१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा

कम्पनीको आस देखाउँदै, घरेलु कामदार बनाउँदै

झापाकी एक महिला पतिसँगको सम्बन्ध बिग्रिएपछि दुई छोराछोरीको भविष्य सम्झेर कुबेत पुगेको चार महिनामै स्वदेश फर्किइन्। साथीमार्फत चिनेका एक एजेन्टले उनलाई कुबेत पुर्‍याएका थिए।  राम्रो तलबसहित कम्पनीमा काममा लगाइदिने भन्दै एजेन्टले उनलाई त्यहाँ पठाएका थिए।

कुबेत विमानस्थलमा ती महिलालाई लिन कुबेती एजेन्ट पुगेका थिए। ‘एयरपोर्टबाट सीधै उनीहरूले आफ्नो अफिस लगे’, उनले भनिन्, ‘त्यहाँ धेरै महिला थिए। कम्पनी होइन कुबेतीका घरघरमा काम गर्न महिला जम्मा गर्ने रहेछन्। त्यहाँ पुग्नेबित्तिकै हाम्रा सबै कागजात खोसियो। घरमा काम गर्दिनँ भनेर प्रतिकार पनि गरँे। त्यो सम्भव भएन। घरमा काम गर्न बाध्य भएँ।’

पीडित महिलाका अनुसार नेपालबाट कम्पनीमा भन्दै घरेलु काममा लगाउन त्यहाँ विभिन्न एजेन्ट क्रियाशील हुने गरेका थिए। कुबेत पुर्‍याउने एजेन्टले घरेलु कामदारका रूपमा बेचिदिएको थियो। दुई बालबालिकालाई उच्च शिक्षा दिने सोचले विदेश पुगेकी ती महिलाको यात्रा सुखद रहेन।

कुबेतमा राम्रो आम्दानी हुने विश्वासमा परेको ती महिलाले बताइन्। ‘धेरै नेपाली महिलालाई कुबेतमा पठाएको छु’, एजेन्टले आफूलाई दिएको आश्वासन सम्झँदै ती महिलाले भनिन्, ‘तपाईं जानु हुन्छ भने कुबेतको राम्रो कम्पनीमा सरसफाइ गर्ने काममा पठाइदिन्छु। आम्दानी मासिक एक सय १० दिनार (४६ हजार रुपैयाँ) हुन्छ। दैनिक १० देखि १२ घन्टा काम गरे हुन्छ। कुवबेत पुग्न ६० हजार चाहिन्छ। तर त्यो रकम पछि कमाएर तिर्दा हुन्छ, बरु प्रक्रिया सुरु गरौँ।’

उनले भनिन्, ‘एजेन्टले भनेअनुसारको कागजात बुझाएँ। कागजात बुझाएको ४÷५ दिनपछि स्वास्थ परीक्षण भयो। अन्दाजी १५ दिनपछि एजेन्टले नै फोन गरेर भिसा र टिकट आइसक्यो। तिमी आजै घरबाट हिँड्नु भनेपछि बिदाबारी भएर काठमाडौं आएकी हुँ।’

कुबेत उड्न काठमाडौं आएकी ती महिलाको भेट स्वयम्बुचोकमा हुन्छ। ती महिलालाई एजेन्टले मोटरसाइकलमा राखेर काठमाडौंको आफ्नै कार्यालयमा पुर्‍याउँछन्। ‘एजेन्टको अफिसमा पुग्दा अन्य महिला पनि थिए। त्यस दिन त्यहीँ बस्यौँ। भोलिपल्ट काठमाडौंकै एयरपोर्टबाट कुबेत पुगियो’, उनले भनिन्।

कुबेती मूलका पुरुषले अरबी भाषामा कुरा गरेर अब काम गर्न जानू भन्दै गाडीमा हालेर घरमा पु¥याएको उनले बताइन्। ‘त्यहाँ मेरो काम बच्चालाई रेखदेख गर्ने, लुगा धुने, शौचालय सफा गर्नेलगायतका थिए’, उनले भनिन्, ‘खाना बनाउने कामसमेत लगाए। विदेशी भूमिमा मैले कुनै प्रतिकार गर्न सकिनँ। दिनमा १८ देखि १९ घन्टासम्म काम गर्दा पनि आराम पाइन्नथ्यो। खाना एक टाइम मात्रै पाइन्थ्यो।’

