१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेसनल मेडिकल कलेजका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध किर्ते मुद्दा दर्ता

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता भएको छ। फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो।

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालतले जनाएको छ। अदालतका एक अधिकृतका अनुसार अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनविरुद्ध मिसिल नम्बर ०८०–सिपी–०८७१ मुद्दा दर्ता भएको छ।

यस्तै तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर श्रम कार्यालय वीरगन्जमा ट्रेड युनियन दर्ता गराउन लगाएको मुद्दामा उल्लेख छ। श्रम कार्यालयले ट्रेड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फागुन ४ मा प्रबन्ध निर्देशकबाट हटिसकेका बसरुद्दिनले अस्पतालको छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ।

बसरुद्दिनले पदबाट हटाइसकेपछि फागुन १० मा प्रबन्ध निर्देशककै रूपमा श्रम कार्यालय वीरगन्जमा अस्पतालको तर्फबाट हस्ताक्षर गरेर पत्र बुझाएपछि किर्ते मुद्दा दर्ता भएको हो।

यता नेशनल मेडिकल कलेज व्यवस्थापनविरुद्ध कर्मचारीहरू आन्दोलित भएका छन्। शान्तिपूर्ण धर्ना कार्यक्रम, हाम्रो जायज माग पूरा गर भन्ने नाराका साथ कर्मचारी आन्दोलित भएका हुन्।

नेशनल मेडिकल कलेजका सम्पूर्ण कर्मचारीहरू विभिन्न १२ बुँदे माग राख्दै आज दोस्रो दिन पनि धर्नामा बसेका छन्। हिजो देखि सुरु भएको धर्नाका कार्यक्रमलाई निरन्तरता दिँदै आज दोस्रो दिन पनि धर्नाका कार्यक्रम जारी गर्दै ओपिडी सेवालाई प्रभावित बनाएका छन्।

कर्मचारीहरू व्यवस्थापन पक्षविरुद्ध बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ओपिडी सेवा बन्द गरेर धर्नाको कार्यक्रम सुरु गरिएको छ। कर्मचारीहरूले आन्दोलनमार्फत ८ जना कर्मचारीको निलम्बन फुकुवाको मागसहित १२ बुँदे माग अघि सारेका छन्।

कर्मचारीहरूले नेशनल मेडिकल प्रालिको नाफा भएमा सो बमोजिम १५ प्रतिशत बोनस उपलब्ध गराउने, कार्यरत कर्मचारीहरूको बुवा, आमा, श्रीमान्/श्रीमती, छोराछोरीहरू यसलाई अस्पतालमा उपचार गराउँदा खर्चमा ९० प्रतिशत डिस्काउन्टको व्यवस्था हुनुपर्ने, कर्मचारीहरुलाई पोसाक भत्ताबापत वार्षिक डेढ लाख उपलब्ध गराउनेसहित १२ बुँदे माग अघि सारेका छन्। नेशनल मेडिकल कलेजमा नयाँ एमडीमा सञ्चालक अध्यक्ष डा. जैनुद्दिन अन्सारीको छोरा शाहनवाज अन्सारी नियुक्त भएपछि विवाद खडा भएको छ। यसअघि एमडी रहेका महम्म्द बसरुद्दिन अन्सारीलाई हटाएर सञ्चालक अध्यक्ष अन्सारीले आफ्नो छोरालाई एमडी बनाएपछि सञ्चालक दाजुभाइमा पनि स्वामित्वको विषयलाई लिएर विवाद चलिरहेको छ।

प्रकाशित: १५ फाल्गुन २०८० १९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App