्सभित्र लडाएपछि रेफ्री प्रतीक घिमिरेले पेनाल्टी दिए। उक्त पेनाल्टीमा गीता रानामगरले गोल गर्दै एपिएफलाई तीन अंक दिलाइन्।

पहिलो जित नै गाह्रो भएर होला जीवेश त्यति खुसी देखिएनन्। उनी भन्छन्, ‘यस अघिका तीन (एएफसी च्याम्पियन्स लिग र महिला महिला लिग) खेलमा गोल गर्न सकेका थिएनौं। आर्मीविरुद्ध जित निकाल्न गाह्रै पर्‍यो। अहिले हाम्रो पनि स्ट्राइकिङ लाइनमा पनि कमजोरी नै देखिरहेको छ,’ उनले सुनाए। लिगमा पहिला झै ‘नेचुरल’ खेल प्रस्तुत गर्न नसक्दा एपिएफ उपाधि रक्षा गर्न सक्षम हुन्छ या हुँदैन अहिले नै दाबी साथ भन्न सक्ने अवस्था छैन। मुख्य फरवार्ड सावित्रा भण्डारी नहुनुले पनि एपिएफमा समस्या थपिएको छ।

अर्कोतर्फ पुलिसकी फरवार्ड रेखा पौडेल पनि लिग खेल्न आबुधावी पुगेकी छन्। गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बासहित केही खेलाडी विदेशी क्लबमा जाने प्रक्रियामै रहेका कारण पनि विभागीय टोलीलाई आगामी खेलमा थप गाह्रो हुने जीवेश सुनाउँछन्। त्यसैले एपिएफले राष्ट्रिय टोलीका खेलाडीलाई भन्दा भरखरै टोलीमा स्थान बनाएकालाई जीवेशले सेट बनाउने योजना बुनेका छन्। त्यसैले नयाँ खेलाडीलाई खेल्ने मौका दिएको उनी बताउँछन्।

अंकतालिकामा शीर्ष स्थानमा रहे पनि कोसी गोलअन्तरमा भने पुलिससँग पछि छ। पहिलो खेलमा एपिएफलाई गोलरहित बराबरीमा रोकेको पुलिसले बिहीबार सुदूरपश्चिमको पोस्टमा भने नौ गोल वर्षाएको थियो। यो नै लिगमा भएको सबैभन्दा ठूलो जित हो । पुलिसपछि सबैभन्दा बढी गोल गर्ने टोली कोसी नै हो। उसले विपक्षी टोलीको पोस्टमा ६ गोल गर्दा संकटाबाट एक गोल बेहोरेको छ। बागमतीले ६ गोल गर्दा दुई बेहोरेको छ।

आर्मीले पाँच, वालिङले चार र एपिएफले दुई गोल गर्दा अन्य टोलीको भने समान एक गोल छ। आर्मीका सहायक प्रशिक्षक टंक बुढाथोकी आफू जित्नकै लागि मैदान उत्रिए पनि नसकेको स्वीकार गर्छन्। ‘हामी जित्नै लागि भनेर आउँछौं। आजको खेलमा पनि प्रयास गरेको हो। तर, सासानो कमजोरीले गर्दा हार बेहोर्न परेको छ,’ उनले भने । तीन विभागीय टोलीसँगै कोसी र वालिङ अहिले शीर्ष पाँचमा पुग्ने बलियो टोलीको रूपमा देखा परेको छ।

अब विभागीय डर्बीमा यो सिंगल राउन्ड रोबिनमा पुलिसले पाँचाै चरणमा आर्मीको सामना गर्नेछ । अन्य खेलमा भने डर्बी भिडन्त देखिने छैन। त्यसैले अपत्यारिलो नतिजा नआए सम्भवतः माथि उल्लेखित टोलीले नै शीर्ष पाँचमा रहेर अर्को चरणमा स्थान बनाउनेछन्।

प्रकाशित: २३ भाद्र २०८१ ०६:५३ आइतबार

#ANFA Women's League #Divisional Team Top