१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

राजबहादुर हत्या प्रकरण: अभियुक्तविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

१५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ। प्रहरीका अनुसार अदालतले शुक्रबार पक्राउ अनुमति दिएको हो।

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउ लिएको थियो। ‘किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पूर्जी माग गरेका थियौं, अदालतले अनुमति दिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले भने, ‘उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका छौं।’

सुर्खेतमा जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो।

हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए। जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ।

मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित छ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए।

हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकेपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन। मृतकका बुवा नन्दबहादुरले १५ वर्षदेखि अदालत र प्रहरी कार्यालय धाउँदा पनि न्याय पाउन नसकेको बताए।

‘छोराको हत्या गरेर तत्कालीन माओवादीको छैटौं डिभिजनभित्र लुकेका माओवादीका कार्यकर्ताहरु अझै पक्राउ नपर्नु उनीरुलाई राजनीतिक संरक्षण छ भन्ने बुझिन्छ,’ नन्दबहादुरले भने, ‘छोरा मार्नेहरु पक्राउ परिदिए उसको आत्माले पनि शान्ति पाउँथ्यौ होला।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कृष्ण खड्कालाई घटनाको अनुसन्धान गर्ने अधिकारी तोकेको छ। एसपी थापाले १५ वर्षअघि भएको घटना ढिलो जानकारीमा आएपछि अब त्यसलाई टुंगोमा पुर्‍याउने बताए।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी भिम ढकालले १५ वर्षअघिको हत्या घटनाका बारेमा के भएको हो त्यसको जानकारी दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइएको बताए।

‘समाचार आइसकेपछि प्रहरी प्रमुखज्यूबाट मौखिक रुपमा के भएको हो विस्तृत विवरण बुझेर जानकारी दिन आदेश भएको छ,’ उनले भने, ‘जिल्लाबाट त्यसको जवाफ दिएपछि थप विवरण भन्न मिल्ला।’

यो पनि पढ्नुहोस्

राजबहादुर हत्या प्रकरण:सत्ताकै संरक्षणमा आरोपी

यो पनि पढ्नुहोस्

माओवादी नेतृत्वकै कारण १५ वर्षदेखि फरार पञ्चा सिंह

प्रकाशित: ७ माघ २०८० १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App