३० चैत्र २०८० शुक्रबार
समाज

पशुलाई ३० घण्टासम्म बिनादानापानी चरम यातना

राजमार्गमा न ‘होल्डिङ सेन्टर’ न स्वास्थ्य परीक्षण

विराजले पशु ढुवानी गर्न थालेको आधा दशक भयो। कम्तीमा सातामा एक पटक राँगाभैंसी लिएर उनी राजधानी काठमाडौं पुग्छन्। तर काठमाडौंसम्म राँगाभैंसी पुर्‍याउन उनलाई कम्ती सकस पर्दैन। पशुलाई गाडीमा ३० घण्टासम्म राखेर काठमाडौं पुर्‍याउन उनी बाध्य छन्। देशका मुख्य राजमार्गमा पशुका लागि दानापानी खुवाउने ‘होल्डिङ सेन्टर’ नहुँदा यस्तो समस्या भएको उनी बताउँछन्।

‘राँगाभैंसीलाई ट्रकमा हालेपछि झार्न सकस हुन्छ। उनीहरूलाई गन्तव्यसम्म नपुर्‍याउँदा दाना–पानीसमेत दिन कठिन छ,’ कैलालीदेखि राँगा ल्याइरहेको बेला चितवनको रामपुरमा भेटिएका विराजले भने, ‘राति ८ बजे हिँडेको हुँ। यतिखेर भएको छ।’

हिँडेको भोलिपल्ट उनी रामनगर आइपुग्दा साँझको ५ बजेको थियो। त्यतिखेर उनले राजधानीसम्म पुग्न अझै आठ घन्टाजति लाग्ने अनुमान गरे।

समस्या श्रीजन खड्गीको पनि उही हो। तीन पुस्तादेखि पशु ढुवानी व्यवसायमा लागेका उनी मुलुकका मुख्य राजमार्गहरूमा होल्डिङ सेन्टर भइदिए पशु र व्यवसायी दुवैलाई सहज हुने बताउँछन्।

‘अहिले पशुलाई चरम दुःख दिएर व्यवसायीले लामो यात्रा गराइरहेका छन्,’ उनले भने, ‘कम्तीमा मुख्य राजमार्गको किनारमा आठआठ घन्टाको अन्तरमा दानापानी खुवाउने होल्डिङ सेन्टर भइदिए पशुले दुःख पाउने थिएनन्।’

सडक पनि पशुमैत्री नभएको उनले बताए। ‘अहिले नारायणगढ–बुटवल सडकखण्डका कारण पशु ढुवानी गर्न कठिन भएको उनले बताए। ‘राँगाभैंसी नजिक पाइँदैनन्। कैलाली–कञ्चनपुरसम्म पुग्नुपर्छ। बीचमा झार्दा स्थानीयले अवरोध गर्छन्,’ उनले भने, ‘सरकारले राजमार्गमा एक ठाउँमा पनि होल्डिङ सेन्टर बनाएको छैन।’ लामो यात्रा गराउँदा एउटा राँगाको तौल १० केजीसम्म घट्ने उनले बताए।

पशु ढुवानी मापदण्ड–२०६४ अनुसार ढुवानीका क्रममा पशुलाई दैनिक आठ घन्टाभन्दा बढी गाडीमा हिँडाउन नपाइने भनिएको छ। तर कतिपय व्यवसायीले दाना–पानीसमेत नखुवाई कैलालीदेखि राजधानीसम्म पुर्‍याउने गरेका छन्।

अहिलेको अवस्थामा यो मापदण्ड कार्यान्वयन गर्न कठिन हुने नेपाल पशुपन्छीजन्य व्यवसायी संघका महासचिव किशोरप्रसाद शर्मा बताउँछन्।

‘नेपालमा पूर्ण पशु कल्याण सम्भव छैन। आंशिक कल्याणका लागि ठाउँठाउँमा होल्डिङ सेन्टर बनाउन जरुरी छ,’ उनले भने ‘सरकारले यसमा तदारुकता देखाउनुपर्छ। त्यसमा हामी व्यवसायी सहयोग गर्न तयार छौं।’

गैंडाकोट, चितवन कुनै एक ठाउँमा होल्डिङ सेन्टर भए पशु तथा व्यवसायी दुवैलाई फाइदा हुने उनको भनाइ छ।

