२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नारायणी अस्पतालमा एक दिनको शिशु छोडेर आमा र हजुरआमा भागे

शिशु छाडेर भाग्नुभन्दा अगाडिको हजुरआमाको तस्बिर।

वीरगञ्जमा एक दिनको शिशु (छोरी) लाई अस्पतालमा छोडेर आमा र हजुरआमा फरार भएका छन्।

नारायणी अस्पतालमा शिशु छोडेर रानीघाट–६ वीरगञ्ज घर बताउने सीता देवी र बेडी देवी फरार भएकी हुन्। सुत्केरी बेथा लागेपछि सासुआमा बेडीसँगै सीता ११ फागुन शुक्रबार बेलुका अस्पताल आएकी थिइन्। 

भोलिपल्ट शनिबार बिहान ६:३० बजे ३ केजी तौल भएकी स्वस्थ छोरी जन्माएकी थिइन्। चौथो सन्तान पनि छोरी नै जन्मिएको भनेर सासुआमा बेडी रिसाइरहेकी थिइन्। शनिबार दिनभर अस्पतालमै बसेका उनीहरु साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर भाग्न सफल भएका हुन्।

साँझ बेडमा बच्चा मात्रै देखेपछि स्वास्थ्यकर्मीहरुले उनीहरूको खोजी सुरु गरेका थिए। तर उनीहरु भेटिएनन्। आइतबार दिउँसो यो समाचार तयार पार्दासम्म उनीहरु बच्चा लिन आएका छैनन्।

प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर भागेको जानकारी दिइन्। ‘अस्पतालमा सासु र बुहारी मात्रै आएका थिएन, श्रीमान् खै भन्दा कमाउन गएका छन् भनेर भनेकी थिइन्।’ उनले भनिन् ‘ छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन्, बच्चा नै छोडेर भाग्छन् जस्तो लागेको थिएन। हिजैदेखि खोजी रहेका छौँ, भेटिरहेका छैनौँ।’

बच्चा स्वस्थ रहेको र एनआइसीयुमा राखिएको उनले बताइन्। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साहले बताए। 

‘विस्तृत विवरण अस्पतालको रेकर्डमा छैन, रानीघाट ६ भनेर ठेगाना लेखाएका रहेछन्, दुवै महिलासँग मोबाइल थिएन’ उनले भने ‘ छोरी जन्मेका कारण नै छोडेर भागेको हुन सक्छ। प्रहरीसँगको समन्वयमा खोजी भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले उनीहरूको खोजतलास जारी रहेको बताए। उनीहरुले गलत ठेगाना टिपाएर गएकोले खोजीमा कठिनाइ भइरहेको उनको भनाई छ।

‘उनीहरुले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन, पहिले नै योजना बनाएर घटना घटाएको आशंका हामीले गरेका छौँ।’ डिएसपी थापाले भने ‘ अस्पतालमा भर्ना गराउन कुनैपनि आइडी कार्ड नचाहिने हुँदा गलत गर्नेलाई पनि सहज भएको छ।’

प्रकाशित: १३ फाल्गुन २०८० १७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App