१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्। मंगलबार साँझसम्म रौतहटका तीन पालिकाका विभिन्न कार्यालयमा जनप्रतिनिधिले तालाबन्दी गरिसकेका छन्।

रौतहटका कटहरिया र गरुडा नगरपालिका कार्यालयमा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन्। जनताका सेवाका लागि भने निर्वाचित जनप्रतिनिधि आपसमै तानातान गर्दै धमाधम तालाबन्दी गर्न थालेका छन्।

रौतहटको गरुडामा गत शुक्रबारदेखि र कटहरियामा सोमबारदेखि ताला लगाइएको छ। दुवै पालिकामा तालाबन्दीको नेतृत्व उपप्रमुखले गरेका छन्। यसैगरी मंगलवारदेखि वृन्दावन नगरपालिकाको सातवटा वडा कार्यालयमा वडाध्यक्षहरूले नै तालाबन्दी गरेका छन्। वृन्दावन नगरपालिकामा पनि नगर प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द छ।

गरुडा नगरपालिकाका नगर उपप्रमुख पुनम चौधरी र कटहरिया नगरपालिकामा उपप्रमुख रीतादेवी यादवको अगुवाइमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकाको मूल ढोकामै तालाबन्दी गरेपछि दुई पालिकाका सम्पूर्ण कामकाज ठप्प भएको छ। नगरपालिकामा तालाबन्दी गरिएपछि सेवाग्राही मर्कामा परेका छन्।

नगरसभाको निर्णय सार्वजनिक गर्नुपर्ने, आर्थिक २०७९÷८० को खर्च विवरण कार्यपालिका बैठकमा पेस गर्नुपर्ने, करारका कर्मचारी खारेज गर्नुपर्ने, उपप्रमुख र वडाध्यक्षका हक अधिकार दिनुपर्नेलगायतका माग गर्दै गरुडा नगर उपप्रमुख चौधरी र वडाध्यक्षहरूले नगरपालिका कार्यालयमा ताला लगाएका हुन्।

यसैगरी कटहरिया नगर उपप्रमुख रीतादेवी यादवले नगरपालिका प्रमुख अजय प्रकाश जयसवालको हैकमवादी प्रवृत्तिले नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै आठबुँदे शर्त राखेर नपामा तालाबन्दी गरिएको बताएकी छन्।

नगरपालिकामा नगर प्रमुख जयसवालले नियम र कानुनको कुनै वास्ता नगरी एकलौटी गर्ने गरेको आरोप उपप्रमुख यादवको छ। कार्यपालिकाको बैठक बोलाएर पनि सबै नगर प्रमुख जयसवाल आफू फरार हुने गरेको आरोप पनि वडाध्यक्षहरूको रहेको छ।

चालु आर्थिक वर्षको सबै हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, करारका कर्मचारीको यथार्थ विवरण र तिनको तलब भत्ताका बारेमा कार्यपालिकालाई जानकारी गराउनुपर्ने, संघ तथा प्रदेश सरकारबाट प्राप्त बजेटका बारेमा कार्यपालिकालाई जानकारी गराउनुपर्ने जस्ता आधारभूत माग कटहरिया नगरपालिका जनप्रतिनिधिले राखेका छन्।

यसैगरी वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालय सञ्चालन गर्न कठिनाइ भएको, सर्वसाधारणको काम गर्नुपर्ने अत्यावश्यक स्टेसनरी सामान पनि उपलब्ध हुन छाडेको र नगर प्रमुखको स्वेच्छाचारिताले आजित भएको कारण देखाउँदै नौ वडा भएको वृन्दावन नगरपालिकाका सातवटा वडा कार्यालयमा वडाध्यक्षहरूले नै ताला लगाएका छन्।

नगर प्रमुख विनोद कुर्मीले हैकमवादी प्रवृत्ति देखाएका कारण वृन्दावनमा कोही पनि प्रमुख प्रशासकीय अधिकृत आउन नचाहेको वडाध्यक्षहरूको दाबी छ। नगर प्रमुख कुर्मीले आफन्तलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर नगर पालिकामा भाँडभैलो मच्चाउन खोजेको आरोप वडाध्यक्षहरूको रहेको छ।

प्रकाशित: २५ पुस २०८० ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App