२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सामाजिक सद्भाव र विकासका लागि ‘सहकर्मी समाज’

एउटा भनाइ छ, ‘गाउँमा घर टाढा मन नजिक, सहरमा घर नजिक मन टाढा।’ तर यो भनाइजस्तै गाउँमा सबैसँग सबैका मन र भावना भनेजस्तै नजिक हुँदैनन्। कुनै न कुनै कारणले मन नजिक टाढा भइराख्छ। टोल, वडा, विचार, सिद्धान्त अनि साथीसँगी आदिले गाउँ पनि नदेखिने र नसुनिने गरी भुसको आगोझैँ भित्रभित्रै विभाजित र विभक्त हुने गरेका थुप्रै उदाहरण छन्।

एक घरको अर्कोलाई मतलब नहुने र एकले अर्काको समस्यामा साथ नदिने मात्रै होइन, कुनै बस्ती टोलका घर आफ्नै भएर पनि हातको पानीसमेत खान नपरोस् भन्ने कठोर मन बनाएर विभाजित भएका थुप्रै तथ्य गाउँ पुग्दा भेटिन्छन्। तर त्यो अवस्थाबाट बुढीनन्दा नगरपालिकाका गाउँ केही फरक र केही सुधारको लयमा भेटिए। सबै सुधार र सबै राम्रो अनि सोचेकै जस्तै अवस्था हुन अझै समय लाग्ला।

शतप्रतिशत नजिता पनि नआउला तर सुधारको शुभ संकेत बुढीनन्दा नगरपालिकाका टोलमा देखिएको छ। गाउँमा पुरुषभन्दा बढी महिला भेटिन्छन्। भेटिएकाहरू एकले अर्कासँगको सम्बन्ध, मेलमिलाप, बोलचाल अनि सहयोग साटासाटको अवस्था सबै अवस्थाले फरकपन देखिन थालेको छ।

पालिकाभित्र १० वटा वडा छन्। ती वडामा सबैजसो समेटिने गरी टोल सुधार समिति गठन गरिएको छ। एक वडामा ६ वटा टोल समिति छन्। त्यो अपुग भएको र भौगोलिक विकटताले समेट्न समस्या देखिएको टोल वा गाउँमा थप गर्ने पालिकाले नै तयारी गरेको छ। ती टोल सुधार समिति सरकारको काममा सहयोग पु¥याउने र सामाजिक सद्भाव र सहकार्य कायम गर्ने गरी गठन गरिएको नगरप्रमुख जनककुमार बोहराले बताए।

पालिकाभरिका ६० टोल समितिमा ६ हजारको संख्यामा सदस्य आबद्ध छन्। टोल समिति कम्तीमा ६० जना सदस्य संख्याका छन्। टोलमा ‘एक घर एक सदस्य’को अवधारणा छ। त्यसमा पनि महिलालाई प्राथमिकतामा राख्ने गरिएको सहकर्मी समाज कार्यक्रमका प्रमुख डम्मर भण्डारीले बताए।

सामाजिक सद्भाव र विकासमा सहकार्य जोड्न नगरपालिकाले थालेको सहकर्मी समाज अभियानले नै राजनीतिक आस्था, सिद्धान्त र विचारमाथि उठेर विकासमा सहकार्य र श्रमदानको अवधारणा विकास भएको बताउँछन् भण्डारी। पालिकामा यो अवधारणा सञ्चालन गरिएको वर्ष दिन पुग्न लागेको छ।

१० वटै वडामा पालिकास्तरबाटै सहजकर्ता राखिएको छ। टोलटोलमा स्वयंसेवी भावनाले खट्ने सचेत युवालाई पनि सहयोगी र सहकार्यको भावना विकासका लागि अभियन्ताकै भूमिकामा परिचालन गरिएको छ।

विकासमा सहकार्य र सद्भावका लागि सहकर्मीको अवधारणाले नै नयाँ अभ्यास सुरु हुन लागेकामा नगरप्रमुख जनककुमार बोहराले खुसी व्यक्त गरे।

पैसा नभई कुनै काम नहुने, धारापँधेरो सरसफाइमा कसैको ध्यान नजाने, सामाजिक कामप्रतिको अपनत्व नै हटिसकेको र स्वार्थबाहेक अरूमा ध्यान नहुने अवस्थामा सुधार ल्याउने अभियानका रूपमा सहकर्मी समाज अवधारणाको कार्यक्रमलाई बुढीनन्दाले प्राथमिकतामा राखेको छ।

पालिकाले कार्यक्रम सञ्चालनपछि टोलमा मेलमिलाप बढेको, स्कुल जान बच्चाहरूकै लागि बाटो अप्ठ्यारो थियो, त्यो पनि निर्माण गरिएको र आफ्ना लागि आफैं गर्न सकिन्छ भन्ने चेतनासमेत विकास भएको भन्छन्, प्रगतिशील टोल सुधार समितिका अध्यक्ष विस्ना चँदारा।

चँदाराकै टोलमा ४० बढी परिवार छन्। ती सबैको घरमा जुठ्यान निर्माण छन्। धारापँधेरामा हरेक हप्ता सामूहिक सरसफाइ गरिन्छ। शौचालय नभएको वा भत्केको घरमा सबैले श्रमदान गरेरै निर्माणसमेत गरिदिएको उदाहरण छ। पैसा नभएरै पनि धेरै काम गर्न सकिने रहेछ भन्ने सिकाइ सहकर्मी समाजले सिकाएको मिलिजुली टोल सुधार समूहकी अध्यक्ष किट्टी ल्वारले बताइन्।

