१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

विज्ञापन बोर्डको कारबाहीमा ‘कोकिल मिडिया’, दश हजार जरिवाना

विज्ञापन बोर्डले कोकिल मिडिया, अनामनगर काठमाडौंलाई दश हजार रुपैयाँ जरिवाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको छ।

विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता निशानराज गौतमले सोमबार एक विज्ञप्ति जारी गर्दै अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएपछि उक्त जरिवाना गरिएको जानकारी दिए।

बोर्डका अनुसार नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँसँग उक्त एजेन्सीले मिति २०८० असोज १२ मा गरेको सम्झौतामा उल्लेखित रकम भन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएको छ।

उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारण बापत प्रति स्पट १०६.६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट ११.११ मा प्रसारण आदेश दिई प्रति स्पट ९८.५० अर्थात् ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारबाहीको निर्णय गरेको हो।

साथै कोकिल मिडिया, अनामनगरले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमा मात्र विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ ख को उपनियम (१) बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय समेत गरेको छ।

उक्त एजेन्सी विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुबाट ५२ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएकोमा २० वटामा मात्र प्रसारणको आदेश पठाई ३२ वटा रेडियोमा प्रसारण आदेश नै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्यधिक ९८६.५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानबिनका क्रममा पाइएपछि बोर्डले जानकारी दिएको छ।

साथै बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम नियम ४ क. र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ को दफा १९ को (क) र (ख) बमोजिम बोर्डमा सूचीकृत नै नभएको विज्ञापन एजेन्सी कोकिल मिडिया, अनामनगर,काठमाडौँ तथा बोर्डमा सूचीकृत नभएका ८ वटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्ने कार्यादेश दिएको पाइएकोले अब आइन्दा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्चार माध्यमसँग मात्र विज्ञापन कारोबार गर्न गराउन विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट बमोजिम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँलाई निर्देशन दिने निर्णय गरेको छ।

विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ (पहिलो संशोधन समेत) को नियम ६ क. को उपनियम २ र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ को दफा २६ मा रहेको सरकारी निकायले विज्ञापन एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि सहित त्यस्तो एजेन्सीको सेवा शुल्क खुल्ने गरी सो एजेन्सीले जारी गरेको बिल बमोजिम भुक्तानी गर्नुपर्ने व्यवस्था विपरीत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँले कोकिल मिडिया, अनामनगर, काठमाडौँसँग मिति २०८० असोज १२ मा सम्झौता गरेको पाइएकोले विज्ञापन बापतको रकम भुक्तानी गर्दा सञ्चारमाध्यमको बिजकको प्रतिलिपि सहित एजेन्सीको कमिसन खुल्ने बिजकको आधारमा मात्र भुक्तानी गर्ने गराउने व्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँलाई निर्देशन दिने निर्णय समेत बोर्डले गरेको छ।

बोर्ड बैठकले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ र कोकिल मिडिया, अनामनगर, काठमाडौँ बिच मिति २०८० असोज १२ मा भएको सम्झौताको बुँदा नं ४ बमोजिम उक्त एजेन्सीले रेडियो सन्देश प्रसारणको कार्य सम्पन्न नगरेकोले सम्झौताको बुँदा नं ७ बमोजिम कोकिल मिडिया, अनामनगरलाई नियमानुसार कारबाही गर्न राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

कोकिल मिडियाले २०८० साल असोज १६ गते २० वटा एफएम रेडियोलाई ९ दिनमा दिनको १० स्पटका दरले ९० स्पट विज्ञापन प्रसारणका लागि आदेश पठाएको र उक्त आदेशमा सो विज्ञापन प्रसारण गरेबापत एक हजार रुपैयाँ भुक्तानी गर्ने उल्लेख भएपछि एफएम रेडियोहरूको तर्फबाट बोर्डमा मिति २०८० साल असोज १८ गते उजुरी प्राप्त भएको थियो।

उक्त उजुरी उपर छानबिन गर्न बोर्डले २०८० असोज २३ गते तीन सदस्यीय छानबिन समिति गठन गरी विस्तृत छानबिन गरेको थियो। 

छानबिनको क्रममा अत्यधिक सेवा शुल्क लिने, तोकिएका सबै सञ्चार माध्यममा विज्ञापन प्रसारण नगर्ने तथा नियमानुसार सूचीकृत भएका विज्ञापन एजेन्सी र सञ्चार माध्यमसँग मात्र विज्ञापन कारोबार गर्नु पर्नेमा त्यसो गरेको नपाइएपछि कोकिल मिडिया, अनामनगर, काठमाडौँलाई कारबाही गरिएको हो।

प्रकाशित: २९ माघ २०८० १९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App