बहुप्रतीक्षित खेलमा मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन प्रतिद्वन्द्वी न्युरोड कर्नर टिम (एनआरटी) लाई हराउँदै राष्ट्रिय लिगमा सुखद सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले शुक्रबार एनआरटीमाथि १–० को जित निकाल्दै राष्ट्रिय लिगमा सुखद सुरुआत गरेको हो। यो निकै प्रतीक्षा गरिएको खेल थियो। एनआरटीमा स्टार खेलाडीले भरिएको थियो भने मच्छिन्द्र पहिलेको जस्तो बलियो टोली देखिएको थिएन। किनकि मच्छिन्द्रमा अधिकांश युवा खेलाडी थिए। त्यसैले तुलनात्मक रूपमा मच्छिन्द्रभन्दा एनआरटीलाई बलियो टोलीका रूपमा हेरिएको थियो। खेलको सुरुआतमा एनआरटीले मच्छिन्द्रविरुद्ध बल पोसेसन नियन्त्रणमा राख्दै कागजमा जस्तै बलियो प्रदर्शन पनि गर्यो तर १७ वर्षे युवा फुटबल एलिक श्रेष्ठको गोलपछि एनआरटी दबाबमा पर्यो। त्यही गोल नै निर्णायक पनि बन्यो।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले १७ वर्षको खेलाडीले दर्शनीय गोल गरेको भन्दै उनको प्रंशसा गरे। ‘युवा खेलाडीले दर्शनीय गोल गरे। उनले नेपालबाट उमेरसमूहबाट पनि खेलिसकेका छन्,’ उनले भने, ‘हाम्रो टोली पहिलेको जस्तो थिएन। अधिकांश युवा खेलाडी छन् तर पनि तीन अंक प्राप्त गर्दा निकै खुसी छौं।’
औपचारिक उद्घाटन मानिएको खेलमा दुवै तर्फबाट कमै अवसर सिर्जना भए तर एनआरटीले पाएका अवसर सदुपयोग गर्न सकेन। एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले मिडफिल्डमा राम्रो गरे पनि अट्याकिङ प्रभावकारी बन्न नसकेको बताए। ‘मिडफिल्डमा राम्रो नै गर्यौं तर अट्याकिङ कमजोर देखियौं। आगामी खेलमा त्यस पक्षमा सुधार गर्नेछौं,’ उनले भने।
एलिकले गरेको उत्कृष्ट गोल नै मच्छिन्द्रका लागि तीन अंक दिलाउन पर्याप्त भयो। एनआरटीले पहिलो हाफमा बल पोसेसन आफ्नो नियन्त्रणमा राख्दै गोल अवसर पनि धेरै सिर्जना गरेको थियो तर गोल गर्न भने सकेन। राष्ट्रिय टोलीका सदस्य मनीष डाँगी, कृतीशरत्न छुन्जु र नाइजेरियाको यु–१७ टोलीबाट खेलिसकेका टिमोथी ओकेरेके एनआरटीबाट खेलेका थिए।
नेपालको घरेलु लिगमा उत्कृष्ट विदेशी खेलाडी रहँदै आएका नुरेन करिम पनि एनआरटीमा नै थिए तर उनीहरूले खासै प्रभाव जमाउन सकेनन्। तुलनात्मक रूपमा मच्छिन्द्रमा स्टार खेलाडी थिएनन्।
यद्यपि, दबाबमा रहेर पनि मच्छिन्द्रले जित निकाल्यो। खेलको १४औं मिनेटमा पहिलो अवसर बन्यो। एनआरटीका नाइजेरियन खेलाडी टिमोथी ओकेरेकेले लामो दूरीबाट गरेको प्रहार दोस्रो बारनजिकबाट बाहिरिन पुग्यो। मच्छिन्द्रले ३०औं मिनेटमा पहिलो अवसर सिर्जना गर्यो। करिब २० यार्डबाट राजीव लोप्चनले गरेको प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए। ४२औं मिनेटमा मच्छिन्द्रले फ्रिकिक मार्फत अवसर सिर्जना गर्यो। करिब १९ यार्डबाट जोनाथन जोरिलोले गरेको प्रहार बारमाथिबाट बाहिरियो। पहिलो हाफमा गोलरहित बराबरीमै सकियो।
५२औं मिनेटमा विज्ञान खड्काको प्रहार मच्छिन्द्रका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिए। एनआरटीले ५९औं मिनेटमा गोल गर्ने प्रयास पनि सफल भएन। पेनाल्टी बक्सभित्रबाट आशिष गुरुङको हेडर पोस्टको दिशामा रहेन। दुई मिनेटपछि नै एनआरटीका राजीवको वान टच सफल भएन। ६२औं मिनेटमा एलिक श्रेष्ठको उत्कृष्ट गोलबाट मच्छिन्द्रले अग्रता लियो। करिब २२ यार्डबाट एलिकको लेफ्ट फुटेड सट एनआरटीका गोलकिपर विशाल सुनारले रोक्न सकेनन्।
८३औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनाउने अवसर पायो तर एनआरटीको गोलकिपर विशालले वान भर्सेस वानको स्थितिमा बचाउ गरे। इन्जुरी समयमा एनआरटीले फ्रिकिक अवसरमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेन। त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र मच्छिन्द्रले साँघुरो जित निकाल्यो।
प्रकाशित: ३ माघ २०८२ ०७:०२ शनिबार





