१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

३४ वर्षपछि फेरियो लामपाटीको छाना

फाइल तस्बिर

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ।

वि.सं. २०७२ को भूकम्पले सामान्य क्षति पुर्याएको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छाना फेरिएको हो। ललितपुरका भिभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा वि.सं. १७३४ मा निर्माण भएकोे ऐतिहासिक सम्पदा लामपाटीलाई १९९० सालकोे भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको पाटन दरबार प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिए।

उनका अनुसार सांस्कृतिक महत्व बोकेको सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले क्षति पुर्‍याएपछि पुनःर्निर्माण भएर २०४६ सालमा छाना फेरिएको थियो। पानी चुहिने समस्याका कारण पटकपटक मर्मत गरे पनि यसपटक भने पूरै छाना फेरिएको प्रमुख भण्डारीले जानकारी दिए। उनले भने, 'लामपाटीमात्र नभएर अन्य सम्पदाको छानामा बाँदर हिँड्ने भएकाले छिट्टै पानी चुहिने समस्या रहेको छ। लामपाटीमात्र नभएर अन्य सम्पदाको छाना पनि फेर्नुपर्ने जरुरी छ।'

दरबार क्षेत्रको लामपाटी नेवार समुदायले सामाजिक कार्यहरू गर्ने भए पनि हाल उक्त ऐतिहासिक सम्पदा लामपाटीलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक परियोजनाको लागि भाडामा दिएको छ। ऐतिहासिक सम्पदा लामपाटीमा रेष्टुरेन्ट र अन्य पसल सञ्चालनमा छन्।

पानी चुहिने लामपाटीमा वर्षातको समयमा त्रिपाल राखिएको भए पनि हाल त्रिपाल हटाएर छाना फेरिएको छ। छाना फेरिए पनि भूकम्पले क्षति पुर्याउँदा लामपाटी जीर्ण अवस्थामा छ। जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनःनिर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ।

छानामा प्रयोग गरिएको झिङ्गटी पुरानो भएको र फुटेका कारण लामपाटीमा पानी चुहिने समस्या रहेको डकर्मी रवीन्द्र प्रजापतिले जानकारी दिए। उनले भने, 'यदि झिङ्गटी राम्रो भयो भने ८० वर्षसम्म टिक्न सक्छ। तर छानामा बाँदर हिँडेका कारण लामपाटीमा प्रयोग गरेको धेरै झिङ्गेटी तलमाथि सरेको र पानी चुहिने समस्या रहेको हो।' रासस

प्रकाशित: २४ पुस २०८० ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App