उनको त्यहाँ काम गर्ने धोको पुगिसकेको थियो। जहाँ काम गर्थिन्, त्यस घरकी मालिक्नीलाई स्वदेश फर्काइदिन उनी दिनरात आग्रह गर्थिन्। ‘काम गर्दिनँ नेपाल फर्कन्छु भन्दा पनि सुख पाइनँ। झन् घरकी साहुनीले मानसिक यातना दिन थालिन्। १२ दिन घरमै थुनेर जबर्जस्ती काम गर्न लगाइन्। त्यसपछि साहुनीले मलाई कम्पनीमा जिम्मा लगाइन्’, उनले भनिन्।

उनी मात्रै थिइनन्, त्यहाँ अन्य थुप्रै महिला स्वदेश फर्कने चाहनाले छटपटाइरहेका थिए। ‘हामी सहजै स्वदेश फर्कने अवस्थामा थिएनौं। किनकि हामीलाई त्यहाँ पुर्‍याएवापत उनीहरूले नेपाली एजेन्टलाई ठुलै रकम बुझाएका रहेछन्। त्यहाँका एजेन्टले नेपाल फर्कने भए पाँच लाख रुपैयाँ दिनू भनेका थिए।’

उनले थपिन्, ‘कुबेतको राम्रो कम्पनीमा सरसफाइको काममा लाग्ने भनेर गएकी थिएँ। घरमा पैसा माग्ने ठाउँ थिएन। सोही कारण त्यहीँ एजेन्ट अफिसमा बस्न बाध्य भएँ। एजेन्ट अफिस सञ्चालकले हामीले किनेर ल्याएका हौँ। हामीले भनेबमोजिम काम गर्नुपर्छ भनी शारीरिक यातना दिने र कुटपिट गर्ने गर्थे। साथमा मोबाइल, कागजपत्र केही थिएन। सहयोगका लागि सम्पर्क गर्न सकिने अवस्था थिएन।’

उनले बाँच्ने आशा मारिसकेकी थिइन्, तर पनि उनले बारम्बार नेपाल फर्काइदिनू भनी अनुरोध गरिरहिन्। अन्तिममा सञ्चालक एजेन्ट जति सक्नु हुन्छ त्यति रकम दिनु भने पनि पैसा खोज्नतिर लागेको उनले बताइन्। नेपालमा भएका बुढा बाबुले ऋण गरेर दुई लाख रुपैयाँ एजेन्ट जीवन विश्वकर्माको बैंक खातामा हालेपछि पनि उनी नेपाल आउन सफल भइन्।

विश्वकर्माले उक्त रकम कुबेतमा रहेको एजेन्ट अफिसमा नहालेपछि उनी झनै ठुलो समस्यामा परिन्। उनलाई अफिसमा पुनः शारीरिक मानिसक यातना दिन थाले। उनको अफिस बाहिर हिँडडुल गर्ने अवस्था पनि थिएन। उनीहरू बन्धकमा थिए। त्यहाँ रहेका सबै महिलाले स्वदेशबाट पैसा मगाउँदै गरेका उनले सुनाइन्।

‘राति थियो’, उनले भनिन्, ‘सबै सुतिरहेका थिए। शौचालय जाने बहानाले म भागेर कुबेतस्थित नेपाली दूतवास पुगें। दूतावासका कर्मचारीको सहायताले स्वदेश फर्किएकी हुँ।’ नेपालमा आर्थिक अवस्था कमजोर हुनुका साथै शिक्षामा पनि राम्रो सुधार नभएको उनी बताउँछिन्।

