सबै जना जर्याकजुरूक उठे। राष्ट्रिय गान बज्यो! उपस्थित सबैले एकसाथ लोलीमा लोली मिलाउँदै राष्ट्रियगान गाए। मञ्चमा अनौठो दृष्य देखियो!
प्रमुख अतिथि मन्त्रीले राष्ट्रिय गान गाउँदा एउटा हात छातीमा राखेका चूपचाप उभिएका थिए। विशेष अतिथिले शिर निहुराएका थिए। अर्का अतिथिले आकाशपाताल, दायाँबायाँ टाउको घुमाउँदै राष्ट्रिय गान गाए।
कार्यक्रमका सभापतिले दुई हात पछाडि राखेर गाउँदै थिए। त्यसैगरी दर्शकदीर्घामा हेरिनसक्नु थियो। सबैको आआफ्नै ताल थियो। राष्ट्रिय गान सकियो। सबैजना आआफ्नो स्थानमा बसे।
दर्शक दीर्घाबाट एकजना सहभागी चिच्याए, “नियमापत्ति! नियमापत्ति!!’
उद्घोषकले सोधे, ‘केको नियमापत्ति? तपाई शान्तसँग आफ्नो स्थानमा बस्नुस्।’
उनी फेरि चिच्याए, ‘नियमापत्ति! मलाई एकमिनेट बोल्न दिनुस्!’
कार्यक्रमको माहोल बिग्रने देखेर सभाध्यक्षले उक्त व्यक्तिलाई बोल्न दिन उद्घोषकलाई सङ्केत गरे। ‘ल आउनुस्, तपाईको कुरा के हो छोटोमा राख्नुस्।’
उद्घोषकले उनलाई अनुमति दिए। उनी सरासर मञ्चमा आएर माइक समातेर बोल्न थाले, ‘म एक शिक्षक हुँ। यहाँ राष्ट्रियगान बज्दा पालना गर्नुपर्ने नियमको उल्लङ्घन भएको देखें! राष्ट्रियगान गाउँदा छातीमा हात राख्ने होइन, न हामीले शिर झुकाउन हुन्छ न त खुट्टा फट्याएर उभिन हुन्छ!’
मन्त्रीले झपारे, ‘तपाईले हामीलाई सिकाउने? कसरी उभिने त त्यसो भए? तपाई खुरूक्क आफ्नो स्थानमा गएर बस्नुस्!’
उनले माइक छोडेनन्, फेरि बोल्न थाले, ‘देशको राष्ट्रियगान बज्दा कसरी उभिनुपर्छ भन्ने पनि नजान्ने मन्त्री लगायत मञ्चासीन सबै अतिथिले राष्ट्रियगान गाउँदा के गर्नुपर्छ? एकपटक संविधान पढ्नुस् र सिकेर आउनुस् तर राष्ट्रियगानको अपमान नगर्नुस्!’
‘यस्तो कार्यक्रममा बस्नु हुँदैन, सबै बाहिर जाउँ!’ भन्दै उनी बाहिरिए। गडगडाहट ताली बज्यो।
प्रकाशित: २७ चैत्र २०८१ १२:३१ बुधबार





