भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले निकोलस मादुरोलाई अपदस्थ गरेपछि अमेरिकाले आफूलाई पाखा लगाए पनि ‘उपयुक्त समय आएपछि’ राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेकी छिन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो सरकारमा उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिगेजलाई अन्तरिम नेता राष्ट्रपतिको रूपमा समर्थन गरेका छन्।
‘मलाई विश्वास छ, म सही समय आएपछि भेनेजुएलाको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित हुनेछु,’ मचाडोले शुक्रवार वाशिङ्टनमा ट्रम्पसँग भेटेपछि ‘फक्स न्युज’को ‘फक्स एन्ड फ्रेन्ड्स शो’मा भनिन्।
मचाडोको पार्टीले सन् २०२४ को निर्वाचनमा धाँधली भएको प्रमाण प्रस्तुत गरेको छ।
ट्रम्पले मचाडोलाई भेनेजुएलाका जनताबिच पर्याप्त समर्थन नभएको भन्दै रोड्रिगेजसँग सहकार्य गर्न इच्छुक देखिएका छन्।
‘म मेरो देशको सेवा गर्न चाहन्छु र मसँग त्यो जनमत छ,’ मचाडोले फक्सलाई भनिन्।
बिहीबार ५८ वर्षीया मचाडोले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेकी थिइन्।
‘उहाँ (राष्ट्रपति ट्रम्प) यसको लागि योग्य हुनुहुन्छ,’ उनले भनिन्, ‘यो धेरै भावनात्मक क्षण थियो, मैले भेनेजुएलाका जनताको तर्फबाट नोबेल शान्ति पुरस्कार पदक उहाँलाई प्रदान गर्ने निर्णय गरेँ।’
ह्वाइट हाउसको भोजपछि ट्रम्पले पदक स्वीकारे वा गरेनन् भन्ने स्पष्ट भएको छैन। नर्वेको नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नसकिने बताएको छ।
ट्रम्प र रोड्रिगेजबिच बुधवार पहिलो टेलिफोन वार्ता भएको थियो। रोड्रिगेजले सार्वजनिक रूपमा अमेरिकाको विरुद्धमा खडा हुने बताइन्।
‘हामीलाई थाहा छ, तिनीहरू धेरै शक्तिशाली छन्। हामी राजनीतिक संवादको माध्यमबाट कूटनीतिक रूपमा उनीहरूको सामना गर्न डराउँदैनौँ,’ उनले भनिन्। एजेन्सी
प्रकाशित: ३ माघ २०८२ ०७:०४ शनिबार