विदेश जानपूर्व एउटा काम भनेर लगेता पनि अर्कैमा लगाइदिने प्रवृत्ति धेरै छ। दलालले गर्दा नेपाली युवायुवतीले विदेशमा दुःख पाइरहेका छन्। फ्रि भिसा फ्रि टिकटमा कुबेतको कम्पनीमा सरसफाइका लागि भनी गए पनि त्यहाँ भनेअनुसारको काम नपाएपछि स्वदेश फर्किएर उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएकी छन्।

उनी त प्रतिनिधि पात्र मात्र हुन्, वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उनीहरूजस्तै रोजगारीको खोजीमा बिदेसिने महिला संख्या पछिल्लो समय बढ्दै गएको छ। वैदेशिक रोजगारी अँगालेर कुबेत पुगेका महिलाले अचानक स्वदेश फर्किनुपरेको छ।

उनीजस्तै फरक समयमा कुबेतको सोही एजेन्ट अफिसबाटै कसैले एक लाख ३५ हजार, कसैले दुई लाख ३० हजार र कसैले एक लाख ५० हजार रुपैयाँ तिरेर स्वदेश फर्किएका छन्। एजेन्ट जीवन विश्वकर्माले ती पीडित महिलालाई मात्रै अप्ठेरोमा पारेका थिएनन्, उनीलगायत अन्य महिलालाई पनि उही कम्पनी र उस्तै काममा लगाउने भन्दै कुबेत पु¥याएका थिए। त्यसमध्ये केही महिला आफ्नै पहलमा स्वदेश फर्किएका छन्।

‘नेपालबाट पैसा पठाएका दिदीबहिनी नेपाल फर्किएका छन्, तर पैसा तिर्न नसक्ने दिदीबहिनीको त्यहाँ बेहाल छ। कमाउन विदेश पुगेका धेरै महिलाको नेपालमा कोही आफन्त छैनन् छोराछोरीबाहेक। उनीहरू त्यहीं छन्’, कुबेतबाट फर्किएकी अर्की महिलाले भनिन्। त्यसमध्ये मानव बेचबिखन अनुसन्धान ब्युरोमा चारजनाको जाहेरी परेको छ भने अन्य महिला पनि उजुरी दिन आइरहेको ती पीडितले बताइन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीका अनुसार खासगरी अध्ययन नगरेका भन्दा अध्ययन गरेका धेरै महिला यतिखेर वैदेशिक रोजगारीले अप्ठेरोमा परेका छन्। अवैध बाटो प्रयोग गर्ने तथा पर्यटक भिसामा विदेश जाने महिला संख्या बढ्दो छ।

‘विशेषगरी घरेलु कामदारका रूपमा नेपाली महिलाको बढी माग हुने खाडी मुलुकमै हो’, उनले भने, ‘वैदेशिक रोजगारीमा जाने भनेपछि अनेक बाटा अपनाउँदै नेपाली महिला घरेलु कामदारका रूपमा खाडी मुलुकमा गइरहेका छन्।

गाउँमा जति मेहनत गर्दा पनि विदेशमा कमाएको पैसा जस्तो हुँदैन। मेहनती महिलाले विदेशमा वर्षमै ३÷४ लाख रुपैयाँसम्म कमाउन थालेपछि देखासिकी गर्ने क्रम बढेको छ। पछिल्लो समयमा महिला विदेश जाँदा समाजले पनि सामान्य रूपमा लिन थाले पनि वैदेशिक रोजगारीको खोजीमा उनीहरू पनि अग्रसर हुने गरेका छन्।

‘गाउँगाउँमा दलालको बिगबिगीका कारण सामान्य लेखपढ गरेका महिला सहजै प्रलोभनमा परी बिदेसिएका छन्। वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिला घरेलु कामदारका रूपमा जाने गर्छन्। यसरी जानेमध्ये धेरैजसो घरेलु हिंसामा परेका, लेखपढ कम भएका, गरिब र पहुँच नभएका महिला हुन्। त्यस्ता महिलालाई वैदेशिक रोजगारीमा जाँदा कसरी सुरक्षित हुनुपर्छ भन्नेबारे ज्ञान हुँदैन’, एसपी पंगेनीले भने।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ६ हजार ८४ जना महिला विदेश गएका छन्।

प्रकाशित: २५ माघ २०८० १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App