टोल सुधार समूहकै सक्रियतामा बुढीनन्दा नगरपालिका–५ का स्थानीयले करिब ६ लाख रूपैयाँ बढीको लागत लाग्ने श्रमदानबाटै मर्मतसहित निर्माण गरेका छन्।

 यो वर्ष वर्षामा भत्किएका काठे साँघु पालिकाको बजेट खर्च गरेर निर्माण गर्नुपर्ने अवस्था नै धेरै कम रह्यो। सबै सहकर्मी अभियानअन्तर्गत नै निर्माण गरिएको भन्छन्, नगर उपप्रमुख रामबहादुर बोहरा।

कार्यक्रमको अवधारणा, अभ्यास र आपसी सहकार्य सबै राम्रो भएकाले पालिकाले विशेष महत्त्व दिएर सञ्चालन गरेको बोहराले थपे। समाजमा मेलमिलाप पनि, सहकार्यसहितको विकास पनि।

आपसी सहयोग र समन्वय पनि पालिका सरकारको उद्देश्य यही भएकाले सर्वसहमतिका साथ पाँचै वर्ष नगर सरकारले सहकर्मी अभियानलाई निरन्तरता दिन खोजेको नगर प्रवक्ता जंगवीर रोकाया बताउँछन्।

जहाँको समाज एकताबद्ध छ। सामूहिक सहकार्यमा विश्वास गर्छ। समन्वय र सहयोगी भावनाले काम गर्छ। त्यो समाजको विकास अरूको भन्दा फरक र बढी छ। त्यही भावना र सिकाइ बाँड्ने उद्देश्य सहकर्मी समाज निर्माण अभियान कार्यक्रमको रहेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताए।

 बुढीनन्दा नगरपालिकाले छोटो समयमै उपलब्धि हात पार्न सकेको कार्यक्रम नै सहकर्मी अभियान हो। नगर सरकारलाई गाउँ टोलका समस्या सुनाउने, सवाल तय गर्ने, समस्याको पहिचान गर्ने र सकेको आफैं र आफ्नै सक्रियतामा सम्पन्न गर्ने गरिएको हातेमालो टोल सुधार समूहका सदस्य सर्पेलाल बुढाले धारणा राखे।

स्थानीय पनि कार्यक्रमप्रति सन्तुष्ट छन्। सुधारमा भत्ता नभएको कार्यक्रम, पैसा नपर्ने काम मात्रै गराउने कार्यक्रम भनेर गालीसमेत पाइने अवस्था थियो। विस्तारै बुझेपछि आफ्ना लागि आफूले नै गर्नुपर्ने सम्झिएर साथ सहयोग दिने गरेको बुढीनन्दा १० की सहजकर्ता पुष्पा खड्काले बताइन्। लगानीविनै धेरै काम हुने रहेछ भन्ने सिकाइ नै कार्यक्रबाट भएको पुष्पाको भनाइ छ।

घरको एक जनालाई सामाजिक कार्यमा सक्रिय हुनुपर्ने अनिवार्य गराइएको छ। यसले आफ्नो कामप्रतिको अपनत्व, विकासप्रतिको जिम्मेवारी र लगानशीलता बढ्ने, सामूहिकताको विकास हुने र सामाजिक सहकार्य र सद्भावमा समेत फाइदा पुग्ने विश्वास स्थानीयले लिएका छन्।

पालिकाका नगरप्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधि १० वटै वडाका पुगेर टोल समूहसँग सामूहिक संवाद गर्ने, सहकार्यको योजना सुनाउने र सुन्ने गरेका छन्। महिला महिलाबीचको आपसी मित्रवत् भावनाको विकास र सहकार्यमा सकारात्मक सन्देश प्रभाव गरिदिएको महिला अधिकार मञ्च बुढीनन्दाका अध्यक्ष सुशीला शाहीले बताइन्।

वन हेर्ने हेराला, पानी मर्मतका लागि प्लम्बर, बाटोघाटो, धारा पँधेरो सरसफाइको पूर्वनिर्धारित मिति तय गरेरै टोल समूहमा राखिएको हुन्छ। को आउने को नआउने भन्ने नै हुँदैन, घरमा भएका वा समूहमा बसेका सदस्यले पूर्व जानकारीअनुसार नै काममा आउने र जाने गरेका छन्।

समस्याको पहिचान, कामको खोजी स्वयंको जिम्मेवारी। क्षमता विकास, ज्ञान र सिप अभिवृद्धि गर्ने कार्यको थालनीबाटै धेरै काम टोलमै हुने गरेका छन्। घरमा तरकारी खेती, छोराछोरीको पढाइप्रतिको चिन्ता र श्रमदानबारे टोल समूहका छलफल गर्नुपर्ने अनिवार्य विषय नै बनेका छन्।

पालिकाले बजेट नदिएसम्म आँगनको ढुंगासमेत नसार्ने अवस्था अन्त्य गराउने र पालिका र जनताबीचको सम्बन्धलाई झन् नजिक र आत्मीय बनाउने लक्ष्य कार्यक्रमले बोकेको देखिन्छ। समाज निर्माणका लागि भइरहेको सामाजिक सहकार्यको अभ्यास नै लोभलाग्दो देखिन्छ।

प्रकाशित: २१ पुस २०८० ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App