पशु ढुवानी गर्ने गाडी प्रतिघन्टा ४० किलोमिटरभन्दा बढी हाँक्न पाइन्न। ब्रेकसमेत पशुलाई नउफार्ने गरी लगाउनुपर्छ। राँगा, भैंसी, बोका, खसीले टेक्ने भुइँमा ६ इन्चि बाक्लो भुस पराल वा सोत्तर हालेको हुनुपर्छ।

एउटा ट्रकमा २० वटाभन्दा बढी राँगाभैंसी बोक्न पाइँदैन। तर यी मापदण्ड पालना नभइरहेको एनिमल नेपाल चितवनकी कार्यक्रम संयोजक दीपा केसी बताउँछिन्।

‘पशुलाई नाक र पुच्छरमा बाँध्नुहुँदैन। रगत चुहाउँदै ओसारपसार गर्नुहुन्छ,’ केसीले भनिन्, ‘व्यवसायीहरू ढुवानी मापदण्ड पालना गर्न फिटिक्कै चाहनु हुन्न।’ राज्यका निकाय पनि पशु ढुवानीका समस्यामा मूकदर्शक मात्र बनेको उनले बताइन्।

पशु विभागले चितवनको रामनगरमा होल्डिङ सेन्टर निर्माण गर्न अघिल्लो वर्ष बजेटसमेत विनियोजन गरेको थियो। जग्गा उपलब्ध नहुँदा रकम फिर्ता गएको पशु क्वारेन्टाइन रामनगरका प्रमुख शिरीष गौतमले जानकारी दिए।

‘२०७८ सालमा होल्डिङ सेन्टर निर्माण गर्न ३ करोड ८० लाख आएको थियो। जग्गा नै नपाएपछि रकम फ्रिज भयो,’ उनले भने, ‘अहिले पनि जग्गा भाडामा लिन भन्दै २ लाख ४० हजार रूपैयाँ आएको छ। जग्गा अहिलेसम्म पाइएको छैन।’

होल्डिङ सेन्टरका लागि राजमार्गछेउ जग्गा आवश्यक पर्छ। यस्ता ठाउँहरूमा जग्गा पाउन मुस्किल भएको उनले बताए।

गौतमका अनुसार पशुपन्छी बोक्ने महिनामा १ हजारभन्दा बढी गाडी चितवन हुँदै राजधानी जाने गरेका छन्, जसमा रागाभैंसी बोक्ने ट्रक मात्रै २५० वटाजति हुन्छन्। राँगाभैंसी ढुवानीमा मापदण्ड पालना नभएको उनले बताए।

‘राँगाभैंसी ढुवानी गर्दा कुनैले पनि ढुवानी मापदण्ड पालना गर्दैनन्। कसले कति गरेका छन् भन्ने मात्र हो,’ उनले भने ‘अलि बढी नै मापदण्ड पालना नगर्नेहरूबाट यसपालि ६ महिनामा १ लाख २८ हजार रूपैयाँ जरिवाना उठाएका छौं।’ पशु झार्ने ठाउँ नहुँदा जाँच गर्नसमेत कठिनाइ भएको उनले बताए।

सरकारले राँगाभैंसीमा आत्मनिर्भर रहेको बताएको छ। तर नेपाल आउने ९० प्रतिशत राँगाभैंसी भारतबाट आउने गरेको नेपाल पशुपन्छी व्यवसायी संघका कार्यालय प्रमुख आत्मराम पौडेल बताउँछन्।

‘भारत सरकारले राँगाभैंसी निर्यातका लागि अनुमति दिएको छैन। जसले गर्दा पशुको स्वास्थ्यसमेत परीक्षण हुने कुरा भएन,’ उनले भने ‘स्वास्थ्य परीक्षण नगरी अवैध रूपमा ९० प्रतिशत राँगाभैसी नेपाल भित्रयाइन्छन्।’

मासिक ३ हजारको हाराहारीमा राँगाभैसी भारतबाट भित्रने उनको अनुमान छ। विशेष गरेर कैलाली, बर्दिया, नवलपरासी, वीरगन्ज, धनुषा नाकाबाट राँगाभैंसी भित्रने गरेको उनले बताए।

तिनीहरूको स्वास्थ्य परीक्षण कहीँ हुँदैन। नेपालमा कलैया, भालुबाङ, रामनगर, नागढुंगामा पशु क्वारेन्टाइन भए पनि स्वास्थ्य परीक्षण गर्न सम्भव नभएको कर्मचारीहरू बताउँछन्। उनीहरूले स्वास्थ्य परीक्षण नगरी छाप लगाउने गरेका छन्।

प्रकाशित: २१ माघ २०८० ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App